प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थिति बुझ्न काठमाडौं आइपुग्यो चिनियाँ टोली
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनुपूर्व नेपाल आएर खुसी व्यक्त गरेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता नेकपाको फुटपछि परिस्थिति आकलन गर्न आइतबार काठमाडौं आइपुगेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल चारदिने भ्रमणका लागि एयर चाइनाको चार्टर्ड विमानमा आज दिउँसो आइपुगेकाे हाे ।
प्रतिनिधिमण्डलले चारदिने बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्कोपक्षीय नेकपा र नेपाली कांग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ ।
काठमाडौंको चिसो सडकमा उखु किसान बसेको १५ दिन भयो, लोकतान्त्रिक देशमा कसैले सुन्दैन किसानको आवाज
आफूले बेचिसकेको उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसान विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।
तैपनि सरकारले उनीहरूको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन, न त अन्य राजनीतिक दल तथा संगठनहरूको ध्यान नै किसानको यो आन्दोलनमा जान सकेको छ ।
यसबीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर, सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरू बताएका छन् ।
नेकपा विवादको लहरो प्रदेशसम्म : प्रदेश १ मा पनि सरकारविरुद्ध दर्ता भयो अविश्वास प्रस्ताव
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
आइतबार बिहान नेकपा प्रचण्ड–नेपाल समूहका सांसदहरूले मुख्यमन्त्री पदबाट र संसदीय दलको नेताबाट राईलाई हटाउने प्रस्ताव दर्ता गराएका हुन् ।
साथै प्रस्तावमा राईलाई हटाएर मुख्यमन्त्री र संसदीय दलको नेतामा भीम आचार्यलाई प्रस्ताव गरेका छन् ।
अविश्वास प्रस्तावको सामना गर्छु : मुख्यमन्त्री राई
प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव सुविधाजनक बहुमतले सामना गर्न तयार रहेको बताएका छन् ।
अविश्वासको प्रस्ताव दर्ता भएको सूचना पाएपछि पत्रकाहरूसँग भेटघाट गर्दै संघीयतालाई ‘कोल्याप्स’ गराउने मनसायले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको आरोप लगाएका छन् ।
उनीले भने, ‘संघीयतालाई असफल बनाउन चालबाजीका रूपमा अविश्वास प्रस्ताव दर्ता भएको छ म त्यसलाई सहजै सामना गर्नेछु ।’
मुख्यमन्त्री राईले विश्वासको प्रस्ताव दर्ता गराउन सांसदहरूले आरोप लगाएजस्तो प्रदेश सरकार अक्षम नभएको दाबी गरे ।
एमसिसी कार्यान्वयन हुन्छ, विदेशी सहयोग ल्याउन हुन्न भन्नु अपराध हो : ऊर्जामन्त्री रायमाझी
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले विवादास्पद अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) लागू गर्नुपर्ने बताएका छन् ।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसिसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले एमसिसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भए पनि कार्यान्वयनमा लैजानुपर्ने बताए ।
उनले भने, ‘एमसिसीमा कतिपय सम्झौता गर्दाखेरि देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदाहरू छन् भने त्यसलाई सुधार गर्न सकिन्छ, तर हामीले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरूमा मलाई विश्वास छैन ।’
सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराइन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् ।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड– १९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् ।
कुनै पनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनै पनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए । खरिद प्रक्रियामा आफूलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्नेसमेत बताए ।
उनले कुनै पनि कामलाई पारदर्शी गर्ने आफ्नो मान्यता रहेकाले त्यसमा साथ दिन मन्त्रालयका कर्मचारीहरूलाई आग्रहसमेत गरे । ‘जनतालाई हामी निःशुल्क भ्याक्सिन उपलब्ध गराउने अठोटका साथ अगाडि बढ्छौँ । पारदर्शी ढंगले, कुनै पनि प्रोकुरमेन्ट, कुनै पनि खरिदमा कम्तीमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन,’ उनले भने, ‘चोट जसलाई जति लागोस्, समस्या जसलाई जति परोस्, प्रभावित जो जतिसुकै होस् तर म ॐ पनि लेख्दिनँ । मेरो हस्ताक्षरको त पछिको कुरा हो । यो मेरो आफ्नो मान्यता हो । यो मान्यतालाई साथ दिन यहाँहरूसँग आग्रह गर्न चाहन्छु ।’
कांग्रेसका मित्रहरू ! चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भन्ने भ्रममा नपर्नुस् : डा.भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेसलाई पहिलो पार्टी हुने भ्रममा नपर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बाेधन गर्दै उनले कांग्रेसलाई चुनावकाे जाेडघटाउ छाेडेर सडक संघर्षमा आउन आग्रह गरे ।
डा. भट्टराईले भने, ‘चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भन्ने भ्रममा कांग्रेसका मित्रहरू नपर्नुस्, हिजो राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेकै हुन् । हामीले भाग लिएनौँ । चुनाव त भ्रम मात्रै हो ।’
देव गुरुङ भन्छन्– देशमा संकटकाल लागू हुन सक्छ
नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता देव गुरुङले देशमा अब संकटकाल लागू हुने बताएका छन् । लमजुङको बेसीसहरमा आइतबार प्रचण्ड-नेपाल समूहले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न लमजुङ आएका गुरुङले सञ्चारकर्मीसँग भने, ‘अहिलेको ‘कु’को आशय भनेको प्रतिनिधिसभा विघटन गर्नु र देशमा संकटकाल लागू गराउनु हो ।’
प्रधानमन्त्रीले मनोमानी ढंगले सबै काम संविधान मिचेर गरेको भन्दै गुरुङले जंगी, हैकमवादी र निरंकुश शासन लाद्न पनि पछि नपर्ने बताए । अहिलेको संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नगरेको भन्दै नेता गुरुङले प्रधानमन्त्रीलाई त्यो अधिकार नभएको टिप्पणी गरे ।
छाडेर जानेको घर हुँदैन, नेकपा हामी हौँ र चुनाव चिह्न सूर्य हामीसँगै हुन्छ : सुरेन्द्र पाण्डे
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीलाई सच्चिएर आउन आग्रह गरेका छन् । भरतपुरमा नेकपा चितवनका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा आइतबार उनले ओली गलत बाटोमा हिँडेको बताउँदै सच्चिन आग्रह गरेका हुन् ।
सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा निर्वाचन : मन्त्री साह
नवनियुक्त सहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा निर्वाचन रहेको बताएका छन् ।
आइतबार सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्नु रहेको बताएका हुन्।
सहरी विकास मन्त्रालयले पनि निर्वाचनकेन्द्रित काम गर्ने बताए । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रूपमा अगाडि बढाउने बताए।
ओखलढुंगा नेकपा पार्टी कार्यालयमा दुवै समूहले लगाए ताला
ओखलढुंगा नेकपाको पार्टी कार्यालयमा दुईवटा ताला लागेका छन् ।
शनिबार प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमा ताला लगाएपछि आइतबार बिहान केपी ओली समूहले अर्को ताला लगाएकाे हाे ।
औपचारिक फुटको घोषणा हुन मात्र बाँकी रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद जिल्लामा पनि उग्र बन्दै गएको छ ।
पार्टी कार्यालय कसको हुने भन्ने विवाद देशभर चलिरहेका वेला ओखलढुंगामा पनि जिल्ला पार्टी कार्यालयमा दुई पक्षले आ–आफ्ना ताला लगाएको नेकपाका नेता नेत्र भट्टराईले बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरको पार्टी कार्यालयमा लफडा भएकाे छ ।
आइतबार दिउँसो १२:३० बजेतिर प्रचण्ड-नेपाल समूहको भेला थियो । ओली समूहले गुटको भेला पार्टी कार्यालय गर्न नपाइने भन्दै मूलगेट, कार्यालय र सभा कक्ष तीन ठाउँमा ताला लगायाे ।
देशभर ७३१ संक्रमित निको भए, ४८१ थपिए, ६ को निधन
पछिल्लो २४ घन्टामा थप चार सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा यो संख्यासँगै कोरोना संक्रमण हुनेको संख्या दुई लाख ५८ हजार एक सय ८१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा सात सय ३१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ४९ हजार आठ सय ६३ पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार चार सय ९३ रहेको छ ।
कोरोना संक्रमणबाट २४ घन्टामा थप ६ जनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय २५ पुगेको छ।
सुरक्षा सामग्री र जोखिमभत्ता माग्दै स्वास्थ्यकर्मी आन्दोलित
कोभिड– १९ महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् ।
कोभिड– १९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रत्यक्ष खट्ने स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सरकारलाई पटक–पटक आग्रह गर्दासमेत सुनुवाइ नभएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियन तथा पेसागत संघसंगठनहरू संयुक्त रूपमा आन्दोलनमा उत्रिएका हुन् ।
राष्ट्रपतिद्वारा राष्ट्रिय सभा अधिवेशन १७ पुसमा आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले १७ पुसमा राष्ट्रिय सभा अधिवेशन आह्वान गरेकी छिन् । सरकारको सिफारिसमा भण्डारीले १७ पुसको अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन् ।
साइबर अपराधको चक्रमा समाज : एक हजार ३२३ उजुरीमध्ये ७७९ जना महिला पीडित, बालबालिकामाथि पनि आपराधिक दृष्टि
चितवनकी ३० वर्षीय नविता शर्मा (नाम परिवर्तन)ले श्रीमान्विरुद्ध साइबर ब्युरोमा दर्ता गरेको जाहेरी खोल्दा अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको मथिंगल खल्बलियो । जाहेरीमा अन्तरंग क्रियाकलापका तस्बिर समावेश थिए, जसलाई नविताका श्रीमान् रवि शर्मा (नाम परिवर्तन)ले आफैँ सामाजिक सञ्जालमा भाइरल बनाएका थिए ।
प्रहरीका अनुसार रविले नक्कली मात्र नभई आफ्नै आइडीमार्फत पनि श्रीमतीसँगका अन्तरंग तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसका लागि उनले फेसबुकमा ग्रुप च्याट खोले । परिचित-अपरिचित सबैलाई त्यसमा जोडे । र, श्रीमतीसँगका अन्तरंग तस्बिर सामाजिक सञ्जाल र च्याटमार्फत पोस्ट गर्न थाले ।
लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटियो
लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ । बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्यमन्त्री हमाद हसनले बताएका छन् ।
उनले बेलायतबाट लेबनानको राजधानी बेरुतमा आएका एकजना नागरिकमा कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको जानकारी शुक्रबार दिएका हुन् । उनी गत सोमबार जहाजबाट लेबनान आएका थिए ।
त्यसपछि सो जहाजमा आएका सबै यात्रुलाई सतर्क रहनका साथै अन्य सुरक्षित मापदण्डहरू अपनाउन भनिएको स्वास्थ्यमन्त्री हसनले जानकारी दिए । ती संक्रमित भेटिएपछि लेबनानको सरकारले बाहिरबाट आउने उडानमाथि प्रतिबन्ध लगाएको छ । स्वास्थ्यमन्त्री हसनले सो जनकारी ट्विटमार्फत दिएका हुन् ।
खाद्यान्न संकट टार्न चीनमा नयाँ नियम : खाना फ्याँके १० हजार युआन जरिवाना
कोरोना भाइरस (कोभिड–१९) ले चीनको अर्थतन्त्रमा खासै प्रभाव पारेको छैन । कोरोना भाइरसविरुद्ध अपनाएको नीतिले नै चीनको वुहानबाहेक अन्य सहरमा भाइरस फैलिन नपाएको मानिन्छ । कोभिड– १९ विरुद्ध विश्वभरका राष्ट्रहरू लड्न सुरु गर्दा चीन भने सामान्य जीवनमा फर्किसकेको थियो । यहाँका नागरिक एकबाट अर्को सहरमा सहजै यात्रा गर्न थालिसकेका थिए ।
कोरोना भाइरस पहिलोदेखि तेस्रो लहरसम्म पुग्दा चीनभित्र के भइरहेको ? सर्वसाधारणले कस्तो जीवन बिताइरहेको ? सरकारको प्राथमिकता केमा छ भन्ने बाहिर आएको छैन । तर, चिनियाँ मिडियाहरूको तथ्य मान्ने हो भने, यति वेला चीनमा खाद्यान्नको चर्को संकट परिरहेको छ । चीनका होटेल वा रेस्टुरेन्टले ठूलो परिमाणको अर्डर लिन सक्ने अवस्थामा नरहेको स्थानीय मिडियाहरूले जनाएका छन् ।
चीनमा हरेक पाँचमध्ये एकजनामा उच्च रक्तचाप
चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचाप देखिने गरेको र अरू रोगभन्दा रक्तचापसँग सम्बन्धित समस्याबाट धेरैको मृत्यु हुने गरेको छ । एक अध्ययनअनुसार चीनमा करिब ३० करोड मानिसमा उच्च रक्तचाप छ ।
चीनको राष्ट्रिय कार्डियोभास्कुलर डिजिज सेन्टरका प्रमुख हु सेङसाओले उच्च रक्तचापका बिरामीका लागि चीनमा बर्सेनि करिब चार अर्ब ८८ करोड अमेरिकी डलर खर्च हुने गरेको बताए ।
उच्च रक्तचाप रोकथाम तथा नियन्त्रणसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले चीनमा मृत्यु र अशक्तताको प्रमुख कारकमा रक्तचाप देखिएको बताए । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार उच्च रक्तचाप भएमा त्यसले मुटुमा गम्भीर क्षति पुग्ने, हृदयाघात हुने, मुटुले काम गर्न छाड्ने, मुटुको चाल अनियमित हुने, मिर्गौलामा क्षति पुग्ने तथा मुटुका धमनी फुट्ने वा बन्द हुन्छन् । यी गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हृदयाघात हुने सम्भावना बढी हुन्छ ।