महासंघको स्वास्थ्य तथा सीप विकास समितिले पायो पूर्णता

दक्ष जनशक्ति विकासमा केन्द्रित हुन गोल्छाको सुझाब

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हेमराज ढकालको सभापतित्वमा गठित स्वास्थ्य तथा सीप विकास समितिले पूर्णता पाएको छ । समितिको सहसभापतिहरूमा भक्तबहादुर हमाल र लोकनाथ गैरे चयन भएका छन् । सदस्यमा हेमराज बडाल, मृगेन्द्रमेहर श्रेष्ठ, सीताराम रेग्मी, रामेश्वर पराजुली, शंकर खड्का र राजेन्द्र बराल चयन भएको महासंघ सचिवालयले जनाएको छ । 

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगारीमा लाखौँ युवाहरू सीपविना गएका कारण न्यूनतम पारिश्रमिकमा कठिन खालका काम गर्न बाध्य भएकाले दक्ष जनशक्ति विकासमा समितिले आफूलाई केन्द्रित गर्नुपर्ने बताए । उनले भने, ‘अहिले पनि नेपालमा कपाल काट्ने व्यवसायदेखि, ज्वेलरी तथा निर्माण क्षेत्रमा लाखौँ विदेशी कामदारहरूले काम गरिरहेकाले स्वदेशमै आवश्यक सीपसहित दक्ष जनशक्ति उत्पादन गर्न सके हाल कार्यरत विदेशी कामदारहरूलाई प्रतिस्थापन गर्न सकिन्छ ।’ 

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले स्वास्थ्य तथा सीप विकास समितिको ठूलो भूमिका रहेको बताउँदै कार्यक्रम बनाएर अगाडि बढ्न सुझाब दिए । महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले अहिले पनि विदेशी दातृ निकायहरूले स्वदेशी कम्पनीहरूको सहकार्यमा नेपाली कामदारलाई तालिम दिँदै आएको जानकारी गराउँदै अबका दिनमा यस्ता विषयमा समितिले अग्रता लिनुपर्ने सुझाब दिएका छन् । 

समितिका आमन्त्रित सदस्यहरूमा सुनील चित्रकार, उसन बज्राचार्य, नेपाल सदीश श्रेष्ठ, वीरेन्द्र साह, कुबेर निरौला, सुरेश घिमिरे, सुरेशकुमार अग्रवाल र डा. केयुर गौतम रहेका छन् । यस्तै, डिबी बस्नेत, सुरकृष्ण वैद्य, भरतराज आचार्य, अरुणराज सुमार्गी, सुमित केडिया, कमला श्रेष्ठ, ई. विनोद ढकाल र रविन श्रेष्ठ समितिको सल्लाहकारमा चयन भएका छन् । 

पहिलो बैठकको निर्णय
समितिका सभापति हेमराज ढकालको अध्यक्षतामा बसेको पहिलो बैठकले नेपाली युवालाई क्षेत्रगत रूपमा तालिम दिएर स्वदेशमै रोजगारी सिर्जना गर्ने निर्णय गरेको छ । यस्तै, शिक्षा मन्त्रालय र विभिन्न संघ–संस्थाहरूसँग समेत सहकार्य गरी नेपाली उद्योग–व्यवसायका लागि, आवश्यक जनशक्ति विकासका लागि आवश्यक जनशक्ति उत्पादनमा काम गर्ने निर्णय भएको छ । कार्यस्थलमा स्वास्थ्य तथा सुरक्षाका विषयमा आइएलओलगायतका अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँग समेत समन्वय गरी काम गर्ने पनि पहिलो बैठकले निर्णय गरेको छ । 

सुझावित समाचार