झिल्कोको खोजीमा ‘प्ले ब्याक’ थिएटर शैलीलाई उचाइ दिँदै राजन खतिवडा

मंगलबार, १३ माघ, २०७७
डिजिटल संस्करण

तपाईं आफ्नो मुड बताउनुुस् अथवा कथा भन्नुस् ! हामी त्यसलाई तत्कालै नाटक मञ्चन गर्र्छौं । हामी तपाईंको कथाको मुटु पक्रिने यत्नमा लाग्छौँ । चुनौती त छ, तर कोसिस भने जरुर रहनेछ । हामीलाई सोच्ने फुर्सद हुने छैन, तपाईंको कुरा सुनेर नाटकमा ढाल्ने कोसिस हुनेछ । जो काव्यात्मक वा कथात्मक जे पनि हुुन सक्नेछ । तत्काल कवितामार्फत पनि भन्न सकिनेछ ।

तपाईंको हृदयमा तरंग फ्याँकिरहने अथवा तपाईंलाई विचलित बनाइरहने गुम्सिरहेको कुनै कुरा छ ? जो कसैलाई भन्न सक्नुभएको छैन । हामीलाई बताउनुुस् र हृदयलाई वर्षौंदेखि थिचिरहेको पत्थरीजस्तो कुराको अल्ट्रासाउन्ड गर्ने प्रयत्न हामीबाट हुनेछ । सोचाइहरूमा बिझाइरहने त्यस्ता काँडाहरू झिक्ने कोसिस नाटकको माध्यमबाट गर्नेछौँ । अर्थात् प्ले ब्याक थिएटरमार्फत गर्नेछौँ । त्यसले एक प्रकारको हिलिङ हुनेछ । थेरापीको काम गर्नेछ । व्यक्तिगत कथा समाजमा अथवा भिडमा आइपुग्नेछ । त्यसले आफूलाई हेर्ने सामाजिक दृष्टिकोण बदल्न कोसिस गर्नेछ ।

विज्ञापन शैलीमा भनिएका माथिका वाक्यहरू प्ले ब्याक थिएटर शैली हो । जोनाथन फक्स र जो सलसले सन् १९७५ मा सुरुवात गरेको प्ले ब्याक थिएटर शैलीमा दर्शकले आफूले देखेको तथा आफ्नो निजी अनुभूतिलाई बताएपछि कलाकारले तत्कालै नाटक मञ्चन गर्ने गर्छन् । सन् ७० को दशकको सुरुवाततिर फक्स नेपालमा कृषिमा भोलेन्टेयर गर्न आएका थिए । उनी बुटवल, पाल्पातिर बसे ।

नेपालको पश्चिमतिर थारू बस्तीमा रहँदा फक्सले देखेका थिए, थारूहरू भोलि के खानेभन्दा पनि आज काम गर्यो, खायो र भोलिपल्ट फेरि त्यही दैनिकी सुरु गर्थे । फक्सले थारू आदिवासीको यस्तो खालको जीवनशैली देखेपछि प्ले ब्याक थिएटरको अवधारणा विकास गरेको नाट्यकर्मी राजन खतिवडा बताउँछन् । राजन तिनै हुन्, जो अहिले सक्रिय रूपमा प्ले ब्याक थिएटर शैलीमार्फत दर्शकसँग जोडिइरहेका छन् ।

नाट्यकर्मी राजन खतिवडाले भर्खरै झापाको दमकमा १८ जना युवाहरूसँग मिलेर प्ले ब्याक थिएटर शैलीको वर्कसप चलाए । पहिलो दिन चलाए, सहभागीहरू अलिअलि खुले । आफ्ना कथा भने । दोस्रो दिन चलाए, अलि बढी खुले । पाँचौँ दिन पुग्दा भने राजन अचम्मै परे, ‘अरे ! यस्तो कथा कसरी आयो ? यत्तिका लामो समयसम्म कसरी सहेर बसे ? यस्तो कुरा सहँदै यहाँसम्म कसरी आइपुगे ?’ सातजना महिला थिए, बाँकी पुरुष । महिलालाई डर केहीसँग थिएन ।

न पैसा न त भविष्य । डर थियो त पुरुषहरूसँग । पुरुषलाई जिम्मेवारीमा डर थियो । समाजसँग डर थियो । अनि महिलासँग डर थियो । एकजना महिलाले कथा उप्काइन् जो चार वर्षकी हुँदा शारीरिक यौन शोषणमा परेकी थिइन् । अर्का एकजना पुरुष स्कुल पढिरहँदा पारिवारिक कारणले कुलतमा फसेका थिए । कुलतमा यसरी डुब्दै गए कि जिन्दगी सकियो भन्दै गर्दा फर्किएर आए । कोही थिए राजनीतिक हिसाबमा हिँड्दा अहिले न घरपरिवार छ न त राजनीतिक रूपमा कतै ‘कनेक्ट’ छन् ।

यस्ता कथाहरूले आफैँ सशंकित तथा विचलित बनेको बताउँछन् राजन । उनीहरूको कथा नाटकमा मञ्चन भइसकेपछि झापाकै राजनीतिमा सक्रिय एक नेतालाई राजनले सोधे, ‘कुन निकायले यस्तो कुरा सुनेर न्यायको खोजी गर्ला ? तपाईंको पार्टीले अथवा न्यायालय, प्रहरी प्रशासनले ? राज्यको कुन तहमा पुग्ला र कसले सुन्ला यस्ता कथा यदि उसलाई एक्सन लिन मन भएमा ?’

राजन सुनाउँछन्, ‘उहाँले ठोकुवा गरेर भन्नुभो कि कसैले पनि सुन्दैन । सुन्नेवाला छैन ।’ तर, नाटकमा त उनीहरूले सुनाए, मञ्चन पनि भयो । यही नै नाटकको शक्ति रहेको बताउँछन् उनी । राज्यले सुन्नुपर्ने, जवाफदेही हुनुपर्ने र न्यायको फैसला गर्नुपर्ने विषयमा राज्यकै उदासीनतादेखि वाक्क छन् उनी । भन्छन्, ‘तर, मनभित्र गढेर रहेको त्यो खिल निकाल्ने कोसिस नाटकमार्फत हामी कोसिस गरिरहेका छौँ । त्यो हाम्रो जिम्मेवारी हो कलाकारको हिसाबले ।’

अब कलाकारले भन्ने तरिका फरक हुनेछ । कला कहाँसम्म पुग्छ भन्ने प्रश्न आउनेछ । नयाँ विधि, एकअर्कालाई हेर्ने नयाँ दृष्टिकोण अगाडि बढ्नेछन् । कलाकार उज्यालोको संकेत बोकेर आउनेछन् । आजको भोलि त्यसको नतिजा नदेखिएला, तर त्यो झिल्को दश वर्षपछि देखिएला । तर, जरुर देखिनेछ ।

प्ले ब्याक थिएटरले समुदायको तल्लो तहमा पुगेर काम गर्ने अथवा मानिसलाई समाजसँग जेड्ने सेतुको काम गर्ने बुझाइ छ उनको । प्ले ब्याकले आफूले वर्षौंदेखि आफैँभित्र रोकिराखेको चिजबाट अलि पर पुर्याउने तथा रिलिफ गराउने काम गर्ने राजनको विश्वास छ । त्यस्ता कुरा समुदायमा पुर्याएर सहानुभूति महसुस गराउने तथा ऊप्रतिको सोच बदल्ने काम गर्ने बताउँछन् ।

राजन सन् २०१५ मा जोडिए प्ले ब्याक थिएटर शैलीमा । प्रो–पब्लिक नामक संस्थासँग जोडिएर काम गरे । जनयुद्धपछि समाजमा फिरेका मान्छेले सामाजिक हैसियत खोजिरहेका थिए । समाज भने उनीहरूलाई त्यो हैसियत दिन हिच्किचाइरहेको थियो । उनीहरू कुन प्रभावमा परेर जनयुद्धमा होमिएका थिए, कुन नियति बोकेर फिरेका थिए ? थाहा थिएन ।

जर्मनीबाट प्रो–पब्लिक संस्थासँगै आएका दुई जर्मन नागरिकसँग वर्कसप लिएका राजनको टोली दाङ, बर्दिया, रूपन्देही, बाँके, उदयपुर र महोत्तरी पुग्यो । प्रत्येक जिल्लामा जनयुद्धसँग जोडिएका मान्छेहरूसँग सहकार्य गरे । उनीहरूका कथा सुने, नाटकमा रूपान्तरण गरे । राजन भन्छन्, ‘त्यो कदमले हामीलाई पनि एउटा भाइब्रेसन दियो । काम गर्दा प्रभाव हुने रहेछ भन्ने भयो ।’

लकडाउनको समयमा पनि राजनले यौनिक अल्पसंख्यकहरूका कथामाथि काम गरे भर्चुअल्ली । फ्रन्टलाइनमा रहेर काम गरेका पत्रकारहरूका कथामाथि पनि काम गरे । तर, यसरी काम भइरहे पनि रंगमञ्च अहिले सुस्त छ । सुस्ताएको छ रंगमञ्च । यसलाई ब्युँताउन जसरी जुन शैलीमा काम गरे पनि विश्वव्यापी रूपमा मानवताको विषयमाथि उठिरहेको सवालको जवाफको खोजीमा सर्जक लाग्नुपर्ने बताउँछन् उनी ।

मानव सभ्यताको विगत भन्छ कि जबजब मानिसलाई संकट आइपर्छ, त्यतिवेला सर्जकहरू अग्रज मोर्चामा उभिएर मानव सभ्यताका लागि ढाडस बनेका छन् । राजन पनि स्विकार्छन् यो कुरा । भन्छन्, ‘जब मानिस जटिल अवस्थाबाट गुज्रन्छन्, त्यसपछि सर्जक गम्भीर कुरा बोकेर आउँछ । तर, त्यो सधैँ अपेक्षा पूरा नहुन सक्छ । काम गर्ने क्रममा तँछाडमछाड हुन्छ । तर, म केही होइन भन्ने अवस्था देखियो । यसले गर्दा पनि न्यु वेभ नाटकमा आउने सम्भावना देख्छु । जसले नेपाली नाटकलाई फेरि नयाँ उचाइ दिन सक्छ ।’

पछिल्लो समय नेपाली जनता मानिसको मृत्युको, कोरोना संक्रमणको गन्ती गरेर मात्र बस्यौँ । त्यही गन्ती मात्रै गर्यौँ । यसलाई टिटी बल खेलको गन्तीजस्तो बताउँछन् राजन । यस्तो अवस्थाले निस्सारता, शून्यतामा पुर्याएको आभास जोसुकैले गरिरहेकै छन् । यसमाथि बहस विमर्श भइरहेकै छन् । ‘अब कलाकारले भन्ने तरिका फरक हुनेछ ।

कला कहाँसम्म पुग्छ भन्ने प्रश्न आउनेछ । नयाँ मेथोड, एकअर्कालाई हेर्ने नयाँ दृष्टिकोणहरू अगाडि बढ्नेछन् । यो समयलाई हेर्दा मलाई यस्तो महसुस हुन्छ,’ राजन भन्छन्, ‘कलाकार उज्यालोको संकेत बोकेर आउनेछन् । आजको भोलि त्यसको नतिजा नदेखिएला, तर त्यो झिल्को दश वर्षपछि पनि देखिएला । तर, जरुर देखिनेछ ।’

सुझावित समाचार