युरोपका समुद्र्री किनारमा पर्यटकलाई आकर्षण गर्न राखिने रंगीविरंगी छाताको लोकप्रियता पछिल्लो समय नेपालमा पनि बढ्न थालेको छ । चितवन, काठमाडौं, बुटवल, हेटौंडालगायतका स्थानमा ‘अम्ब्रेला स्ट्रिट’ परियोजना निर्माण गर्दै आफ्नो व्यापार व्यवसायको प्रमोसन गर्ने क्रम बढेको छ ।
गत फागुनमा चितवनको पटिहानीबाट ‘अम्ब्रेला स्ट्रिट’ परियोजना सुरु भएको थियो । तर, कोरोना भाइरस महामारीका कारण १४ दिनमै बन्द भयो । गत कात्तिकदेखि पुनः सञ्चालन भएको ‘अम्ब्रेला स्ट्रिट’ घुम्न आउनेको संख्या बढेपछि अहिले सो क्षेत्रमा चहलपहल निकै बढेको छ ।
चितवनपछि काठमाडौंको न्युरोडस्थित संकटा मन्दिर क्षेत्रमा मंसिरको अन्तिम सातादेखि ‘अम्ब्रेला स्ट्रिट’ सञ्चालनमा ल्याइएको थियो । तर, अत्यधिक भीडभाड बढेपछि व्यवस्थापना गर्न नसकेर आइतबारदेखि बन्द गरिएको छ । पार्किङ, ट्राफिक तथा भिडभाड व्यवस्थापन गर्न नसकेका कारण तत्कालका लागि अम्बे्रला स्ट्रिट बन्द गरिएको संयोजक आशिषमान सिंह बताउँछन् । ‘आइतबारदेखि ‘अम्ब्रेला स्ट्रिट’ बन्द गरेका छौँ,’ उनले भने, ‘शनिबार रातिदेखि सबै छाता बन्द भएका छन् । स्थानीय बासिन्दालाई आवतजावतको समस्या, व्यापारिक क्षेत्रमा सामान लिएर आवतजावत गर्न समस्या देखिएपछि यो परियोजना बन्द गरेका हौँ ।’
टिकटक र युट्युबमा भाइरल
संकटा मन्दिर जाने सडकमा पर्ने गणेश मन्दिरसम्म खुला आकाशमुनि रंगीबिरंगी छाता प्रदर्शनले यो क्षेत्रको माहोल नै परिवर्तन भएको थियो । तीन सातासम्म काठमाडौं उपत्यका मात्र नभई बाहिर जिल्लाबाट आएका हजारौँ आन्तरिक पर्यटकले अम्ब्रेला स्ट्रिटमा पुगेर टिकटक बनाउने, सेल्फी लिने, इन्स्टाग्राममा तस्बिर राख्ने तथा फेसबुकमा फोटो राख्न भ्याइसकेका छन् । ‘संकटा अम्ब्रेला स्ट्रिट’को परिकल्पनाकार आशीष नै हुन् ।
उनले पोर्चुगलको एक सहरमा यस्तै छाताले ढाकेको भिडियोमा देखेका रहेछन् । कोरोना भाइरसले व्यापार व्यवसाय घाटा गइरहेको, बजार पनि सुस्ताइरहेका वेला सो क्षेत्रको बजार व्यवसायको प्रमोसन गर्न पोर्चुगलको जस्तै ‘कन्सेप्ट’ संकटामा प्रयोग गर्न लागिएको उनले साथीभाइसँग चिया गफमा प्रस्ताव राखेका थिए ।
नयाँ प्रयास र थोरै लगानीमा बजारदेखि स्थानीय क्षेत्रको विकास हुन विश्वास आशीषलाई थियो । उनले राखेको प्रस्तावमा कसैले पनि नाइँ भन्न सकेनन् । क्लब, स्थानीय र व्यापारीसँगको छलफलमा २८ मंसिरमा ‘संकटा अम्ब्रेला स्ट्रिट’ जन्मेको आशीष बताउँछन् ।
सुरुमा कस्तो किसिमको व्यापार प्रोमोसन गर्ने, कस्तो परियोजना होला भन्ने अरूलाई लागेको रहेछ । तर, तीन दिनमै कसैले नसोचेकै सफलता प्राप्त गर्यो । दैनिक १५ देखि २५ हजारसम्म दर्शकको भिड लागेको उनी बताउँछन् । विशेषतः टिकटक बनाउने समूह र सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘संकटा अम्ब्रेला स्ट्रिट’ लाई भाइरल बनाउने काम गरेको उनी मान्छन् । भन्छन्, ‘हामीले यतिसम्म भाइरल होला भन्ने विचारै गरेका थिएनौँ, यसको श्रेय टिकटकलाई जान्छ, हाम्रो एउटा सानो प्रयासलाई टिकटक प्रयोगकर्ताले भाइरल नै बनाए ।’
संकटामा राखिएको रेम्बो कलरका रंगीबिरंगी छातामुनि टिकटक बनाउन भन्दै सुदूरपश्चिम, पोखरा, धरान, बुटवल र झापालगायत स्थानबाट मानिस आएको आशीष बताउँछन् । ‘यहाँ आउनेमध्ये धेरैजसोले टिकटक नै बनाए,’ उनले भने, ‘शनिबार पनि तीनवटा समूहले सांगीतिक कार्यक्रमसहित टिकटक बनाएका थिए ।’ १५० मिटरसम्म लहरै रंगीबिरंगी छाता हेर्दा जोकोही पनि लोभिने गर्थे ।
औषधि पसल व्यवसायी मञ्जिल श्रेष्ठले छाताको मात्रै थोरै सेकेन्डको भिडियो बनाएर टिकटकमा पोस्ट गरे । टिकटकको फलोअर्स र भ्युअर्स देख्दा उनी अचम्मित भए । ‘म सामान्य टिकटक बनाउने व्यक्ति हुँ, मेरै भिडियो एक लाख ३० हजारले हेरे,’ श्रेष्ठ भन्छन्, ‘धेरै पनि होइन, १० सेकेन्ड मात्र होला मेरो टिकटक ।’ संयोजक आशीषले विभिन्न मिडियामा अम्ब्रेला स्ट्रिट शनिबारसम्म रहने जानकारी दिएपछि अन्तिम दिन ३० हजार मानिसको भिड देखिएको थियो । यहाँ आएका अधिकांशले मास्क लगाएका थिएनन् । मास्क लगाए पनि फोटो र सेल्फी खिच्दा फुकाल्थे । त्यहाँ कोरोनाको कुनै त्रास र डर देखिन्नथ्यो ।
‘अम्ब्रेला स्ट्रिट’कै कारण आन्तरिक पर्यटकको आगमन बढ्दो
‘अम्ब्रेला स्ट्रिट’का कारण चितवनको पटिहानी घटगाई नयाँ पर्यटकीय स्थल बन्न पुगेको छ । भरतपुर महानगरपालिका–२२ पटिहानीको राप्ती किनारमा रहेको ‘अम्ब्रेला स्ट्रिट’को नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत १ फागुनमा उद्घाटन गरेका थिए । गत १४ कात्तिकदेखि पुनः सञ्चालनमा आएको ‘अम्ब्रेला स्ट्रिट’मा एकैदिन करिब ४५ सयजनाले अवलोकन गरेको तथ्यांक छ ।

सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा पनि दुई हजारभन्दा बढीले अवलोकन गर्ने गरेका छन् । घुम्न आउनेहरूले सामाजिक सञ्जालमा फोटो र टिकटकमा भिडिओ राखेपछि हेर्न आउनेको संख्या धेरै छ । ‘अम्ब्रेला स्ट्रिट’ अवलोकन गर्न प्रवेश शुल्क २० रुपैयाँ तोकिएको छ । विद्यार्थीका लागि १० रुपैयाँ छुट गरिएको छ ।
भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो २००७ मा मोरिससमा पहिलो अम्ब्रेला स्ट्रिट देखेको बताउँछन् । त्यसपछिका युरोप भ्रमणमा जाँदासमेत उनले त्यहाँका समुद्र र नदी किनारमा अम्ब्रेला स्ट्रिट धेरैपटक देखेका थिए । त्यहाँको समुद्री किनारमा देखेको दृश्यलाई उनी आफ्नै गाउँको राप्ती नदीमा उतार्न चाहन्थे ।
चितवनको पर्यटकीय नगरी पटिहानी पछिल्लो समय पर्यटकीय हबको रूपमा विकास हुँदै गर्दा सरकारले पनि यसलाई एक सय पर्यटकीय गन्तव्यमा राख्यो । ‘विदेशमा अम्ब्रेला स्ट्रिटसँगैको समुद्रको दृश्यले मेरो मनमा छाप बनाएको थियो । हामीकहाँ समुद्र नभए पनि नदीहरू थिए । आफू जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि नयाँ छाप छोड्नुपर्छ भनेर विदेशमा देखेको अम्ब्रेला स्ट्रिट हाम्रो गाउँमा भूगोल सुहाउने गरी निर्माण गरेँ,’ अध्यक्ष महतो भन्छन्, ‘हाम्रा लागि अम्ब्रेला स्ट्रिट नवीनतम योजना बन्यो ।’
विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको साथैमा रहेको पटिहानी आफैँमा पर्यटकको केन्द्र हो । यहाँ अन्य सम्भावना पनि थुप्रै छन् । वन्यजन्तु अवलोकनका लागि मात्र चितवन हैन, केही नयाँ भयो भने पर्यटकको ध्यान तान्न सकिन्छ भनेर अम्ब्रेला स्ट्रिट बनाइएको हो । ‘यो यहाँको परिवेशअनुसारको बनाएका छौँ । थारू संस्कृति र प्रकृतिलाई जोडेका छौँ । रंगीबिरंगी छाताले ढाकेको छाना पार गरेर राप्ती किनार पुगेपछि सूर्यास्त, वनजंगल, चराचुरुंगी देखिन्छ,’ उनले भने ।
सरकारकै लगानी
सुरुमा वडाका लागि आएको एक करोडको बजेटबाट १० लाख रुपैयाँ अम्ब्रेला स्ट्रिटका लागि छुट्याउँदा विकासको बजेट नचाहिने काममा सक्यो भन्ने आरोप लागेको उनी बताउँछन् । ‘मेरो धेरै आलोचना पनि भयो । यो निर्माण गर्न एक करोड ८६ लाख खर्च भएको छ । एक करोड संघीय सरकारबाट आयो, ७१ लाख भरतपुर महानगरपालिका, १५ लाख आफ्नै वडा कार्यालय र १० प्रतिशत स्थानीय सहभागितामा निर्माण सम्पन्न भएपछि भने अहिले सबैको प्रशंसा पाएको छु,’ वडाध्यक्ष महतोले भने ।
अहिले अम्ब्रेला स्ट्रिट भएको ठाउँ फोहोर फ्याँक्ने डम्पिङ साइट बन्दै थियो । खोलासम्म पुग्ने खोल्सा अहिले उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । हजारौँको संख्यामा आउने पर्यटकका कारण यस क्षेत्रमा विपन्न, गरिब परिवारको आयआर्जनको स्रोत भएको छ । विगतमा माछा मारेर र मेलापात गरेर परिवारको गुजारा चलाउनसमेत गाह्रो हुने गरेका थारू र बोटे समुदाय स्वरोजगारमा लागेको महतो सुनाउँछन् । यहाँ अहिले दर्जनभन्दा बढी खाजा पसल छन् ।
महानगरपालिकाको पर्यटकीय क्षेत्र मात्र नभई आम्दानीको स्रोतसमेत अम्ब्रेला स्ट्रिट बन्दै गरेको उनले बताए । ‘हामीले राम्रै काम गरेका रहेछौँ । हाम्रो नक्कल गर्दै काठमाडौंमा समेत यस्तै ठाउँ बनेको सुन्दा अझ बढी आनन्द आयो,’ उनी भन्छन्, ‘राम्रो चिजको नक्कल धेरै ठाउँमा हुन्छ । हामीले यसलाई डिपिआर नै बनाएर योजनाको परिकल्पना गरेका थियौँ । स्थायी रूपमा संरचना निर्माणको काम अघि बढेको छ । मानिसहरू नेपालको पहिलो अम्ब्रेला स्ट्रिट भन्दै पटिहानी नै आउँछन् ।’
चीनबाट ल्याइएका ५२० वटा रंगीबिरंगी छाता नै यहाँको मुख्य आकर्षण हो । आकाशमाथि यी छातालाई मिलाएर राखिएको छ । छाताबाहेक अन्य नेपालकै स्रोतसाधन प्रयोग गरी निर्माण गरिएको अम्ब्रेला स्ट्रिट परिसरमै क्यानभास माध्यमबाट थारू संस्कृति देखाउन खोजिएको छ । यहाँका फाउन्टेनहरू पनि निकै आकर्षक छन् । जंगली जनावरका आकृतिसमेत आकर्षक ढंगले यहाँ राखिएको छ । अम्ब्रेलामुनि बसेर फोटो खिच्ने, खाजा खाने र रमाइलो गर्नु नै यसको विशेषता हो । यहाँ आन्तरिक पर्यटक आउने क्रम बढेको छ ।