रहेनन् लोकस्रष्टा धनबहादुर

मंगलबार, १३ माघ, २०७७
डिजिटल संस्करण

नेपाली लोकगीतका सर्जक, संकलक, गायक, मादल एवं सारंगी वादक धनबहादुर गायकको निधन भएको छ । उच्च रक्तचापका कारण तीन दिनअघि पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा सोमबार निधन भएको हो ।

गन्धर्व संस्कृतिका धरोहर मानिने धनबहादुर ६ वैशाख २०२१ मा पोखराको बाटुलेचौरमा जन्मेका थिए । उनका दर्जन बढी गीत चर्चित छन् । थोरै सिर्जना गर्ने उनका प्रायः सबै गीत लोकप्रिय छन् । धनबहादुर ‘यो दाजुको मिर्मिरे आँखा’, ‘बेली र चमेली’, ‘पानीको कलिधारा’लगायत चर्चित लोकगीतका सर्जक हुन् ।

धनबहादुरले ‘झलकमान गन्धर्व सारंगी पाठशाला’ स्थापना गरेका थिए । गन्धर्व समुदायबाटै सारंगी र मादललगायत वाद्यवादन लोप हुँदै गएपछि त्यसको संरक्षणका लागि उनको सक्रियतामा बाटुलेचौरमा पाठशाला खोलिएको थियो । पाठशालामा उनले निःशुल्क सारंगी र संगीत सिकाउँदै आएका थिए ।

सारंगीलगायतका नेपाली लोकबाजा सिक्न नेपाली मात्र नभई जापान, कोलम्बियालगायत देशबाटसमेत संगीतकर्मी आउने गरेका थिए । ०६६ सालमा स्थापना गरिएको पाठशालामा हाल आठदेखि २५ वर्ष उमेर समूहका प्रशिक्षार्थीले प्रशिक्षण लिइरहेका छन् । संगीत प्रशिक्षण केन्द्र बिन्ध्यवासिनीमा संगीतको प्रशिक्षण दिँदै आएका धनबहादुर लोकसंगीत समूह पोखराका संस्थापक अध्यक्षसमेत थिए ।

सुझावित समाचार