बझाङ पुगेका सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नालाई कालाे झन्डा देखाइएको छ ।
मंगलबार प्रचण्ड-नेपाल नेकपाका कार्यकर्ताले बझाङको प्रवेशद्वार बिथ्थडदेखि सदरमुकाम चैनपुरसम्म पुग्दा विभिन्न ठाउँमा कालो झन्डा देखाएका हुन् ।
नेकपा ओली समूहले चैनपुरमा आयाेजना गरेकाे आमसभामा भाग लिन उनी आएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन आएका मन्त्री ठगुन्नालाई प्रचण्ड नेकपाका कार्यकर्ताले कालो झन्डा देखाएर विरोध गरेका थिए ।
यतिवेला देशमा नेपाल कम्युनिस्ट पार्टी नेकपामा दुई धार देखापरेपछि बझाङमा पनि दुवै पक्षले कार्यक्रम गर्दै आएका छन् ।
संसद् विघटन गरेपछि प्रचण्ड पक्षधर कार्यकताहरूले सरकारविरुद्ध निरन्तर आन्दाेलन गर्दै आएका छन् भने ओली पक्षधरले निर्वाचनकाे समर्थनमा कार्यक्रम गर्ने गरेका छन् ।