हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका– ८ ताचैंनजिकैको कोचे जंगलमा लागेको आगोले सात सय हेक्टर जंगल सखाप भएको छ । नासोँ गाउँपालिका– ८ को कोचे वन क्षेत्र आसपासबाट मंसिर ११ गतेदेखि लागेको आगो ताचैं गाउँनजिकै पुगेको थियो । ठाडो भिरमा सल्लाको जंगल र निगालोको झाडीमा फैलिएको आगो दुई महिनापछि नियन्त्रणमा लिन सफल भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।
उनले भने, ‘स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जनप्रतिनिधि, ताचैं संरक्षण क्षेत्र व्यवस्थापन समिति र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
भौगोलिक विकटताले मानिस जान निकै कठिन जंगलमा आगो लागेकाले दुई महिनापछि सबैको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रजिअ लामिछानेको भनाइ छ । जंगलमा लागेको आगोले पशुपन्छी र वनस्पतीको क्षति भए पनि मानवीय क्षति भने भएको छैन ।

ताचैं संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष याद घलेले स्थानीय प्रशासनले सुरुबाट नै चासो दिए पनि भौगोलिक कठिनाइका कारण दुई महिनापछि मात्र आगो नियन्त्रणमा आएको बताए ।
जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीका विपत् व्यवस्थापन तालिमप्राप्त टोली, सशस्त्र प्रहरी बल र नेपाल मनाङका प्रमुख होमनाथ पन्थीको कमाण्डमा आएको टोलीले आगो फैलिन नदिन करिब पाँच किलोमिटर अग्निरेखा बनाएर ताचैं गाउँ र नेपाल टेलिकमको टावर सुरक्षित राख्न सफल भएको घलेले बताए । उनले भने, ‘अग्निरेखा निर्माणपछि थप क्षति हुन पाएन । ताचैं गाउँमा ६४ घरधुरी रहेको छ । आगलागी भएको क्षेत्र मनाङको सदरमुकाम चामेबाट डेढ घन्टाको दूरीमा पर्दछ ।’