साताभरमा करिब ९० अंकले बढ्यो नेप्से

आइतबार, ११ माघ, २०७७
डिजिटल संस्करण

दैनिक ७ अर्ब कारोबार 

गत साताभरमा नेप्से परिसूचक ८८ दशमलव १० अंकले बढेको छ । नेप्से हालसम्मकै उच्च बिन्दुमा आइपुग्दा दैनिक कारोबार औसत करिब ७ अर्ब रुपैयाँ पुग्न थालेको छ । साताभरमा कुल ३४ अर्ब रुपैयाँको सेयर किनबेच भएको हो । यो अघिल्लो साताको तुलनामा ५० प्रतिशतले वृद्धि हो । दैनिक औसत कारोबार रकम भने २० प्रतिशतले बढेर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । 

लगानीकर्ताको सेयर सम्पत्तिमा करिब ४ प्रतिशतले वृद्धि भएर ३१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । सबै समूहका लगानीकर्ताले औसत ९० प्रतिशतका दरमा लगानी बढाएका छन् । होटेल, जीवन बिमा, व्यापारमूलक, ‘अन्य’ समूहमा कारोबार अघिल्लो साताको तुलनामा १ सयदेखि ३ सय प्रतिशतसम्म वृद्धि भएको छ । 

सातामा बैंकिङ, उत्पादनमूलक समूहगत परिसूचकमा मात्रै गिरावट आएको छ । सञ्चित नोक्सानी कायमै रहेको कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले सातामै ६० प्रतिशतसम्म कमाएका छन् । अघिल्लो साता ३ सय ४१ रुपैयाँमा कारोबार भइरहेको बैंकको सेयर गत साता अन्त्यमा ५ सय ४७ रुपैयाँ पुगेको हो । बैंकको पहिलो त्रैमासमा नाफा घटेर ५६ लाखमा सीमित भएको र ७ करोड ४२ लाख रुपैयाँ सञ्चित नोक्सानी छ । गत साता एनआइसी एसिया र बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको छ । कुल २ करोड ९५ लाख कित्ता सेयर बजारमा थपिएको हो । 

प्राविधिक विश्लेषण

नेप्से परिसूचकको आरएसआई सूचकले बजार अधिक खरिद क्षेत्रको पनि उच्च तहमा पुगेको संकेत गरिरहेको छ । नेप्सेको १४ दिने आरएसआई सूचक स्केल ९४ दशमलव ७० मा छ । यसले बजारमा केही समयमा सानो करेक्सन आउने सम्भावनालाई पनि देखाउँछ । 

७ दिने र २१ दिने मुभिङ एभरेज दुवै रेखाभन्दा माथि नै नेप्से छ । मुभिङ एभरेज रेखाबीच दूरी कायमै रहेकाले बजार बुलिस प्रवृत्तिमै रहेको संकेत गर्छ । नेप्सेको चार्ट प्याटर्नले बुलिस फ्ल्याग (झन्डा) बनाएको छ ।

दैनिक अन्तिम बिन्दुका आधारमा यो झन्डाको पोल (डन्डी) १ हजार ६ सय ३६ देखि २ हजार ७१ सम्म बनेको छ । अर्थात्, यसबीचको दूरी ४ सय ३५ छ । डन्डीको माथिल्लो तहबाट ४ सय ३५ जोडिँदा आगामी लक्ष्य २ हजार ५ सय ६ बिन्दु हुने देखिन्छ । मैनबत्ती चित्रले भने अन्तिम दिन तल्लो लामो धागोसहितको डोजी आकृति बनाएको छ । बजारमा सानोतिनो करेक्सनको सम्भावना छ । 

See More On

सुझावित समाचार