बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै सर्वसाधारणहरूको बैंकप्रति विश्वास घट्दै जाने र निक्षेप पनि घट्ने राष्ट्र बैंकले चेतावनी दिँदै आएको छ । तर, परिस्थिति भने फरक देखिएको छ । गत वर्ष मंसिरसम्ममा ब्याजदर उच्च नै थियो । सो समय अघिल्लो वर्षको तुलनामा सर्वसाधारणले बैंकहरूमा करिब १५ प्रतिशत थप निक्षेप राखे ।
तर, यस वर्ष भने बैंकहरूमा पुँजी फालाफाल छ, कर्जा लगानी पनि सोचेजसरी नहुँदा बैंकहरूले धमाधम निक्षेपको ब्याजदर घटाउन थालेका छन् । गत वर्षको मंसिरमा औसत ब्याजदर ६ दशमलव ७ प्रतिशत थियो । यो वर्षको औसत ब्याजदर ५ दशमलव १ प्रतिशत छ । यो भनेको २४ प्रतिशत बिन्दुले ब्याजदर घटेको हो । ब्याजदर घट्दा पनि सर्वसाधारणले बैंकमा राखेको निक्षेप भने वार्षिक आधारमा २८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।
कोभिड–१९ का कारण लगानी अवसर नहुनु, खर्च कटौती हुनु, रेमिट्यान्स बढ्नु, तर उपभोग घट्नुजस्ता कारण बैंकमा सर्वसाधारणको निक्षेपमा समेत उच्च वृद्धि भएको हो । गत वर्षको मंसिरमा अघिल्लो वर्षको तुलनामा सर्वसाधारणको निक्षेप २ खर्ब ४० अर्ब रुपैयाँले बढेर कुल १८ खर्ब ५५ अर्ब पुगेको थियो । यस मंसिरमा यस्तो निक्षेप वार्षिक रूपमा ५ खर्ब २० अर्ब बढेर कुल २३ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।
‘मंसिरमा गत वर्षको भन्दा करिब ११ प्रतिशतले रेमिट्यान्स भित्रिने दर बढेको थियो,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘औद्योगिक वस्तु तथा पुँजीगत सामग्रीको आयातको हिस्सा बढ्नुले पनि उपभोगभन्दा अन्यमा खर्च बढेको देखाइरहेको छ ।’ मंसिरमा करिब ११ प्रतिशतले रेमिट्यान्स बढेर ४ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो मंसिरमा भने शून्य दशमलव २३ प्रतिशतले रेमिट्यान्स घटेर ३ खर्ब ७५ अर्ब रुपैयाँमा सीमित भएको थियो ।
बिमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषले बैंकहरूमा राख्दै आएको संस्थागत निक्षेपको वृद्धिदर भने सुस्त भएको छ । गत वर्षको मंसिरमा वार्षिक वृद्धिदर २६ प्रतिशतसहित ५ खर्ब ८४ अर्ब रुपैयाँ पुगेकोमा यस मंसिरमा भने यसमा २५ प्रतिशतको वृद्धि भएर ७ खर्ब ३१ अर्ब पुगेको छ । बैंकहरूले अझै ब्याजदर घटाइरहेका छन् । हाल बैंकहरूले सामान्य बचतको ब्याजदर न्यूनतम डेढ प्रतिशतसम्म र मुद्दतीको ब्याजदर ७ प्रतिशतसम्म दिन थालेका छन् । १ माघपछिका लागि नयाँ ब्याजदर प्रकाशित गरेका बैंकहरूले समेत साधारण बचतमा यसअघि २ दशमलव ५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ७ दशमलव ५ देखि ८ प्रतिशत ब्याजदर दिइरहेकामा अहिले घटाएर क्रमशः २ र ६ दशमलव ५ सम्म दिन थालेका छन् ।
बैंकरहरूले पनि रेमिट्यान्समा वृद्धि भएको तथा मूल्यवृद्धिको तुलनामा ब्याजदर उच्च नै रहेकाले बचत बढेको दाबी गरेका छन् । ‘अहिले रेमिट्यान्समा भएको वृद्धिले पनि बचत बढाएको हो,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘मूल्यवृद्धिभन्दा बैंकहरूको ब्याजदर उच्च नै भएकाले पनि बचत बढेको हुन सक्छ ।’
राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार मूल्यवृद्धि दर २ दशमलव ९३ प्रतिशत छ । बजारमा मुद्रा प्रवाह बढ्दा पनि बचत बढ्ने गर्छ । गत वर्षको मंसिरमा विस्तृत मुद्रा प्रदाय (प्रवाह) वार्षिक आधारमा १४ प्रतिशतले बढेर ३७ खर्ब रहेकोमा यस मंसिरमा २२ प्रतिशतले बढेर ४५ खर्ब पुगेको छ ।