नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वमा लुम्बिनी प्रदेश संघर्ष समिति गठन

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को लुम्बिनी प्रदेश कमिटीको बैठकले प्रदेशमा संघर्षका कार्यक्रम गर्न संघर्ष समिति गठन गरेको छ । केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वमा पाँच सय एक सदस्यीय संघर्ष समिति गठन गरेको पार्टी प्रदेश कमिटीका सचिव जगप्रसाद शर्माले बताए । 

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको प्रदेश कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेशभरि संघर्ष गर्ने निणर्य गर्दै समिति गठन गरेको हो । 

स्थायी कमिटी सदस्यहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुनलगायतको उपस्थितिमा भएको बैठकले प्रदेशमा पार्टीका काम व्यवस्थित गर्न राय–सुझाब संकलन गर्ने निर्णयसमेत गरेको छ । प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको शर्माले बताए । 

प्रदेश कमिटी सचिव शर्माका अनुसार बैठकमा पार्टीका नेताहरू ज्ञवाली, पुन, भुसाल तथा प्रदेश कमिटीका सहइन्चार्ज कुलप्रसाद केसीले सम्बोधन गर्दै प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमबारे तथा संघर्षका कार्यक्रमबारे धारणा राखेका थिए । उनीहरूले पार्टीको कार्यक्रम जनतामाझ पु¥याउनुपर्नेमा जोडसमेत दिएका थिए । 

संघर्ष समितिका संयोजक गैरेका अनुसार संघर्षको कार्यक्रम जिल्ला–जिल्ला हँुदै तल्लो तहसम्म पु¥याउन तल्लो तहसम्म संघर्ष समितिहरू गठन गरिनेछ । जनपरिचालनसहितका शान्तिपूर्ण प्रदर्शनहरू गरिने र प्रदर्शनमा आमजनसमुदायको सहभागिता बढाउन युवा विद्यार्थीदेखि विभिन्न वर्गलाई परिचालित गरिनेछ । आमबुद्धिजीवी, पेसाकर्मीहरूको साझा संघर्षका कार्यक्रम पनि अगाडि बढ्ने उनले बताए । ओलीको कदमविरुद्ध उभिएका दलहरू गोलबद्ध हुँदै साझा कार्यक्रम अगाडि बढाइने पनि गैरेले बताए । 

सुझावित समाचार