स्थानीय तहमा गएको १ खर्ब २६ अर्ब खर्च हुन सकेन

पुँजीगत खर्च बढाउने वातावरण बनाउन पालिका महासंघलाई अर्थमन्त्रीको आग्रह

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरूमा पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आइतबार आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरूमा पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न अनुरोध गरेका हुन् ।

स्थानीय तहहरूमा पुगेको रकममध्ये १ खर्ब २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकामा विकासको थप लहर सिर्जना गर्न आग्रह गरेका हुन् ।यसैबीच अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि भनेका छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमूलक बनाउने वातावरण सिर्जना गर्न पनि आग्रह गरे ।

 भूमि समस्या समाधानलाई पालिकासँग सम्झौता हुँदैन
आइतबार नै अर्थमन्त्री पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुसहितको बैठकमा भूमिसम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १ सय ९३ वटा पालिकासँग सम्झौता गरेको छ । मन्त्री डा. तुम्बाहाम्फेले बाँकी रहेका पालिकाहरूमा सम्झौता गर्ने र काम सुरु गर्ने पनि जानकारी गराइन् । भूमि समस्या समाधानको काम स्थानीय तहमै हुने भएकाले स्थानीय तहको विशेष सक्रियता जरुरी रहेको बताइन् । 

अर्थमन्त्री पौडेलले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी भूमिसम्बधी समस्यालाई स्थायी रूपमा समाधान गर्ने बताए । नगरपालिका संघका अध्यक्ष व्याञ्जुले समयतालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने धारणा व्यक्त गरे । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा नै फोकलपर्सन राखेर काम गर्न जरुरी रहेको बताए ।

सुझावित समाचार