विश्वले कोरोना भाइरस महामारी खेपेको एक वर्षभन्दा बढी समय भइसकेको छ । हालसम्म नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या एक हजार सात सय ७७ पुगेको छ । नेपालमा कोभिड संक्रमणको दर घट्दै गए पनि मृत्युदर भने बढिरहेको देखिन्छ ।
सामान्यतः जाडो मौसमको सुरुवातसँगै कोभिड संक्रमण बढ्ने अनुमान गरिएको थियो । तर, स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा संक्रमितको संख्या घटिरहेको देखिन्छ । दिनानुदिन संक्रमितको संख्या घट्नुलाई अधिकांशले परीक्षणको दायरा घटाउनुलाई मुख्य कारण मान्न थालेका छन् ।
संक्रमितको संख्या घट्नुमा परीक्षणको दायरा घटाउनु मात्रै कारण नभई परीक्षण गरिरहेको संख्याको आधारमा पनि संक्रमितको अनुपात घटिरहेको चिकित्सकहरू बताउँछन् । नेसलन मेडिकल कलेजमा कोभिड हेर्दै आएका डा.असरफ हुसेन भन्छन्, ‘सरकारले पछिल्लो समय कोभिड परीक्षण निकै घटाएको कुरा सत्य हो, योसँगै परीक्षणका लागि आफैँ अस्पतालसम्म आउनेको संख्यामा पनि निकै कमी आइरहेको देखिन्छ । तर, अस्पतालहरूले गरिरहेको परीक्षण हेर्दा पजिटिभ प्रतिशत पछिल्लो समय न्यून हँुदै गइरहेको देखिन्छ ।’
संक्रमितको संख्या घट्दै गए पनि सिभिएर कोभिड र मृत्युदर भने तुलनात्मक रूपमा बढिरहेको चिकित्सकहरू बताउँछन् । योसँगै सिभियर कोभिड भएका बिरामीमा कोभिड निको भइसकेपछि पनि शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन असरहरू देखिनु चिन्ताको विषय बन्न थालेको छ । पछिल्लो समय कोभिडका बिरामी हेरिरहेका चिकित्सकको अनुभवका आधारमा कोभिडका कारण गम्भीर स्वास्थ्य समस्या भोगेका व्यक्तिमा फोक्सो, मुटु, मस्तिष्कमा दीर्घकालीन असरहरू देखिन थालेको पाइएको छ ।
सामान्यतः कोभिड तीनवटा चरणमा हुने गर्छ । सुरुको चरणमा संक्रमण हुने गर्छ, जसमा कोभिडका लक्षणहरू देखिन्छन् । दोस्रो चरणमा लक्षणहरूले गम्भीर रूप लिने गर्छन्, खासगरी फोक्सोमा समस्या देखिन्छ, जसलाई चिकित्सकहरूले पल्मोनरी फेज भनेर चिन्छन् । तेस्रो चरण अर्थात् हाइपर इन्फ्लामेटिक अवस्था जटिल अवस्था हो । गम्भीर लक्षण देखिएका बिरामीमा संक्रमण नेगेटिभ देखिए पनि शरीरका अन्य अंगहरू प्रभावित हुन्छन् । खासगरी यो चरणमा फोक्सो, मुटु र दिमागमा असर परिरहेको हुन्छ । यो चरण संक्रमण निको भइसकेको केही समयको अन्तरालमा पनि देखिन सक्छ ।

पोस्ट कोभिड फाइब्रोसिस
मर्स वा सार्स कोभिडको संक्रमणबाट फोक्सोमा प्रत्यक्ष असर पर्ने गर्छ । कतिपय अवस्थामा संक्रमणले फोक्सोमा ठूलो क्षतिसमेत पुर्यारहेको हुन्छ । तर, कोभिड भाइरसको संक्रमणले फोक्सोमा कति प्रतिशत क्षति पुर्याउँछ भन्ने यकिन तथ्यांक छैन । तथापि सिभियर कोभिड भोगेका केही प्रतिशतमा फोक्सोमा समस्या देखिन थालेको छ ।
नेपाल प्रहरी अस्पतालमा कोभिड हेरिरहेका चिकित्सक डा.नवीन रौनियारका अनुसार, संक्रमण निको भएका व्यक्तिहरूमा श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, अक्सिजनको लेभल कम भइरहने, खोकी लाग्नेजस्ता लक्षण देखिने गरेका हुन्छन् ।
गम्भीर बिरामीमा कोभिडका कारण फोक्सोमा भएका दाग निको नभएको, फोक्सोको काम गर्ने क्षमता कमजोर भएको, ब्याक्टेरियल निमोनिया देखिने, श्वास फेर्न गाह्रो भएर अस्पताल लानुपर्ने अवस्था देखिनेजस्ता समस्या देखिन्छन् । उनी भन्छन्, ‘संक्रमण भएर भेन्टिलेटर, आइसियू, प्लाज्मा थेरापी, रेमडेसिभिर आदि प्रयोगमा ल्याइएका व्यक्तिमा सामान्यतः कोभिड निको भइसकेपछि पनि फोक्सोमा समस्या देखिइरहेका छन् । नेपालबाहिर गरिएका केही अध्ययनले कोभिड देखिएकामा दीर्घकालीन समस्या केही समयको अन्तरालमा आफैँ निको हुँदै गइरहेकोसमेत देखाएको पाइन्छ, तर केही प्रतिशतमा कोभिड पल्मोनरी फाइब्रोसिस दीर्घकालीन समस्याको रूपमा देखिएको छ ।’
मुटुमा समस्या
फोक्सोमा मात्र नभई मुटुमा पनि कोभिडको असर देखिएको पाइन्छ । जामा कार्डियोलोजीले गत सेप्टेम्बरमा अमेरिका केही अस्पतालमा रहेका बिरामीमा गरेको अध्ययनअनुसार गम्भीर बिरामी परेका संक्रमितमा मुटुमा दीर्घकालीन समस्या देखिएको थियो ।
अध्ययनमा संक्रमितमा कार्डियाक एमआरआई प्रयोग गरिएको थियो । जसमध्ये कोभिड निको भएका ७८ प्रतिशतमा मुटुुमा विभिन्न असामान्य लक्षण देखिएको संकेत गरेको थियो भने करिब ६० प्रतिशतमा मायोकार्डियल सुजन भइरहेको पाइएको थियो, जसले भविष्यमा मुटुमा विभिन्न खालको समस्या निम्त्याउने गर्छ ।
विश्वभरि कोभिडले मुटुमा पार्न सक्ने असरबारे गरिएका अध्ययनले सिभियर बिरामीमा संक्रमण निको भइसकेपछि असर देखिने पुष्टि गर्छन् । नेपालमा भने यसबारे कुनै विस्तृत तथ्यांक नभए पनि अस्पतालहरूको तथ्यांकको आधारमा मुटुको चालमा गडबडी आउने, हृदयाघातका लक्षण देखिने वा मुत्यु हुने, रक्तसञ्चारमा समस्या देखिने केस प्रशस्त देखिएको बताउछन् डा. रौनियार ।
मनोवैज्ञानिक प्रभाव
हालसम्म कोरोना भाइरसले मानव शरीरमा पार्न सक्ने प्रभावबारे गरिएका अध्ययन र पुष्टि भएका लक्षणमध्ये न्युरोलोजिकल समस्या र मानसिक समस्या पनि अधिकांशमा देखिन थालेको सिडिसीले बताउँदै आएको छ । योसँगै अध्ययनले संक्रमण भएको ९० दिन अर्थात् तीन महिनाको अन्तरालमा करिब २० प्रतिशतमा मानसिक समस्या देखिएको पुष्टि गरिसकेका छन् ।
कोभिडका कारण गम्भीर बिरामी परेका हरेक व्यक्तिमा कुनै न कुनै असरहरू पछिसम्म देखिँदै आएको अध्ययनले देखाउँछ । डा.असरफ हुसेन भन्छन्, ‘हाल म कोभिड निको भएर घर फर्केका करिब डेढ सयजनाको सम्पर्कमा छु, जसमध्ये एकतिहाइले संक्रमण निको भइसकेपछि पनि फोक्सो, मुटु वा न्युरोलोजिकल समस्या देखिइरहेको बताउँछन् । उनीहरूको स्वास्थ्य अवस्था परीक्षण गर्दा पनि अधिकांशमा फोक्सोमा समस्या देखिने गरेको छ । तर, करिब आधा प्रतिशतमा संक्रमणले पारेको मनोवैज्ञानिक प्रभावले बढी समस्या निम्त्याइरहेको जस्तो देखिन्छ ।’
चिकित्सकको अनुभवमा संक्रमितमा देखिने करिब आधा प्रतिशत समस्या उनीहरूको मनोविज्ञानमा निर्भर गरिरहेको छ । कोभिड निको भइसकेपछि पनि म पूर्ण रूपमा निको भएँ भन्ने मनोविज्ञान आधा प्रतिशतमा पनि नभएको जस्तो देखिन्छ भन्छन् डा.हुसेन । सामान्यतः शारीरिक रूपमै समस्या देखिएका व्यक्तिमा यसको असर देखिए पनि कुनै पनि समस्या नभएका व्यक्तिमा पनि कोभिडप्रतिको मनोविज्ञानले स्वास्थ्यमा संकेत असर पु¥याइरहेको चिकित्सकहरू बताउँछन् ।
हुसेन भन्छन्, ‘कोभिडको दीर्घकालीन असरबारेको त्रासले पनि समस्या निम्त्याइरहेको छ । जस्तै, कोभिड निमोनिया निको हुन दुईदेखि तीन हप्ता लाग्न सक्छ । यस्तै फोक्सोमा रहेका दाग निको हुनसमेत केही समय लाग्न सक्छ । हामीले संक्रमणको असरहरू निको हुन समय नै दिइरहेका छैनौँ कि ? संक्रमणको दीर्घकालीन असर हेर्दा यो विषयमा ध्यान दिनु पनि उत्तिकै जरुरी देखिन्छ ।’