सोमबार दिनभरका मुख्य खबर

सोमबार, ६ पुष, २०७७
डिजिटल संस्करण

पूर्वराष्ट्रपति डा. यादव भन्छन्– प्रतिनिधिसभा विघटन असंवैधानिक, सर्वोच्चको ध्यान पुग्नैपर्छ

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले ध्यान दिनुपर्ने बताएका छन् । त्रिविको ४६औँ दीक्षान्त समारोहका प्रमुख अतिथि पूर्वराष्ट्रपति डा. यादवले प्रधानमन्त्रीबाट चालिएको कदम संवैधानिक, राजनीतिक र नैतिक रूपले नमिलेको बताएका हुन् । 

प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भन्दै सर्वोच्चमा ११ रिट दायर

प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको दाबीसहित सर्वोच्च अदालतमा सोमबार ११ वटा रिट दर्ता भएका छन् । ‘प्रतिनिधिसभा विघटनको निर्णयमाथि संवैधानिक प्रश्न उठाउँदै ११ वटा रिट दर्ता भएका छन् । एउटा दर्ता प्रक्रियामा छ, सम्भवतः भोलि दर्ता हुनेछ,’ सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले भने । समग्रमा साधारण रिटतर्फ १० वटा र संवैधानिक इजलासमा पेस गर्ने गरी एउटा रिट दर्ता भएको हो । संवैधानिकतर्फ सन्तोष भण्डारीले र साधारणतर्फ अधिवक्ताहरू कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, अमिता गौतम पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट दर्ता गराएका हुन् । 

सर्वदलीय बैठकको निष्कर्ष : संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक, साझा रूपमा प्रतिकार गर्ने (भिडियोसहित)

कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभाको विघटन गर्ने सरकारको असंवैधानिक कदमको साझा प्रतिकार गर्ने भएका छन् । बैठकले संसद् विघटन गर्ने सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्धमा साझा प्रतिकार गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गौतमको प्रस्टीकरण- म अझै एकताको पक्ष र संसद् भंगको विरुद्धमा छु, पार्टी फुटको साक्षी बस्न कतै जान्नँ  

नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी एकताको पक्ष र संसद् विघटनको विरुद्धमा रहेको बताएका छन् । गौतमले पार्टी फुटको साक्षी बस्न कुनै गुटमा नजाने घोषणासमेत गरेका छन् । वामदेव गौतमले भनेका छन्- मन्त्रिपरिषद्ले संसद् भंग र मध्यावधि निर्वाचनको सिफारिस गरेपछि मैले सम्माननीय राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नुस् भन्न चाहेको थिएँ । तर, उहाँसँग टेलिफोनमा कुरा गर्न सम्भव भएन । ...

दुवैतिरको अतिले पार्टी फुटको दिशातिर गयो, म एकताकै प्रयासमा छु : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दुवैतिरको अतिवादको कारण पार्टी फुटको दिशामा गए पनि आफू अझै एकताकै पक्षमा क्रियाशील रहेको बताएका छन् । मन्त्रीनिवास पुल्चोकमा आफूनिकट दुई दर्जन केन्द्रीय नेताहरूको भेलामा बादलले त्यस्तो बताएका हुन् । उनले देशी–विदेशी प्रतिक्रियावादीहरूले नेकपा विभाजनका लागि कोसिस गर्दै आएकाले प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहले उनीहरूको चाहनालाई पूरा गर्ने गरी पार्टी विभाजन गर्न खोजेको बताएको एक केन्द्रीय सदस्यले बताए । भेलामा उनले प्रधानमन्त्री ओलीलाई अविश्वास प्रस्तावमार्फत हटाउने प्रयास र प्रतिनिधिसभा विघटन गर्ने उनको कदम दुवै बेठीक भएको बताएका थिए ।

प्रधानमन्त्रीले चालेकाे कदम असंवैधानिक छ, अदालतले संसद् पुनर्स्थापना गर्छ : याेगेश भट्टराई

हिजाे मात्रै पदबाट राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीले अलाेकतान्त्रिक कदम चाल्दा देशलाई नै आघात परेकाे बताए । ‘याे राजनीतिक र संवैधानिक दुवै हिसाबले गलत कदम हाे,’ मन्त्री भट्टराईले भने । देश, जनता र लाेकतन्त्रकाे रक्षा सर्वाेच्च अदालतले गर्नेमा विश्वास राख्दै उनले संसद् पुनर्स्थापन हुने दाबीसमेत गरेका छन् । ‘प्रधानमन्त्रीलाई बाध्यात्मक अवस्था आउन सक्छ, तर कानुनभन्दा बाहिर जाने अधिकार छैन,’ मन्त्री भट्टराईले भने ।

बाध्यात्मक परिस्थितिका कारण संसद् विघटन : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसद् विघटनबारे प्रतिक्रिया दिँदै बाध्यात्मक परिस्थितिका कारण कदम चालिएको दाबी गरे । बाध्यात्मक परिस्थितिका कारण भएको संसद् विघटनको प्रभाव प्रदेश तहमा पनि देखिएको उनले बताए । ‘संसद् विघटनको असर प्रदेश तहमा देखिनु स्वाभाविक हो,’ उनले भने, ‘सरकारको कदम गलत वा सहीबारे मैले केही भन्न चाहिनँ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सोचविचार र व्यापक सल्लाह गरेर संसद् विघटनको कदम चालेको दाबी गर्दै मुख्यमन्त्री पौडेलले असंवैधानिक नभएको प्रतिक्रिया दिए । 

प्रचण्डको दाबी : संसद् ज्युँदै छ, सांसदहरू ज्युँदै छौँ

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् ज्युँदै रहेको दाबी गरेका छन् । आफ्नो पक्षका विघटित संसद्को सांसदहरूको भेलामा उनले संसद् विघटन नभएका कारण सांसदहरू ज्युँदै अवस्थामा रहेको बताएका हुन् । उनले २०५१ को अनुभवलाई र त्यसपछिको अभ्यासलाई हेरेर प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने प्रावधान संविधानमा नै राखेको अवस्थामा अहिले प्रधानमन्त्रीले संसद् विघटन गर्नै नसक्ने बताएको स्रोतले जनाएको छ ।

प्रचण्ड–नेपाल पक्षको भेला : वामदेव र रामबहादुर थापा अनुपस्थित

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले संसद् भवनस्थित नयाँ बानेश्वरमा आयोजना गरेको सांसदहरूको बैठकमा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा अनुपस्थित भएका छन् ।भेलाकाे मञ्चमा राखिएका दुईवटा कुर्सी खालीसमेत देखिन्छ । उपाध्यक्ष गौतम प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गरेको सांसदहरूको बैठकमा पनि अनुपस्थित थिए । गृहमन्त्री बादल भने साे भेलामा केहीबेर सहभागी भएर बाहिरिएका थिए ।

प्रचण्ड-नेपाल समूह भेला : नेता नेपाल भन्छन्- संसद् विघटन भएको छैन, हामी मान्दै मान्दैनौँ

नेकपाका नेता माधवकुमार नेपालले संसद् विघटन भएको विषय अस्वीकार गर्ने बताएका छन् । 

प्रचण्ड–नेपाल समूहको भेला सकियो : संसद्को अधिवेशन बोलाउन माग (निर्णयहरूसहित)

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं नेता माधवकुमार नेपाल पक्षको बानेश्वरमा बसेको भेला सकिएको छ । भेलाले संविधानको प्रावधानअनुसार संसद् विघटन हुन नसक्ने भएकाले संसद् विघटन भएको अस्वीकार गर्ने निर्णय गरेको छ । 

सरकारका प्रस्ताव संसद्मा छलफल गर्न नदिएपछि प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री [सम्बोधनको पूर्णपाठसहित]

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा प्रकाशनलगायतका थुप्रै राष्ट्रवादी काम हुँदासमेत सरकारलाई घेराबन्दीमा पारिएकाले प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । 

प्रधानमन्त्रीले भने- साढे चार महिनापछि नयाँ प्रतिनिधिसभा स्थापित भइहाल्छ, लोकतान्त्रिक गणतन्त्र धरापमा पर्छ भन्ने हल्ला निराधार

प्रधानमन्त्री केपी ओलीले अबको साढे चार महिनापछि नयाँ प्रतिनिधिसभा स्थापित हुने दाबी गरेका छन् । उनले देशवासीका नाममा सम्बाेधन गर्दै भने, ‘साढे चार महिनापछि नयाँ प्रतिनिधिसभा स्थापित भइहाल्छ । अस्थिरता देखापर्छ, लोकतान्त्रिक गणतन्त्र धरापमा पर्छ भन्ने हल्ला निराधार छ । कुनै पनि कुरामा अलमल नभईकन चुनावमा केन्द्रित हुन सबैलाई आह्वान गर्छु ।’

प्रधानमन्त्रीको सम्बोधन : संसद् विघटनको परिस्थिति कम्युनिस्ट पार्टीका केही विकृत मानसिकता बाेकेका नेताहरूका कारण सिर्जित भयाे [भिडियाेसहित]

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट पार्टीका केही  विकृत मानसिकता बोकेका नेताहरूका कारण संसद् विघटनजस्तो अवस्था उत्पन्न भएको बताएका छन् । कतिपय नेताहरूको चाहना पद, प्रतिष्ठामा मात्र सीमित बनेकाले राजनीतिक रूपमा प्राप्त स्थिर सरकारलाई घेराबन्दी गरिएको उनले बताए । कार्यविभाजन गरेर एकले सरकार र अर्काेले पार्टी सञ्चालन गर्ने कार्यविभाजन गरिए पनि पार्टी काम फिटिक्कै नभएको, तर सरकारलाई घेराबन्दी मात्र गर्ने काम भएको उनले बताए । उनले प्रश्न गरे, ‘यसबीचमा पार्टी एकता कहाँ पुग्यो, काम के भयो ? तर, सकारलाई घेर्ने काम भने निरन्तर भयो ।’

मलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र रचेपछि विघटनको कदम नचाली सुखै पाइनँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाअभियोग तयारी भएको स्पष्ट देखेपछि बाध्य भएर संसद् विघटनको कदम चालेको जनाएका छन् । आफूनिकटका विघटित सांसदहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् । ओलीले सरकारलाई राम्रोसँग काम गर्न नदिएको, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी गरेको देखिएपछि संसद् विघटनको निर्णय गर्नुपरेको बताएकाे निवर्तमान सांसद निरुदेवी पालले बताइन् । 

नेपालको कम्युनिस्ट इतिहासमा केपी ओलीलाई प्रचण्डले कारबाही गर्ने विषय हास्यास्पद : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कारबाही गर्ने विषय आफैँमा हास्यास्पद विषय भएको बताएका छन् । विघटित संसद्का आफूनिकटका सांसदहरूको बालुवाटारमा आयोजित भेलामा उनले पार्टी एकताअघि हैसियत नै नभएका र आफैँले बढी हैसियत दिएर ल्याएका नेता प्रचण्डले आफूलाई कारबाही गर्ने विषय हास्यास्पद भएको जनाएका हुन् । भेलामा सहभागी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले भेलामा ओलीले भनेका विषय उद्धृत गर्दै भने, ‘पार्टी एकता प्रक्रिया चित्त बुझाउन प्रचण्डलाई अध्यक्ष दिइयो नत्र उनको हैसियत जनमतका हिसाबले उपाध्यक्ष नै हो । त्यसैले उपाध्यक्षले आयोजना गरेको बैठकको कुनै वैधानिक हैसियत हुँदैन । सभामुखले डाकेको संसदीय दलको बैठक पनि हैसियत हुँदैन । संसद् विघटित भइसकेपछि संसदीय दलको बैठक राख्न पाइँदैन । डाके पनि संसदीय दलको नेताले बैठक राख्ने हो ।’ 

छिर्के बाटोबाट होइन, जनताबाट अनुमोदित भएर प्रधानमन्त्री बन्न आउनुहोस् : प्रधानमन्त्री [भिडियाेसहित]

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जसरी पनि प्रधानमन्त्री बन्ने लक्ष्य छोडेर जनताबाट अनुमोदित भएर आउन आग्रह गरेका छन् । देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जसरी पनि छिर्के बाटोबाट प्रधानमन्त्री बन्ने उद्देश्यभन्दा घोषित निर्वाचनमार्फत चुनिएर आउन चुनौती दिएका हुन् । 

सुझावित समाचार