महिला स्वास्थ्य स्वयंसेविका तारा शर्मा कोरोना महामारीकै बीच पनि आफ्नो समुदायमा गर्भवती हेरचाह, औषधि वितरणलगायत काममा निरन्तर खटिइन् । स्वास्थ्यकर्मीका रूपमा समुदायमा गएर काम गर्दा उनलाई कोरोना सर्ने जोखिम त थियो नै, त्यसमाथि त्रास पनि । त्रासकै बीच धेरैको सेवा गरेकी शर्मा कोरोना खोप लगाएपछि भने ढुक्क भएकी छिन् ।
पहिलो चरणको खोप अभियानको पहिलो दिन नै खोप लगाउन पाउँदा उनी निकै खुसी देखिन्थिन् । ‘कोरोनाकै वेला पनि जोखिम मोलेर काम गर्यौँ । समुदायमा गएर काम गर्नुपर्ने भएकाले डर पनि लाग्थ्यो,’ उनले भनिन्, ‘खोप लगाएपछि अब भने ढुक्क भइयो ।’ धनगढी उपमहानगरपालिका– ५ की शर्माले सेती प्रादेशिक अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएकी हुन् ।
खोप लगाउन पाउँदा अर्की स्वास्थ्य स्वयंसेविका धनगढी– १२ की पुष्पा बराइलीको पनि खुसीको सीमा छैन । खोप लगाएकाले समुदायमा गएर काम गर्दा पनि अब संक्रमित भइँदैन भन्नेमा उनी ढुक्क छिन् । बितेका ११ महिना भने त्रासमा काम गर्नुपरेको उनले सुनाइन् ।
‘स्वास्थ्य सामग्री अभाव थियो । महामारीकै बीच मास्क र स्यानिटाइजरको भरमा समुदायमा काम गरेका थियौँ,’ सेती अस्पतालमै कोरोनाविरुद्धको खोप लगाइसकेपछि उनले भनिन्, ‘संक्रमण भइहाल्छ कि भनेर त्रासमा काम गर्नुपर्ने बाध्यता थियो । अब भने ढुक्क भइयो ।’ खोप लगाउन पाउँदा आत्मबल पनि बढेको उनले बताइन् ।
धनगढीकै अर्की स्वयंसेविका उर्मिला चौधरीले सुरुकै दिन खोप लगाउन पाउने आफूहरू भाग्यमानी भएको बताइन् । कोरोनाविरुद्धको खोप यति छिट्टै लगाउन पाइएला भनेर नसोचेको उनले बताइन् । सुरक्षित हुने भएकाले आत्मबल बढेको भन्दै उनले खोप लगाइसकेपछि कोरोना लाग्दैन भनेर लापरबाही भने गर्न नहुने सुझाइन् । खोप लगाएपछि पनि सुरक्षाका उपाय अपनाउनुपर्ने चौधरीको सुझाब छ ।
जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरू कोरोनाविरुद्धको खोप लगाउन पाएपछि खुसी भएका छन् । यसअघि त्रासमा काम गर्नुपरेको भन्दै उनीहरूले अब भने कोरोना संक्रमणबाट बच्न सकिनेमा ढुक्क भएको बताएका छन् । सुदूरपश्चिममा कोरोनाविरुद्धको पहिलो खोप प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले लगाए । सेती प्रादेशिक अस्पतालमा खोप अभियान शुभारम्भ कार्यक्रममा अवस्थीले खोप लगाएका हुन् ।
सुदूरपश्चिमका आठ जिल्लाका नौ ठाउँबाट बुधबार कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । प्रदेशका नौवटै जिल्लाका सदरमुकाममा रहेका अस्पतालबाट खोप लगाउन सुरु गरिएको हो । कैलालीमा भने टीकापुर अस्पतालमा पनि खोप लगाउन सुरु गरिएको छ । प्रदेशभर पहिलो दिन एक हजार ८२ जना स्वास्थ्यकर्मीले खोप लगाएका प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना फोकलपर्सन नरेन्द्रसिंह कार्कीले जानकारी दिए । बाजुरामा भने खोप ढिलो पुगेकाले बिहीबारबाट मात्रै लगाउन सुरु हुनेछ ।