२६ डिसेम्बर २००७ को रात । बेनजिर भुट्टो पेसावरबाट ड्राइभिङ गरेर राजधानी इस्लामाबादसम्म सवार भइन् । मध्यरातमा भुट्टो घरमा पुग्दा धेरै नै थकित देखिन्थिन् । त्यसैवेला आइएसआईका प्रमुख तथा जनरल नदिम ताजलाई पूर्वप्रधानमन्त्री भुट्टोसमक्ष एउटा अति नै गोप्य सन्देश पु¥याउन हतार भइसकेको थियो । नदिम जसरी पनि भुट्टोलाई भेट्न चाहिरहेका थिए । लामो यात्राका कारण भुट्टोले तत्काल आइएसआईका प्रमुखसँग नभेट्ने र दुई घन्टा सुत्ने निर्णय लिइसकेकी थिइन् । तर, अति नै गोप्य र संवेदनशील भनिएपछि भुट्टोले आफ्नो पूर्ववत् निर्णय परिवर्तन गरिन् । एकछिनमै आइएसआईका प्रमुखसँग भेटिन् । रातको दुई बजेसम्म बैठक बस्यो । सो बैठकमा सुरक्षा सल्लाहकार रहमान मलिक पनि थिए ।
नदिमले आफ्नो स्रोतको भनाइ राख्दै केही दिनदेखि भुट्टोको हत्या योजना बनिरहेको बताए । यसैकारण नदिम आफैँ मध्यरातमा भुट्टोलाई भेट्न पुगेका रहेछन् । यो घटना विवरण इस्लामाबादमा रही बिबिसीका लागि रिपोर्टिङ गरेका पत्रकार ओवेन बेनेट जोसेले आफ्नो पुस्तक ‘द भुट्टो डाइनेस्टी द स्ट्रगल फर पावर इन पाकिस्तान’मा उल्लेख गरेका छन् । आइएसआईका प्रमुखको कुरा सुनेपछि पूर्वप्रधानमन्त्री भुट्टो एकछिन स्तब्ध भइन् । केही समय उनी केही पनि बोलिनन् । सम्भवतः भुट्टोलाई सुरुमा शंका भयो । चुनावी आमसभा स्थगित गराउनकै लागि यस्तो सन्देश सुनाइएको हो कि भन्ने मनमा भुट्टोले लिएको ओवेन बेनेटले पुस्तकमा लेखेका छन् ।
त्यो कुरा सुनेर बेनजिर भुट्टोलाई शंका भयो, कि नदिमले मेरो कार्यक्रम रद्द गर्नकै लागि यस्तो किसिमको दबाब दिन गइरहेको त छैन । यदि हत्याको योजना बनिरहेको खबर थाहा छ भने किन ती समूहलाई अहिलेसम्म नपक्रेको भनी भुट्टोले नदिमलाई उल्टै प्रश्न गरिन् । ‘यदि यस्तै समाचार वा खबर छ भने किन उनीहरूलाई अहिलेसम्म नसमातेको त ?’ भुट्टोले आइएसआई प्रमुखलाई गरेको प्रश्न थियो, ‘त्यसपछि हो वा होइन भन्ने थाहा भइहाल्छ नि ।’ मध्यरातमा भएको वार्तामा भुट्टोले अन्तिममा आफ्नो र कार्यकर्ताहरूको सुरक्षा बढाउन अनुरोध गरिन् ।
‘तपार्इं (नदिम) पहिलो यो सुनिश्चित हुनुहोस्, खबर सही हो वा होइन, पूरै जानकारी नआउँदासम्म मेरो र कार्यकर्ताहरूको सुरक्षा बढाउनुहोस्,’ आइएसआई प्रमुख नदिमसँग भुट्टोले यसरी आग्रह गरेको पुस्तकमा उल्लेखित छ । नदिमले पनि पूर्वप्रधानमन्त्री भुट्टोलाई आफ्नोतर्फ पूरै सुरक्षा हुने विश्वास दिलाए । ‘म मेरोतर्फबाट हुन सक्ने हरसम्भव सुरक्षा–व्यवस्था मिलाउनेछु,’ नदिमले भुट्टोलाई आश्वास्त पार्दै भने ।
हत्याको तयारी
आइएसआई प्रमुख नदिमसँगको भेटवार्तापछि बेनजिर भुट्टोले आफ्नो कार्यक्रम यथावत् नै राखिन् । अर्कोतिर भने भुट्टोलाई हत्या गर्ने योजनाकारहरू भने सक्रिय भइसकेका थिए । पत्रकार बेनेट जोस लेख्छन्, ‘मध्यरातमै तालिबानका एक नेता नसरुल्ला १५ वर्षीय छोराका साथ रावलपिन्डी पुगेका थिए । साथै विलाल र इकराउल्ला पनि सँगै थिए । यसबीचमा तालिबानकै दुई सदस्य हसनैन गुल र रफाकत हुसैनले रावलपिन्डी सहरको विभिन्न क्षेत्र घुमघाम गरेका थिए ।’ २७ डिसेम्बरको दिन पूर्वप्रधानमन्त्री भुट्टोले रावलपिन्डीको हुसैन पार्कमा भाषण गर्ने कार्यक्रम थियो ।
२७ डिसेम्बरको बिहान नै पार्कमा तीनवटा प्रवेशद्वारमा मेटल डिटेक्टर लगाउने काम भइरहेको थियो । योजनाकारको योजना फरक थियो । उनीहरूले आमसभा चलिरहेको वेलामा भुट्टोमाथि हमलाको योजना बनाएका थिएनन् । जब कार्यक्रम समाप्त हुन्छ र भुट्टो सभाबाट फर्किनेछिन् त्यसवेला मात्र हमला गर्ने योजना थियो । यसकारण नै मेटल डिटेक्टरको खासै अर्थ नरहेको पत्रकार बेनेटले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
द स्ट्रगल भुट्टोमा बेनेट लेख्छन्, ‘प्रमुख योजनाकार खुसी हुँदै हुसैन पार्कबाट फर्के । बिलालले केही हतियार समाते र इकरामुल्लाले ग्रिनेड लिए । योजना सफल बनाउन बिलाल र इकरामुल्लालाई जुत्ता नभएर केवल चप्पल मात्र लगाउन भनिएको थियो । सामान्य पहिरन तथा चप्पल लगाएर आमसभामा उपस्थित हुँदा भुट्टोकै समर्थक सम्झने र आतंककारीजस्तो नदेखिने जुक्ति अपनाइएको थियो । नमाज पढेपछि बिलाल मुख्यस्थलमा पुगे । त्यहाँ उनले आफ्ना निसाना बेनजिर भुट्टोलाई बनाए ।’
अफगानी राष्ट्रपति हामिदसँग भेट
‘बेनजिर भुट्टो त्यसवेला एसियाकै एक शक्तिशाली नेतृ थिइन् । एकपटक फेरि प्रधानमन्त्री बन्ने अभियानमा रहेकी भुट्टोको हत्या हुन्छ भनी कसैले कल्पना गरेका थिएनन्,’ भुट्टोको हत्यापछि चर्चित जर्नालिस्टले किताब लेखेका छन् । यसैक्रममा ‘गेटिङ अवे विथ मर्डर’का लेखक हेराल्डो मुल्योज भन्छन्, ‘२७ डिसेम्बर भुट्टोले बिहान ७ः३० देखि ८ बजेसम्म ब्रेकफास्ट लिइन्, १०ः३० बजे भुट्टो पिपुल्स पार्टीका पूर्वसिनेटरसँगै अफगानिस्तानका राष्ट्रपति हामिद करजाई भेट्न इस्लामाबादस्थित सेरिना होटेल पुगिन् । सेरिना होटेलको चौथो तलामा अफगानी राष्ट्रपति हामिद बसेका थिए । अफगानी राष्ट्रपतिसँग त्यति धेरै लामो बैठक भएन ।
किनभने त्यही दिन साँझमा भुट्टोको लियाकत वागमा विशाल ¥यालीबीच भाषण दिने कार्यक्रम थियो । हामिदसँगको छिटो बैठक समाप्त गरी दिउँसो एक बजेतिर भुट्टो जर्दारी हाउस फर्किइन् । जर्दारी हाउसमै लन्च भयो । लन्च सकेपछि भुट्टोले आफ्ना समकक्षीसँग एउटा सानो बैठक राखिन् । जहाँ लियाकत वागमा हुने सभाका लागि बनाइएको भाषणको अन्तिम रूप दिने तयारी भयो ।’ गेटिङ अवे विथ मर्डरअनुसार भाषणको अन्तिम खाका तयार भएपछि भुट्टो लियाकत वागमा जान हतार गरिन् । त्यहाँ जाने भनेपछि सुरक्षाघेरा कडा पारियो ।
सबैभन्दा अगाडि टोयोटा ल्यान्डक्रुजर र त्यसको पछाडि सुरक्षाप्रमुख थिए । बेनजिर भुट्टो सेतो रंगको ल्यान्डक्रुजरमा थिइन् । सेतो रंगको ल्यान्डक्रुजरलाई दायाँबायाँबाट स्कर्टिङ भइरहेको थियो । यसको पछाडि कालो मर्सिडिज बेन्च पनि थियो । बेनजिर ल्यान्डक्रुजरको ड्राइभर सिटसँगै बसेकी थिइन् । बेनजिरको अगाडि ड्राइभर जावेदर रहमान थिए । बेनजिरको दायाँ वरिष्ठ प्रहरी अधिकृत इमतियाज हुसैन बसेका थिए । त्यो ल्यान्डक्रुजरमा पिपिपिका वरिष्ठ नेता मकदुम अमिन फहिम र राजनीतिक सचिव नाहिद खाँ बसेका थिए ।
सुरक्षाकर्मीको असावधानी
दिउँसोको २ः१५ मा भुट्टो फैजाबाद जक्सनमा पुगिन् । दिउँसो २ः५६ बजे भुट्टो सवार ल्यान्डक्रुजर मरी रोडतर्फ लागेको थियो । यहाँबाटै लियाकत रोडसँग कनेक्सन थियो । साढे तीन बजेतिर लियाकत वाग क्षेत्रमा भुट्टो पुगिसकेक थिइन् । त्यसवेला भुट्टोको सुरक्षा जिम्मेवारी रावलपिन्डी जिल्ला प्रहरीले लिएको थियो । भुट्टो सवार गाडी भिभिआइपी पार्किङ क्षेत्रमा लाग्यो । यस क्रममा भुट्टोले समर्थकहरूजाई अभिवादन गर्दै गइन् । खटिएका सुरक्षाकर्मीले बेनजिरलाई अनुहार देखाएर समर्थकलाई हात हल्लाउन नहुने सुझाब दिन सकेनन् । यस किसिमको कार्यमा आतंककारीहरूले भुट्टो कुन गाडीमा बसेको पत्ता लगाउन सजिलो भएको उल्लेख द स्ट्रगल भुट्टोमा बेनेटमा लेखेका छन् ।
लियाकत वागमा सुरक्षाकर्मीको धेरै भूल भएको हेराल्डो मुन्योजले पनि ‘गेटिङ अवे विथ मर्डर’मा उल्लेख गरेका छन् । मुन्योज भन्छन्, ‘दिउँसो ३ः१६ बजेसम्म पनि भुट्टो पार्किङ स्थलमै थिइन्, भित्र प्रवेश गर्ने मुख्य गेटको साँचो सुरक्षाकर्मीसँग थिएन । असुरक्षाबीच भुट्टो पार्किङ स्थलमै उभिइन् । उनले बारम्बार समर्थकहरूको अभिवादन फर्काइरहिन् ।’
एक सेकेन्डमा तीन गोली
त्यसपछि बेनजिर भुट्टोले दश हजार समर्थकबीच ३० मिनेट भाषण दिइन् । भाषणको क्रममा भुट्टोले १७ पटक बुबाको नाम लिइन् । भाषण सकेपछि समर्थकले यस्तो भने, ‘बेनजिर जिन्दावाद र बेनजिर बजिरे’ चिच्याहटका साथ सभा विसर्जनतर्फ लाग्यो । भाषण समाप्तिपछि बेनजिर ल्यान्डक्रुजरमा बसिन् । गाडी धेरैबेरसम्म पार्कमै रह्यो । किनेभने समर्थकहरूले ल्यान्डक्रुजर घेरिएको थियो । भिड साम्य पार्न बेनजिर उठिन् । ल्यान्डक्रुजरको इमर्जेन्सी हैच (गाडीको छतको बीच भाग ओपन गर्न मिल्ने) बाट आधा जिउ बाहिर निकाली समर्थकलाई पुनः एकपटक उनले धन्यवाद दिइन् । त्यसवेला साँझको पाँच बजेर १० मिनेट भएको थियो ।
त्यसपछि के भएको भनी ओवेन बेनेट लेख्छन्, ‘बिहानदेखि बिलाल र उसका साथीहरू सही समयको प्रतीक्षामा थिए । उनीहरूले पार्कमा बिहानदेखि नै अड्डा जमाएका थिए । बिलाल बेनजिर सवार ल्यान्डक्रुजर नजिक गए । बिलालले तत्काल पेस्तोल निकालेर बेनजिरको टाउकोमा निशाना लगाए । एक सुरक्षाकर्मीले बिलाललाई रोक्न निकै कोसिस गरेका थिए । पेस्तोलबाट निस्केको गोली बेनजिरलाई लागेन । बिलालले एक सेकेन्डभित्र तीनपटक बेनजिरमाथि फाइरिङ गरे । गोली खाएकी बेनजिर जीवितै देखेपछि बिलालले आत्मघाती बम विस्फोट गराए । आत्मघाती बम विस्फोटमा धेरै मानिसको ज्यान गएको थियो, यसमा भुट्टो पनि थिइन् ।’ यही घटनालाई गेटिङ अवे विथ मर्डरमा हेराल्डो मुन्योज लेख्छन्, ‘नाहिद खाँ बेनजिरको दायाँ भागमा बसेका थिए । मलाई भनेअनुसार तीनपटक गोली चल्दासम्म बेनजिर घाइते भइसकेकी थिइन्, बेनजिरको टाउको घुँडासम्म झुकेको थियो र कानबाट रगत बगिरहेको थियो ।’
घटनाको ३४ मिनेटपछि अस्पतालमा
भुट्टोका योजनाकार पनि निकै चलाख थिए । कुन स्थानमा के गर्नुपर्ने र कसलाई कस्तो रूपमा कारबाही हुनुपर्ने उनीहरूले पहिला नै योजना बनाएका थिए । लियाकत वागमा बम विस्फोट भएपछि त्यहाँ भागदौड मच्चिएको थियो । घाइतेहरूलाई अस्पतालसम्म पु¥याउन एउटा पनि एम्बुलेन्स थिएन । बम विस्फोटका कारण भुट्टो सवार ल्यान्डक्रुजरका सबै टायर पन्चर भए । ड्राइभरले केवल फलामको रिङकै भरमा ल्यान्डक्रुजर रावलपिन्डी अस्पतालतर्फ कुदाए । लियाकत रोडबाट तीन सय मिटर अगाडि बढेपछि ड्राइभरले ल्यान्डक्रुजर बायाँतर्फ मोडे । एक स्थानमा ल्यान्डक्रुजर रोकियो । घटनास्थलमा घाइते र मृतकको संख्या धेरै भएकाले सुरक्षाकर्मी ल्यान्डक्रुजरलाई पछ्याउन असमर्थ भए ।
बेनजिर भुट्टोका ड्राइभर नाहिद खाँ ओवेन बेनेटलाई घटनाबारे बताउँछन्, ‘त्यसवेलासम्म कारको अवस्था निकै खराब भइसकेको थियो । हामीहरूसमक्ष घाइते बेनजिरलाई ट्याक्सीबाट अस्पताल पु¥याउनेबाहेक अरू विकल्प नै भएन । पुलिस भनौँ वा सुरक्षाकर्मी पनि यस पक्षमा जानकारी नै थिएन । हामीले एउटा जिप रोक्यौँ । त्यसै जिपमा बेनजिरलाई राखी अस्पताल पु¥याइएका थियौँ ।’ बेनजिरका प्रवक्ता शेर रहमानका अनुसार हमला भएको ३४ मिनेटपछि मात्र बेनजिरलाई अस्पतालमा पु¥याएको थियो ।
साँझ ६ः१६ मा मृत घोषित
अस्पतालको पार्किङ स्थलमा रगतै–रगत भएकी बेनजिरलाई स्ट्रेचरमा राखियो । बेनजिरको सास तथा नाडीमा केही हलचल भइरहेको थिएन । दुवै आँखा स्थिर थिए । डाक्टरले आँखामा टर्चलाइट देखाउँदा पनि बेनजिरले केही मुभमेन्ट नगरेको गेट अवे विथ मर्डर पुस्तकमा लेखिएको छ । त्यो पुस्तकमा भनिएको छ, ‘टाउको र शरीरबाट लगातार रगत बगिरहेको थियो, टाउकोबाट एकप्रकारको सेतो पदार्थ निस्किरहेको थियो । यसबाट के स्पष्ट भइसक्यो भने यो संसारमा बेनजिर रहिनन् । तैपनि डाक्टर सइदा यासमिनको टोलीले बेनजिरलाई बचाउन अन्तिम प्रयास जारी नै राखेको थियो । केहीबेरमा सिनियर डाक्टर गजेब खाँ सहयोग गर्न आए । एक मिनेटभित्र उनले बेनजिरको घाँटीमा एउटा टयुब राखे ।
२७ डिसेम्बरको साँझ ५ः५० बजे अस्पतालमा सिनियर फिजिसियन तथा प्रोफेसर मोहद्दिक खाँले सबै चार्ज लिए । यता बेनजिरको नाक र कानबाट लगातार रगत बगिरहेको थियो । सुरुवाती सामान्य उपचारको ५० मिनेटपछि चिकित्सक टोलीले बेनजिरलाई अप्रेसन कक्षमा लग्यो । डाक्टर मुसाद्दिक खाँले बेनजिरको टाउको चिरे । अथक प्रयासपछि चिकित्सकले बेनजिरलाई बचाउन सकेनन् । साँझ ६ बजेर १६ मिनेटमा अस्पतालले विज्ञप्ति जारी गर्दै पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिरलाई मृत घोषणा ग¥यो ।
महिला चिकित्सक र नर्सद्वारा शरीर सफा
गेट अवे विथ मर्डर पुस्तकको तथ्य मान्ने हो भने बेनजिर भुट्टोको शरीरमा लागेको रगत सफा गर्न अप्रेसन थिएटरमा केवल महिला डाक्टर तथा नर्स मात्र थिए । बेनजिरको लगाएको पहिरन पूरै रगतले पुरिएको थियो । नयाँ सेतो कपडा राख्ने कामसमेत महिला चिकित्सकहरूले गरेको गेट अवे विथ मर्डरमा उल्लेख छ । यद्यपि बेनजिरलाई बचाउन पुरुष डाक्टरले अन्तिम समयसम्म प्रयास गरेका थिए । तर, उनलाई मृत घोषणा गरेसँगै पुरुष डाक्टरहरू थिएटरबाट बाहिरिए । बेनजिरको शरीर र अनुहारमा चोट लागेको स्थानमा पट्टी बाँधिएको थियो । सोही अस्पतालमै पोस्टमार्टमको तयारी भएको थियो ।
अस्पतालले बेनजिरको पोस्टमार्टम गर्न भनी नम्बर २०२८७७ लेखिएको प्लेकार्ड झुन्ड्याएको थियो । पोस्टमार्टम गर्न पनि डाक्टर मुसद्दिक खाँले प्रहरी अधिकृत सउद अजिजसँग तीनपटक अनुमति मागेका थिए । हाइप्रोफाइल तथा पूर्वप्रधानमन्त्री भएकाले नै विनाअनुमति पोस्टमार्टन गर्न अस्पताल प्रशासन पनि डराएको थियो । पाकिस्तानमा सरकार पक्षले भुट्टो परिवारका शक्तिशाली व्यक्तिलाई निममतापूर्वक हत्या गर्ने भनी अस्पतालबाहिर विरोध प्रदर्शन भएको कुरा गेट अवे विथ मर्डर पुस्तकमा लेखिएको छ । बेनजिरका पिता जुल्फिकर अली भुट्टोलाई सैनिक सरकारले फासी दिइएको थियो । यसैगरी बेनजिरका भाई सहनवाज र मुर्तजाको गोली हानी हत्या गरिएको थियो ।
श्रीमान् जर्दारीले पोस्टमार्टमको अनुमति दिएनन्
२७ डिसेम्बरको राति १० बजेर ३५ मिनेटमा अस्पताल प्रशासनले बेनजिरको पार्थिव शरीर काठले बनेको बाकसमा राख्यो । सोही रातको एक बजे बेनजिरका श्रीमान् आसिफ अली जर्दारी दुबईबाट रावलपिन्डी आइपुगे । उनलाई बेनजिरको पार्थिव शरीर हस्तान्तरण गरिएको थियो । श्रीमान् जर्दारीले आफ्नी श्रीमतीको पोस्टमार्टम गर्न अनुमति कसैलाई दिएनन् । २८ डिसेम्बर २००७ मा इस्लामिक धर्मअनुसार बेनजिरको अन्तिम संस्कार गरियो ।
‘द भुट्टो डाइनेस्टी द स्ट्रगल फोर पावर इन पाकिस्तान’का लेखक ओवेन बेनेट जोसेका अनुसार पाकिस्तानी पूर्वप्रधानमन्त्री भुट्टो स्वयंले आफू कुनै आतंकारीको हमलामा मारिने भन्ने अनुमान लगाएकी थिइन् । द भुट्टो डाइनेस्टी पुस्तकका अनुसार पाकिस्तानमा अमेरिकाबाट फर्कनुअघि बेनजिरले हवाईजहाजमा अमेरिकी राजदूत जालमेलाई यस्तो भनेकी रहिछिन्, ‘केही महिनापछि म मर्नु नै पर्छ यसकारण गुलियो खाँदा पनि केही फरक पर्दैन, खै एयरहोस्टेस बहिनी मलाई कुकिज ।’ –बिबिसी