नेप्से साइडवेज मुभमेन्टबाट बाहिरिने सम्भावना : बजारलाई घटेको ब्रोकर कमिसनको थप लाभ

आइतबार, १२ पुष, २०७७
डिजिटल संस्करण

राजनीतिक उथलपुथलका बाबजुद गत साता नेप्से ६ अंकले बढेर रहन सफल भएको छ । बजारको हालसम्मको उचाइनजिक पुगेर भने बजार एकपटक पुनः ओर्लिने क्रममा छ ।

गत साताभरमा कारोबार रकम १५ प्रतिशतले वृद्धि भएर ६१ अर्ब रुपैयाँ पुगेको छ । दैनिक औसत कारोबार रकम ६ अर्ब ९४ करोड छ । समूहगत आधारमा भने बैंक, जीवन बिमा, होटेल समूहमा मात्रै वृद्धि भयो । यी समूह क्रमशः ३ दशमलव ६३, ३ दशमलव ३६ र १ दशमलव शून्य २ प्रतिशतले वृद्धि भएको हो । यो साता नबिल, एनआइसी एसिया र एनसिसी बैंकको मूल्यमा सबैभन्दा धेरै १० देखि करिब २० प्रतिशतले वृद्धि भयो । 

वाणिज्य बैंक समूहमा ४३ प्रतिशतले लगानी बढेको छ । साताभरमा यो समूहमा मात्रै १२ अर्ब रुपैयाँको कारोबार भयो । जीवन बिमामा ३६ प्रतिशत र उत्पादनमूलक समूहमा करिब १२ प्रतिशतले लगानी वृद्धि भएको छ । यी समूहमा क्रमशः ७ अर्ब ४३ करोड र १ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको हो । 

आधारभूत पक्ष 
नेप्से करिब एक महिनाको अन्तरालमा साइडवेज मुभमेन्टमै देखिएको छ, अर्थात् १ हजार ९ सय ३० देखि २ हजार ७१ बिन्दुको रेन्जमा रहेर नेप्से तलमाथि गरेको हो । यस साताबाट धितोपत्र बोर्डले ब्रोकर कमिसनमा ३३ प्रतिशतले कटौती गरेको छ । हुन त अझै पनि सरोकारवालाले यो दरमा चित्त बुझाएका छैनन् । यद्यपि, यसलाई सकारात्मक रूपमै लिएकाले नेप्सेको साइडवेज प्रवृत्तिलाई अन्त्य गर्दै थप बढ्ने सम्भावना उच्च नै छ । नेप्सेको नयाँ उचाइ कायम हुन सक्ने सम्भावना पनि छ । 

तरलताको अवस्था कायमै रहनु, निक्षेप र कर्जाको ब्याजदर न्यून रहनुको लाभले बढ्दो प्रवृत्तिमा रहेको नेप्सेले २ हजार ७१ को बिन्दु तोड्न घट्दो ब्रोकर कमिसन सहायक हुन सक्छ ।

वाणिज्य बैंक समूहमा ४३ प्रतिशतले लगानी बढेको छ । साताभरमा यो समूहमा मात्रै १२ अर्ब रुपैयाँको कारोबार भयो । जीवन बिमामा ३६ प्रतिशत र उत्पादनमूलक समूहमा करिब १२ प्रतिशतले लगानी वृद्धि भएको छ । 

कम्पनीहरूको अन्य आधारभूत पक्षमा भने ठूलो फेरबदल छैन । कम्पनीहरूको लाभांश घोषणा, बुक क्लोजका शृंखला चलिरहेकाले यसको प्रभाव कायम रहनेछ । बदलिँदो राजनीतिक परिस्थितिले बजारलाई धेरै प्रभाव नपारे पनि आर्थिक परिदृश्य सबै सकारात्मक नै भने छैनन् । विभिन्न होटेल व्यवसाय बन्दको बन्दै अवस्थामा छन्, केही व्यवसायीहरूका सम्पत्ति लिलाम हुन लागेका छन् । यसको प्रभाव रहन सक्नेछ । 

यदि निर्वाचन हुने अवस्था आएमा भने बजारमा थप स्रोतहरू भित्रिने सम्भावना छ । लुकेको धन बाहिरिन थाल्ने मात्र नभई संक्रमणकालीन अवस्थामा स्रोतको खोजी कम हुने भएकाले यसको लाभ बजारलाई नै पुग्ने केही लगानीकर्ताको विश्लेषण छ ।

प्राविधिक पक्ष 
नेप्सेको गत साताको मैनबत्ती चित्रले पनि बजारले स्पष्ट दिशा पाउन नसकेको देखाइरहेको छ । अन्तिम दिन रातो मैनबत्ती बनेकाले बजार घट्न सक्ने संकेत गरिरहेको छ । यद्यपि, घट्दो ब्रोकर कमिसनको प्रभाव देखिन बाँकी रहेकाले आइतबारको पहिलो कारोबार हेरेरै निर्णय लिनु सही हुन्छ । 

नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा जोडिने क्रममा आएको छ । यो समय सतर्क हुनुपर्ने भएको छ । अहिलेसम्म ७ दिने रेखा र २१ दिने रेखा नेप्सेभन्दा माथि नै छ । यसले बजार बुलिस नै रहेको संकेत गर्छ । यदि ७ दिने रेखाले अन्य रेखालाई काटेर तल लागेमा भने बजार बियरिस प्रवृत्तिमा जानेछ । 

१४ दिने आरएसआई सूचकले भने नेप्से सन्तुलित क्षेत्र (न्युट्रल जोन)मा नै रहेको संकेत गर्छ । यो स्केल ६० मा छ । स्केलको ५१ बाट बढेर ६० मा पुगेको हो । यसले बजार फेरि बढ्ने क्रममा देखिँदै गएको संकेत गर्छ । 

साताका गतिविधि 
१० प्रतिशत बोनस सेयर घोषणा गरेको नेसनल लाइफ इन्स्योरेन्सले १५ माघमा साधारणसभा घोषणा गरेको छ । २ माघमा कम्पनीको बुक क्लोज हुने भएकाले त्यसअघिसम्म सेयर स्वामित्व हुनेले बोनस सेयर पाउनेछन् । सिर्जना फाइनान्सले १३ दशमलव ५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको छ । 

नेपाल आयल कर्पोरेसनले २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । एभरेस्ट, प्रभु र नेपाल बंगलादेश बैंकको बोनस सेयरका कारण मूल्य समायोजन भएको छ । यी बैंकले क्रमशः ५, १० र ६ प्रतिशत बोनस सेयर दिने भएका हुन् । 

See More On

सुझावित समाचार