४४ किलोमिटर दूरीको अल्ट्रा म्याराथन १६ माघमा

बुधबार, ७ माघ, २०७७
डिजिटल संस्करण

व्यास नगरपालिकाले ४४ किलोमिटरको चौथो अल्टा म्याराथन १६ माघमा गर्ने भएको छ । ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने मूल नाराका साथ म्याराथन प्रतियोगिता गर्न लागिएको प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

मानहुँकोटको पर्यटन पर्वद्धन गर्न नगरपालिकाले वर्षैपिच्छे अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको छ, सोहीअनुरूप अहिले पनि हामीले प्रतियोगिता गर्न लागेका हौँ । खेलकुदको माध्यमबाट पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वासका साथ म्याराथन गर्न लागिएको हो,’ उनले भने ।

मानहुँकोटदेखि पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी पार गर्ने प्रथम धावकले ८५ हजार ७७ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय र तृतीय हुने धावकले क्रमशः ६५ हजार ७७ र ५५ हजार ७७ रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । सान्त्वना स्थान हासिल गर्ने पाँचजनालाई पनि पुरस्कृत गरिनेछ ।

उनीहरूले जनही १६ हजार ७७ रुपैयाँ प्राप्त गर्ने व्यास नगरपालिकाले जनाएको छ । दौड पर्यटकीय नगरी मानहुँकोटबाट सुरु भई सिद्धमार्ग हुँदै अलैचे, चापाघाट, भोर्लेटारचोक, व्यासमार्ग, वैरेनी, कलेस्ती, सत्रसय, वर्लाची, सोतीबेँसी हुँदै पुलिमराङको सहिद स्मारकपार्कमा पुगेर समापन हुनेछ । १४ माघसम्म प्रतियोगीले नाम दर्ता गरिसक्नुपर्ने र १५ माघमा अभिमुखीकरण सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

सुझावित समाचार