रेसुंगा नगरपालिका– १४ पराल्मी टेकुवाका २१ वर्षीय मेखबहादुर पेमी गम्भीर रोगका कारण जीवन–मरणको दोसाँधमा पुगेका छन् । उनी डेढ वर्षदेखि बोनम्यारोले काम नगरेपछि एप्लाष्टिक एनिमियाँ रोगका कारण बिस्तारामा परेका छन् ।
पेमी ०७६ साउनमा बेसरी थलिए । केही समय लक्षणअनुसार जन्डिसको शंका लागेर गाउँमै विभिन्न उपचार गरे । निको भएन, बरु समस्या झनै बल्झिँदै गयो । घरपरिवारले उपचारका लागि तम्घासदेखि बुटवल हुँदै भरतपुरसम्म पुर्याए । तर, रोग पत्ता लागेन । स्वदेशमा केही उपाय नलागेपछि मेखबहादुर भारत गए । तीन महिनापछि मात्रै रोग पत्ता लागेको बुबा ६२ वर्षीय चन्द्रबहादुर पेमीले बताए ।
भारतमा उपचार पत्ता लगाउने काम मात्रै भयो । डाक्टरहरूले उपचारका लागि भारतीय १२–१५ लाख लाग्ने बताएपछि विपन्न परिवार झस्कियो । बल्लतल्ल गुजारा चलाएको गरिब परिवारका लागि त्यति ठूलो रकम जम्मा गर्न सम्भव थिएन ।
‘हजारकै लागि मुस्किल थियो, लाख जुटाउने उपाय नै भएन,’ उनले भने, ‘बसेर के गर्ने, उपचार नगरेरै घर फर्किएँ ।’ उनको शरीर आफैँले रगत उत्पादन गर्दैन । प्रत्येक महिना अरूको रगत चढाउनुपर्छ । डेढ वर्षदेखि अरूकै रगत चढाएर बचाइएको बुबा चन्द्रबहादुरले बताए । प्रत्येक महिना रातो र सेतो रगत गरेर आठ पोकासम्म रगत आवश्यक पर्छ । पेमी परिवारले रगतकै लागि मात्रै २५ देखि ३० हजार मासिक खर्च गरिरहेका छन् । चन्द्रबहादुरका ६ जना छोराछोरी छन् ।
चन्द्रबहादुर ४२–४३ वर्ष भारतमा काम गरेर मुस्किलले परिवार पाले । चार छोरीहरूको बिहे र छोराहरूलाई १२ सम्म पढाउँदा कमाएको पैसा बचत नभएको उनले बताए ।
मेखबहादुरले १२ पास गरेर बसेका थिए । झ्याप्पै रोगले समात्यो । प्लस टु गरेर मेखबहादुर नेपाली सेनामा भर्ती हुने योजनामा थिए । शारीरिक रूपमा हट्टाकट्टा नै थिए । उनको दौडधुप देखेर गाउँमा सबैले लाहुरे बन्छ भन्थे । तर, बीचमै बज्रपात पऱ्याे । मेखबहादुरलाई भाइ बोनम्यारो दिन तयार छन्, तर फेर्न मात्रै २५ लाख लाग्ने भएकाले समस्या आएको हो ।
‘बुढेसकालसम्म छोराछोरी भनेर भारतमै काम गरेँ, जेठो छोराको कमाइ खाने वेलामा रोगले छोप्यो,’ चन्द्रबहादुरले भने, ‘बचाउन पाए हुन्थ्यो भनेर भगवानसँग दुई हात जोडेको छु ।’
पेमी परिवारलाई गाउँका क्लब, वडा, नगरबाट सामान्य सहयोग भएको हो । अहिलेसम्म पाँच–सात लाख खर्च भइसकेको छ । अब पेमी परिवारले ऋणधन गरेर रगत चढाउने पनि उपाय छैन । ‘उपचारमा ठूलो रकम आवश्यक पर्ने भएकाले गरिबलाई राज्यले नै सहयोग गर्नुपर्छ,’ छिमेकी मोहन गौतमले भने, ‘चन्दा संकलन गरेर कहिलेसम्म बच्ने र बचाउने ।’
अब स्वदेश तथा परदेशबाट सहयोग भएन भने परिवारले रगत किन्नेसमेत उपाय नभएको गौतमले बताए । सुरुदेखि नै पेमी परिवारलाई सहयोग गरिरहेका तम्घासका राजीव बराल, पूजा राना र सन्तोष न्यौपानेले ‘मेखबहादुर पेमी बचाउ अभियान’ चलाएका छन् ।