नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले प्रधानमन्त्री केपी ओलीले रहरले नभई बाध्यताले संसद् विघटन गरी चुनावको मिति घोषणा गरेको बताएका छन् । उनले नेकपाका केही नेताले आफनो स्वार्थ र पदका लागि नेपाललाई असफल राष्ट्र बनाएर अन्तै विलय गराउने षड्यन्त्र गरेकाले प्रधानमन्त्री ओलीले बाध्यतावश पछिल्लो कदम चालेको दाबी गरे ।
वीरगन्जमा मंगलबार नेकपा ओली समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ का इन्चार्जसमेत रहेका मण्डलले नेकपा विभाजन भइसकेकाले चीनले चाहँदैमा एक नहुने बताए । चीनले नेकपा र नेपालको हितमा नभई आफनो स्वार्थपूर्तिका लागि नेकपाको विवादमा सक्रिययता देखाएको उनको आरोप छ ।
पार्टी विभाजनको औपचारिक सन्देश दिन वीरगन्जमा बुधबार नेकपाले पहिलो प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्न लागेको उनले बताए । भेलालाई पार्टी महासचिव विष्णु पौडेल, सहरी विकासमन्त्री प्रभु साहलगायतले सम्बोधन गर्नेछन् ।