गत वर्ष कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता लथालिंग नै बन्यो । धेरैजसो प्रतियोगिता स्थगित भए । कतिपय खेल विनादर्शक सञ्चालित गरिएको थियो । ठूलो लगानी तथा प्रायोजक भएका खेलकुद प्रतियोतिगा नहुँदा आयोजकले अर्बौं डलर घाटा सहनुपर्यो ।

फुटबल, टेनिस तथा क्रिकेट खेल गत वर्ष कोरोना महामारीका वेला पनि सुचारु हुनु एक उदाहरणीय रूपमा लिइएको थियो । गत वर्ष कोभिड–१९ नआएको भए अन्तर्राष्ट्रिय खेलकुदमा समर्थक तथा खेलाडीले अति नै मनोरञ्जन लिन सक्थे । तर, कोभिड–१९ का कारण ती लगभग सबै स्थगित नै भए । २०२१ को वर्षमा स्थगित भएका प्रतियोगिता हुनेछन् । समर्थकले यसलाई ज्याकपटकै रूपमा लिएका छन् ।
युरोकप
विश्वकप फुटबल प्रतियोगितापछि सबैले रुचाएको प्रतियोतिगा नै युरोपियन फुटबल च्याम्पियनसिप (युरोकप) नै हो । गत वर्ष यो प्रतियोगिता भएन । यस वर्ष ११ जुनदेखि ११ जुलाईसम्म युरोकप हुनेछ । युरोपमा सबै प्रिमियर लिग सफलतापूर्वक सञ्चालन भएको अवस्थामा युरोकप पनि निर्धारित समयमै हुने देखिन्छ । यद्यपि अहिले युरोकपमा दर्शकलाई अनुमति दिने वा नदिने भन्ने छलफल हुन बाँकी नै छ । यसपटकदेखि यो प्रतियोगिता १२ राष्ट्रले आयोजना गर्दै छन् । युरोपका विभिन्न २४ राष्ट्रले १२ राष्ट्रका सहरमा युरोकपको स्वाद लिनेछन् ।
टोकियो र पारा ओलम्पिक
टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता पनि गत वर्ष नै हुनुपर्ने थियो । खेल क्षेत्रमै सबैभन्दा धेरै खेलाडीको सहभागिता हुने प्रतियोगिताका रूपमा रहेको ओलम्पिक कोभिड–१९ ले गर्दा स्थगित भयो । आयोजक जापान तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले संयुक्त रूपमा ओलम्पिक यस वर्षको २३ जुलाईदेखि हुने घोषणा गरेको छ । टोकियो ओलम्पिक भएमा यसमा दर्जनौँ ओलम्पिक रेकर्ड तथा राष्ट्रिय रेकर्ड बन्नेछन् । यसैगरी टोकियो ओलम्पिक समाप्तिको १५ दिनपछि नै प्यारा ओलम्पिक खेलकुद आयोजना हुनेछ ।
बिम्बल्डन
वर्षमा चार राष्ट्रले अस्ट्रेलियन, फ्रेन्च, बिम्बल्डन तथा युएस ओपन आयोजना गर्छन् । गत वर्ष बिम्बल्डनबाहेक अन्य तीनवटा ग्रान्डस्लाम प्रतियोगिता सञ्चालित भए । जसमध्ये फ्रेन्च राफेल नाडाल र अस्ट्रेलियन ओपन नोभाक जोकोभिकले हात पारे । वर्षको अन्तिम समयमा टेनिस जगत्कै सबैभन्दा प्रतिष्ठित ग्रान्डस्लाम बिम्बल्डन भने भएन । आयोजक अल इंग्ल्यान्ड क्लबले १३४औँ संस्करण यस वर्षको २८ जुलाईबाट हुने जनाएको छ । विश्वकै सबैभन्दा पुरानो टेनिस प्रतियोगितामा खेलाडीले आफूलाई सहभागिता जनाउँदा भाग्यमानी ठान्छन् । ८–२१ फेब्रुअरीसम्म वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन हुनेछ ।
टी–२० पुरुष विश्वकप र द हन्डे«ड बल
कोरोना भाइरसले अन्योलताबीच क्रिकेट खेलकै छोटो फम्यार्ट टी–२० विश्वकप गत वर्ष हुन सकेन । आइसिसीलेसुरुमा अस्ट्रेलियालाई यस प्रतियोगिताको आयोजक राष्ट्र बनाएको थियो । अस्ट्रेलियाले गत वर्ष टी–२० विश्वकप पुरुष क्रिकेट प्रतियोगिता स्थगित गर्यो । प्रतियोगिता हुने वा नहुने दुबिधामा रहँदा आइसिसीले यस वर्ष यो टी–२० विश्वकप पुरुष भारतमा हुने जनाएको छ । यसपटक १६ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउनेछन् । यसैगरी इंग्ल्यान्डमा सय बलको खेल ‘द हन्ड्रेड बल’ प्रतियोगिता १७ जुलाई देखि १२ अगस्टसम्म आयोजना गर्ने भएको छ । दुई वर्षअघि द हन्ड्रेड बलको निकै चर्चा भएको थियो । क्रिकेटकै नयाँ विधाका रूपमा यस प्रतियोगितालाई सबैले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् ।
विश्व च्याम्पियनसिप
यस वर्ष धेरै महत्वपूर्ण खेलका विश्व च्याम्पियनसिप प्रतियोगिता हुँदै छन् । इंग्ल्यान्डले १७ अप्रिलदेखि ३ मेसम्म विश्व स्नोकर गर्दै छ । भारतले आइएसएस विश्वकप गर्नेछ । यस वर्ष नै ओलम्पिक खेलकुदको बक्सिङ छनोट आयोजना हुनेछ ।