संखुवासभामा गुरुङ जातिका खेगीलाई सम्मान, पाँच लाखको कोष स्थापना

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

संखुवासभामा गुरुङ जातिका खेगी गुरुहरूलाई सम्मान गरिएको छ । सोमबार चिचिला गाउँपालिका– १ पोखरीगाउँमा तमु प्ये ल्हुँ संघ जिल्ला कार्यसमिति संखुवासभाको आयोजनामा लामा गुरुहरूलाई सम्मान गरिएको हो । 

कार्यक्रमको उद्घाटन १०२ वर्षीय दारी लामा (मानवीर गुरुङ)ले लामा मन्त्रोचारण गर्दै गरेका थिए । कार्यक्रममा गएको कात्तिक महिनादेखि पुस दोस्रो सातासम्म करिब तीन महिना गुफा बसेर निस्किएका पाँचजना नयाँ लामासहित लामो समयदेखि पुरोहित लामा पेसालाई नै निरन्तरता दिँदै आएका पाँचजना पुराना लामा गुरु गरी १० जनालाई सम्मान गरिएको छ । 

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तमू प्ये ल्हुँ संघ संरक्षक तथा पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) हेमबहादुर गुरुङले प्रमाणपत्रसहित फेटा गुथेर सम्मान गरेका थिए । 

पूर्वआजिपी गुरुङले बाेन्पो लामाहरू समयक्रमसँगै लोप हुँदै गएकाले संरक्षण आवश्यक रहेकाले यो कदम चाल्नुपरेको बताए । उनले गुरुङहरूले आफ्नो जातीय कर्मकाण्ड गर्ने खेगीहरू संरक्षण गर्न आवश्यक रहेको बताए । 

संखुवासभाका बाेन्पो लामाहरूको संरक्षणका लागि पूर्वआइजिपी गुरुङले उनको मातापिताको नाममा एक लाख रुपैयाँको ‘हर्कवन सुब्बा स्मृति अक्षय कोष’ हस्तान्तरण गरेका थिए । उनले अक्षय कोषबापतको रकम तमु प्ये ल्हुँ संघ संखुवासभाका अध्यक्ष गोवर्द्धन गुरुङलाई हस्तान्तरण गरे । त्यसैगरी तमु प्ये ल्हुँ संघ युकेबाट तीन लाख रुपैयाँको अक्षय कोष र तमू प्ये ल्हुँ संघ हङकङबाट एक लाख रुपैयाँको अक्षय कोष गरी पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ । 

त्यसका साथै कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्तिसमेत वितरण गरिएको थियो । गुरुङ जातिको साझा संस्था तमू ह्युल छोजधीं गुरुङ राष्ट्रिय परिषद्को धर्मसंस्कार, संस्कृति जगेर्ना र संरक्षण गर्ने शुभेच्छुक संस्थाको रूपमा तमु प्ये ल्हुँ संघलाई लिने गरिन्छ । 

तमू प्ये ल्हुँ संघले सनातन र परापूर्वकालदेखि गुरुङ जातिहरूले मनाउँदै आएका धर्मसंस्कार, संस्कृति र संरक्षण र जगेर्ना गर्ने काम गर्दै आएको छ । सोहीअनुसार उनीहरुले संखुवासभा जिल्लाको चिचिला गाउँपालिकाअन्तर्गत मत्स्यपोखरी, पोखरी गाउँ, माङमाया र ध्वजेलगायतका स्थानहरूमा रहेका बाेन्पो लामाहरूको संरक्षणका लागि विभिन्न कामहरू गर्दै आएको छ ।  

चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले सबै जातजातिहरूको जातीय संस्कार, संस्कृतिहरूको संरक्षण गर्न चालिएको कदममा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले गएको तमु जातिको ल्होसार पर्व मनाउन पालिकाले दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको बताउँदै सबै जातजातिको संरक्षण, संवर्द्धन र आवश्यकअनुसारका काम गर्न सदैव सहकार्य गर्ने बताए । 

त्यसैगरी तमू प्ये ल्हुँ संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङले बाेन्पो लामालाई निरन्तरता दिने पुरोहित नै लोप हुँदै गइरहेको समयमा संखुवासभाले संरक्षण अभियान थालेकोमा केन्द्रले हातेमालो गरेको बताए । 

बिस्तारै लोप हँदै गएको बाेन्पो लमको संरक्षणका लागि स्थापना भएको अक्षय कोषबाट आउने ब्याजले नयाँ लामाहरूको उत्पादन गर्ने र निरन्तरता दिनेलगायत विभिन्न काम गर्न सहज भएको तमु प्ये ल्हुँ संघ जिल्ला कार्यसमिति संखुवासभाका सचिव ललित गुरुङले बताए । 

उक्त खेगी सम्मान कार्यक्रममा पूर्वआइजिपी गुरुङ, तमु प्ये ल्हुँ संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ, महासचिव हर्क गुरुङ र महिला संघका विभिन्न पदाधिकारी र सञ्चारकर्मीहरूसमेत पोखराबाट संखुवासभा आएका थिए । सोही कार्यक्रमको अन्त्यमा महिलाहरूको भ्रातृसंस्था तमुस्यो प्ये ल्हुँ संघसमेत भक्ति गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको थियो । 
 

सुझावित समाचार