नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा एकै दिन नेकपाका दुई समूहका छुट्टाछुट्टै भेला सम्पन्न भएका छन् । नेकपा विभाजनपछि दुवै समूहले यहाँ छुट्टाछुट्टै कार्यक्रम गर्दै आए पनि एकै समयमा प्रधानमन्त्री केपी ओली समूह र प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरूको सहभागितामा पहिलोपटक यस्तो कार्यक्रम भएको हो ।
ओली समूहले भरतपुरको एक रिसोर्टमा कार्यक्रम गरेको थियो भने प्रचण्ड–नेपाल समूहले नेकपा भरतपुर महानगरको कार्यालय कृष्णपुरमा कार्यक्रम गर्यो । ओली समूहको भेलालाई गृहमन्त्री रामबहादुर थापा बादल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गरे । प्रचण्ड–नेपाल समूहको भेलालाई स्थायी समिति सदस्य योगेश भट्टराई, केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलगायतले सम्बोधन गरे ।
बादललाई गृहनगरमा कालो झन्डा

गृहजिल्ला चितवन आएका गृहमन्त्री बादललाई नेकपाका कार्यकर्ताले कालो झन्डा देखाए । ओली पक्षको सभालाई सम्बोधन गर्न जाने क्रममा उनलाई प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । भरतपुर विमानस्थल परिसरमा कार्यकर्ताले बादल ‘लाल–गद्दार, असंवैधानिक कुको मतियार’ लेखेको ब्यानरसहित बेलुन उडाएर विरोध जनाएका थिए । भरतपुरको हाकिमचोकमा उनलाई बाइकमा आएका केही युवाले कालो झन्डासमेत देखाएका थिए ।
पार्टी कार्यालयमा प्रहरी तैनाथ

११ पुसमा नेकपा चितवनको पार्टी कार्यालयमा ओली समूहले कोही नभएको मौका छोपी बिहानको समयमा ताला लगाएको थियो । केहीबेरमै प्रचण्ड–नेपाल समूहका युवा कार्यकर्ताले त्यो ताला फुटाए । त्यसपछि सुरक्षालाई ख्यालमा राखी झडप नहोस् भनेर त्यसै दिनदेखि पार्टी कार्यालय प्रशासनको नियन्त्रणमा छ ।
प्रधानमन्त्री ओलीले सत्ता र शक्तिको दुरुपयोग गर्दै नेकपाको पार्टी कार्यालयमा सुरक्षाकर्मीलाई तैनाथ गरेको प्रचण्ड–नेपाल पक्षको आरोप छ । भरतपुर महानगरपालिका–१० स्थित मदननगरमा रहेको नेकपाको पार्टी कार्यालयमा अहिले सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिएका छन् । यो कार्यालयमा अहिले कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।
नेकपाको यो पार्टी कार्यालय साबिक एमालेको पार्टी कार्यालय हो । कृष्णपुरमा रहेको नेकपा भरतपुर महानगरको कार्यालय भने साबिक माओवादी केन्द्रको पार्टी कार्यालय छ । एकीकरणपश्चात् साबिक माओवादी केन्द्रको कार्यालयलाई महानगरको कार्यालय र साबिक एमालेको कार्यालयलाई नेकपा पार्टी कार्यालय बनाइएको थियो । पछिल्लो समय प्रचण्ड नेपाल पक्षको कार्यक्रम नेकपा भरतपुरको कार्यालयमा हुँदै आएको छ भने ओली पक्षहरूले विभिन्न रिसोर्ट र होटेलमा कार्यक्रम गरेका छन् । चितवनमा ओली समूहको तुलनामा प्रचण्ड–माधव समूह बलियो देखिन्छ ।
प्रचण्डलाई प्रधानमन्त्रीबाट रोक्न संसद् भंग गर्यौँ : बादल

ओली समूहको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न संसद् भंग गरिएको बताए । जसरी पनि प्रधानमन्त्री बन्ने महत्वाकांक्षाका कारण प्रचण्डले पार्टी नेतृत्व र प्रधानमन्त्रीविरुद्ध सोनारको सय चोटजसरी निरन्तर प्रहार गरेको उनले चर्चा गरे । ‘प्रचण्डले सोनारको सय चोटजसरी हानिरहे । हामीले पनि लोहारको एक चोट भनेजसरी संसद् भंग गरिदिएर प्रधानमन्त्री बन्ने प्रचण्डको बाटो नै बन्द गरिदियौँ ।’
पार्टी र सरकारको नेतृत्वलाई असफल बनाउन प्रचण्डले सुरुदेखि नै अनेक चलखेल गरेको चर्चा गर्दै उनले त्यही क्रममा प्रचण्डले अध्यक्षमाथि आरोपपत्र ल्याएको दाबी गरे । ‘प्रधानमन्त्री हत्याउने प्रचण्डको योजना असफल बनाउन संसद् विघटन गरिएको हो’, उनले भने, ‘प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सी मात्र चाहिएको छ । सही विचार र सही नेतृत्व भएकै कारणले मैले केपी ओलीलाई साथ दिएँ ।’
प्रधानमन्त्री बन्ने भए जनताको बीचमा गएर निर्वाचित हुन र अध्यक्ष बन्ने भए महाधिवेशनबाट विजयी भएर आउन बादलले प्रचण्डलाई सुझाब दिए । ‘पुरानो संसद्ले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सक्दैन । त्यसैले, प्रधानमन्त्री हुन केपी ओलीले घोषणा गरेको चुनावमा आउनुको विकल्प छैन,’ उनले भने । प्रचण्डका लागि यो अवसरसमेत भएको उनले जिकिर गरे । उनले प्रचण्डलाई अवसरवादी नेताको आरोपसमेत लगाए । उनले प्रचण्ड–नेपाल समूहले पार्टी नभई गुट निर्माण गरेको दाबी गरे ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रथम अध्यक्ष र महासचिव आफूहरूसँग रहेकाले आफूहरू नै संस्थापन पार्टी भएको दाबी गरे । केपी ओलीभन्दा माथि अरू कोही नेता नरहेको भन्दै उनले दुईतिहाइको प्रधानमन्त्रीले संसद् विघट गर्नु संवैधानिक भएको जिकिर गरे । पार्टी फुट्न नदिन आफूहरूले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावसमेत गरेको, तर प्रचण्डले रोकेको पोखरेलको भनाइ थियो ।
प्रधानमन्त्रीको सनकले संविधान च्यातियो : भट्टराई

प्रचण्ड–नेपाल समूहको भेलालाई सम्बोधन गर्दै स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली अनेक बहाना बनाएर पार्टी बैठकमा सहभागी नहुँदा अहिलेको अवस्था सिर्जना भएको बताए । उनले पार्टीको बैठकमा सहभागी नहुने ओली गुटको बैठकमा भने सक्रिय हुने गरेको आरोपसमेत लगाए । ‘बैठक छ भनेपछि उहाँ आज म बिरामी छु भनेर सिरक ओढेर सुत्नुहुन्छ, उहाँको स्वास्थ्यका कारण बैठक स्थगित गरेर बालुवाटारबाट हिड्छौँ, त्यसको पाँच मिनेटपछि नै गुटको बैठक गर्नुहुन्छ,’ उनले भने, ‘पार्टी बैठक छल्ने र मनोमानी ढंगले चल्ने ओलीको प्रवृत्तिकै कारण अहिलेको अवस्था उत्पन्न भएको हो ।’
वर्तमान संविधानले विकल्प हुँदासम्म संसद् भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको उनले चर्चा गरे । ‘०५१ सालमा संसद्मा नीति कार्यक्रम असफल भएपछि गिरिजाप्रसाद कोइरालाले संसदीय दलको बैठक बोलाएर बहुमतको निर्णय गराई संसद् विघटन गर्नुभयो,’ उनले भने, ‘आज केपी ओलीका लागि त्यस्तो भयो ? उहाँको नीति कार्यक्रम फेल भयो ? संसदीय दलमा सोध्नुभयो ? पार्टी स्थायी कमिटीमा सोध्नुभयो ? पार्टी केन्द्रीय कमिटीमा सोध्नुभयो ? कहीँ सोध्नु भएन । हाम्रो रगत र पसिनाले बनाएको संविधान आज एउटा व्यक्तिको सनकमा च्यातिन पुग्यो ।’
प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बाँचुन्जेल शक्तिमा रहन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको दाबी गरिन् । प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेको जिकिर गरिन् । ‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन,’ उनले भनिन्, ‘सत्तरी करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु नै हास्यास्पद हो ।’