‘ब्ल्याक स्पट’ बन्यो कोटेश्वर–कलंकी सडक : इन्जिनियरिङमै त्रुटि, दुर्घटना बढ्दो

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

ललितपुर ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा बिरामी भेटेर हरिसिद्धिका ४५ वर्षीय कृष्णप्रसाद तिमिल्सिना र ३४ वर्षीया सुनिता सोती सापकोटा घर फर्कन सामुन्नेको चक्रपथमा निस्किए । सडक काट्न दायाँबायाँ हेरे । सवारीसाधनको चाप नदेखिएपछि दुवै सडकमा निस्किए । त्यहीवेला विपरीत दिशाबाट ०३–०२३–च ०७१३ नम्बरको जिप हुइँकिँदै आयो । सडकमा उभिएका तिमिल्सिना र सापकोटालाई ठक्कर दियो । सडकमा ढलेका दुवैको क्षणभरमै मृत्यु भयो । उनीहरूलाई ठक्कर दिएर जिप बेपत्ता भयो । समय थियो, साँझ ६ः५० बजे ।

गत साता नै काभ्रेका २७ वर्षीय गोपीकृष्ण खनाल सानेपा धोबीघाटस्थित सडकमा उभिएका थिए । सडक पार गर्न दायाँबायाँ हेरे । सवारीसाधनको चाप घटेजस्तो लागेर सडकमा निस्किए । त्यहीवेला विपरीत दिशाबाट हुइँकिँदै आएको ट्रकले उनलाई ठक्कर दियो । घटनास्थलमै उनको पनि मृत्यु भयो । उनलाई ठक्कर दिएर ट्रक फरार भयो । दुर्घटनाको समय थियो, साँझ ठीक ६ः५० बजे ।

नवनिर्मित कोटेश्वर–कलंकी (१० किमि) सडक खण्डमा एकै साता र एकै समयमा यी दुई दुर्घटना भएका छन् । घटनास्थलमा न सडक बत्ती छ, न त जेब्राक्रस नै । कोटेश्वर–कलंकी सडकमा दुर्घटना बढ्नुको मुख्य कारण सडक बत्ती र जेब्राक्रस अभाव भएको यी घटनाले पुष्टि गर्छन् । ट्राफिक प्रहरी पनि यही तथ्यमा जोड दिन्छन् ।

त्यसो त, उपत्यकाका अन्य सडकमा पनि सडक बत्ती र जेब्राक्रसकै समस्या देखिन्छ । जस्तो– काभ्रे पाँचखालका ३५ वर्षीय राजन विकलाई पनि गत साता नै कुपण्डोलमा सडक पार गर्दै गर्दा विपरीत दिशाबाट हुइँकिएर आएको मोटरसाइकलले ठक्कर दियो । उनको पनि घटनास्थलमै मृत्यु भयो । कोटेश्वर–कलंकी सडकमा जस्तै कुपण्डोलमा पनि सडक बत्ती र जेब्राक्रस थिएनन् ।

‘केही दिनयता कोटेश्वर–कलंकी सडकखण्डमा दुईवटा दुर्घटना भए, जसमा परी तीनजनाको ज्यान गयो । घटनास्थल अध्ययन गर्दा घटनास्थलमा सडक बत्ती छैन । र, घटना साँझको लगभग एकै समयमा भएका छन्,’ ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले भने, ‘अहिले दिन छोटो छ, चाँडै रात पर्छ । तीनवटै स्थलको अनुसन्धान गर्दा कम ‘भिजिबिलिटी’ मुख्य कारण देखिन्छ । घटनामा संलग्न चालकबाट लिइएको बयानबाट पनि त्यही तथ्य सामुन्ने आउँछ ।’

१४ दिनमा ९० दुर्घटना, तीमध्ये ३४ प्रतिशत कोटेश्वर–कलंकी सडकमा
ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार १४ दिनयता ललितपुरमा मात्रै ९० दुर्घटना भएका छन् । तीमध्ये ३१ दुर्घटना कोटेश्वर–कलंकी सडकको १० किमि क्षेत्रभित्र भएका छन् । यो कुल दुर्घटनाको ३४ दशमलव ४४ प्रतिशत हो । एसपी अधिकारी पनि कोटेश्वर–कलंकी सडकमा बढी दुर्घटना हुने गरेको स्वीकार्छन् ।

‘१४ दिनयता ललितपुरमा भएका ९० दुर्घटनामध्ये सानेपा क्षेत्रमा १० र सातदोबाटो क्षेत्रमा २१ दुर्घटना भएका छन् । तीमध्ये अधिकांश कोटेश्वर–कलंकी सडकमै भएका छन्,’ एसपी अधिकारीले भने, ‘त्यसैले कोटेश्वर–कलंकी सडकमा धेरै दुर्घटना हुने तथ्यलाई नकार्न सकिन्न ।’

यी हुन् दुर्घटनाका चार खास कारण

(१) सडकबत्ती अभाव
चीन सरकारको करिब पाँच अर्ब रुपैयाँ सहयोगमा बनेको कोटेश्वर–कलंकी सडकको लम्बाइ १० किलोमिटर छ । तर, यो सडकमा अझै सडकबत्ती जडान गरिएको छैन । सोहीकारण साँझ पर्नासाथ सडक अँध्यारो रहन्छ । सडकपेटीमा हिँड्ने र वारपार गर्ने बटुवा हुइँकिएका सवारीसाधनको बत्तीको सहारामा चल्नुपर्छ । तीव्र गतिमा गुडिरहेका सवारीसाधनले पैदल यात्रीलाई ठक्कर दिनुको मुख्य कारण पनि यही हो ।

(२) ट्राफिक लाइटसम्म जडान गरिएन
आठ लेनमा विस्तार हुनुअघि कोटेश्वर–कलंकी सडक ‘सिटी हाइवे’ थियो । विस्तार भएपछि यो ‘एक्सप्रेस हाइवे’ बन्यो । तर, त्यसका लागि अत्यावश्यक पूर्वाधार निर्माणमा सरकारले चासो दिएन । जस्तो– फराकिलो सडकमा ट्राफिक लाइटसम्म जडान गरिएको छैन । न त ट्राफिक आइल्यान्ड नै बनाइएको छ । सोहीकारण सवारीसाधनको गति व्यवस्थापन हुन सकेको छैन । र, त्यसले दिनहुँ दुर्घटना बढाएको छ ।

(३) अपर्याप्त आकाशे पुल
सडकको दायाँ–बायाँ दुवै किनारामा सहरी इलाका छ । छिनछिनमा सर्वसाधारणलाई सडक पार गर्नुपर्छ । तर, उनीहरूको सुविधाका लागि पर्याप्त आकाशे पुल छैनन् । यस सडकमा निर्मित कोटेश्वर, ग्वार्को, बालकुमारी, धोबीघाटका आकाशे पुल मात्र सञ्चालनमा छन् । अन्य चारवटा आकाशेपुल निर्माणाधीन छन् । तर, ती आकाशे पुल करिब दुई किलोमिटर फरकमा छन् । बीचमा सडक पार गर्नुपर्दा सर्वसाधारणले त्यति टाढाका आकाशे पुल प्रयोग गर्न सक्दैनन् । सर्वसाधारणले सडकमै उत्रेर वारपार गर्नुपर्छ । एक्सप्रेस हाइवेमा हुइँकिएका सवारीसाधनबाट बच्न पैदल यात्रीलाई मुस्किल परिरहेको छ ।

(४) बनाइएन जेब्राक्रसिङ
ओभरहेडको विकल्पमा कमसेकम सडकमा पर्याप्त जेब्राक्रस त राखिनुपथ्र्यो । तर, यसमा पनि सरकारी निकायको ध्यान देखिँदैन । सोहीकारण आफूखुसी बाटो काट्नु सर्वसाधारणको नियति बनेको छ । र, त्यसले दुर्घटना निम्त्याएको छ ।

इन्जिनियरिङमै त्रुटि
कोटेश्वर–कलंकी सडकमा चीनको आर्थिक मात्र होइन, प्राविधिक सहयोग पनि छ । तर, यसको निर्माणमा प्रयोग भएको इन्जिनियरिङमै त्रुटि रहेको सडक निर्माण भइसकेपछि मात्र खुल्यो । निर्माण सकेर चिनियाँ पक्षले माघ ०७५ मा नेपाल सरकारलाई सडक हस्तान्तरण ग¥यो । त्यसलगत्तै सडक निर्माणमा भएका त्रुटि सच्याउन सडक विभागले प्राविधिक टोलीसहितको समिति बनायो । समितिले आकाशे पुल थप्न, ट्राफिक लाइट जडान, आइल्यान्ड निर्माण, पर्याप्त मात्रामा जेब्राक्रस राख्न, तत्काल सडकबत्ती जडान गर्न र दायाँ–बायाँ सर्भिस ट्रयाक खोल्न सुझाब दिएको थियो । तर, दुई वर्ष बित्यो, यीमध्ये कुनै काम भएका छैनन् ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार सडकमा आकाशे पुल, ट्राफिक लाइट, जेब्रा क्रसिङ पर्याप्त नभएको अध्ययनबाट खुलेको छ । ‘त्यसमध्ये पाँचवटा आकाशे पुल थपेर आठवटा पु¥याउँदै छौँ, ट्राफिक लाइट राख्नेबारेमा परामर्शदातासँग छलफल चलिरहेको छ,’ महानिर्देशक शर्माले भने, ‘सडकबत्ती राख्ने सन्दर्भमा पनि छलफल भइरहेको छ । कोभिड–१९ का कारण अपेक्षाकृत काम हुन सकेन । चालू आर्थिक वर्षमा सबै काम सक्ने योजना छ ।’

लकडाउन खुल्यो, दुर्घटना बढ्यो
कोरोना प्रसार रोक्न लागू गरिएको लकडाउन र निषेधाज्ञा खुलेसँगै सवारी दुर्घटनाको ग्राफ भने उकालो लागेको छ । र, यात्रीको मृत्युदर पनि बढेको छ । महाशाखाको तथ्यांकअनुसार गएको पाँच महिनामा सबैभन्दा कम दुर्घटना भदौमा भए । त्यतिवेला निषेधाज्ञा कडा तुल्याइएको थियो । निषेधाज्ञा बिस्तारै खुकुलो बनाइएसँगै दुर्घटना र मृत्युदर पनि वृद्धि भयो ।

‘लकडाउन खुकुलो भएसँगै सडक दुर्घटना बढेको सत्य हो । यसका केही खास कारण छन् । मुख्य त सडकबत्ती र ट्राफिक लाइट अभाव नै हो । अर्को लकडाउन खुलेपछि सडकमा सवारीसाधनको चाप बढ्यो र दुर्घटनामा पनि वृद्धि भयो,’ महाशाखा प्रवक्ता एसपी अधिकारीले भने ।

उपत्यकामा दैनिक १८ दुर्घटना, कम्तीमा एकको मृत्यु र १३ घाइते
ट्राफिक महाशाखाको सात वर्षयताको तथ्यांक केलाउँदा उपत्यकाभित्र दैनिक औसत १८ दुर्घटना हुन्छन् । ती दुर्घटनामा परी कम्तीमा एकजनाले ज्यान गुमाउँछन् । र, औसत १३ जना घाइते हुन्छ । यो दर बर्सेनि वृद्धि भइरहेको छ ।

ट्राफिक प्रहरीले दुर्घटनाको खास कारण सडकबत्ती, ट्राफिक लाइट र जेब्राक्रस अभावलाई नै मानेको छ । मादक पदार्थ सेवन र सवारीसाधनको अत्यधिक गति पनि दुर्घटनाका कारण हुन् । सर्वसाधारणमाझ सडक र ट्राफिक नियम पालनामा कम चेतना भएका कारण पनि दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाइ छ ।

काठमाडौं उपत्यकामा दुर्घटना
महिना         दुर्घटना     मृत्यु      घाइते
साउन          ७१५         १०       ५५६
भदौ            ३३८          ५        १९५
असोज         ७८५        १४       ६५५
कात्तिक        ८१७        २१       ६९४
मंसिर          १०९२       १८        ७९८

सात वर्षयता उपत्यकामा दुर्घटना र मृत्यु
आव            दुर्घटना        मृत्यु       घाइते
०७०–७१       ४६७२        १४३       ३७१०
०७१–७२       ४९९९        १३३        ३८७६
०७२–७३      ५५६८        १६६        ४१७६
०७३–७४      ५५३०         १८२        ४११५
०७४–७५      ६३८१         १९४        ४५५२
०७५–७६      ८५११         २५४        ६२०२
०७६–७७      १००३०       १५३         ६९२४
जम्मा           ४५,६९१      १,२२५      ३३,५५५
 

सुझावित समाचार