कोरोना भाइरसले जितेको खेलकुद वर्ष २०२०

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस महामारीका रूपमा नफैलिएको भए सन् ०२० को खेलकुद सिजन ब्लक बस्टर नै थियो । यो वर्ष धेरै नै अन्तर्राष्ट्रिय प्रतियोगिताका सेड्युल थिए । प्रत्येक चार वर्ष र दुई वर्षमा आयोजना हुने बृहत् प्रतियोगिता यसै वर्ष परेका थिए । तर, कोरोना भाइरस (कोभिड– १९) का कारण ती कुनै पनि प्रतियोगिता कम्तीमा एक वर्ष धकेलिएका छन् । सबैजसो खेलकुद प्रतियोगितालाई कोरोना भाइरसले जितेको छ । यो वर्ष केवल नियमित प्रिमियर लिग, क्रिकेट सिरिज तथा ग्रान्डस्लाम टेनिस मात्रै भए ।

कोभिड–१९ ले खेल क्षेत्र मात्र होइन, बहुचर्चित कम्पनी तथा खेलाडी पनि संकटमा परे । बजार नपाउँदा कम्पनीले अनुबन्धित खेलाडीसँग पारिश्रमिकसमेत घटाएका छन् । जसले खेलाडीसमेत आर्थिक मारमा परेका छन् । यो वर्ष उनीहरूको आम्दानी घटेको छ, क्लबले आबद्ध खेलाडीको पारिश्रमिक कटौती गरेका छन् । आयोजना एक वर्ष पछि सर्दा आयोजक राष्ट्रले पनि घाटा व्यहोरेका छन् । कोभिड– १९ ले असर गरेका प्रमुख खेल :-

टोकियो ओलम्पिक
प्रत्येक चार वर्षमा ओलम्पिक खेलकुद प्रतियोगिता हुन्छ । यही क्रममा यसपटक (सन् २०२०) ओलम्पिक आयोजना गर्ने जिम्मा जापानले पाएको थियो । जापानले २४ जुलाईदेखि ९ अगस्टसम्म ओलम्पिक आयोजना गर्नुपर्ने थियो । तर, कोरोना भाइरस नियन्त्रणमा नआउँदा आयोजक सहर टोकियोमा ओलम्पिक भएन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले संयुक्त बैठकमा टोकियो ओलम्पिक सन् २०२१ मा गर्ने निर्णय गरेको थियो । आइओसीका अध्यक्ष थोमस वाचले ओलम्पिक प्रतियोगिता जोखिमपूर्ण अवस्थामा सञ्चालन गर्न नसकिने बताएका छन् ।

ओलम्पिकको मिति सार्नुअघि थोमसले जापानी प्रधानमन्त्री सिन्जो आवेसँग यसबारेमा बृहत् छलफल गरेका थिए । यद्यपि, जापानका प्रधानमन्त्री आवेले संक्रमणको समयमा पनि आफू टोकियोमै ओलम्पिक आयोजना गराउन सक्ने दाबी गरेका थिए । जापानमा भएको अत्याधुनिक प्रविधि तथा विश्वस्तरीय चिकित्साको मद्दतमा जापानले ओलम्पिक गर्ने जिद्दी लिएको थियो । 

तर, दशौँ हजार खेलाडी तथा अफिसियलको स्वास्थ्य ध्यानमा राखी आइओसीले यो वर्ष कुनै पनि हालतमा ओलम्पिक हुन नसक्ने घोषणा ग¥यो । आइओसीले स्थगित मितिमै अर्को वर्ष टोकियो ओलिम्पक हुने जनाएको थियो । टोकियो ओलम्पिक आयोजनाको अधिकार प्राप्त पहिलो एसियन सहर हो । यो सहरले यसअघि सन् १९४० मा पनि ओलम्पिक आयोजनाको अधिकार पाएको थियो । तर, छिमेकी चीनसँगको लडाइँका कारण जापानले तत्काल ओलम्पिक आयोजना अधिकार गुमाएको थियो । जापानले ओलम्पिकको एक सय २४ वर्षको इतिहासमा पहिलोपटक आयोजना गर्ने अवसर पाए पनि एक वर्ष पछि सरेको छ । अब यो प्रतियोगिता २३ जुलाईदेखि ८ अगस्ट ०२१ मा हुनेछ । 

फुटबल : युरोकप र कोपा अमेरिका 
युरोपमा सन् २०१९–२० को प्रिमियर लिग दर्शकरहित अवस्थामा सम्पन्न भयो । इटाली, इंग्ल्यान्ड, जर्मनी, स्पेन, पोर्चुगल तथा फ्रान्समा मार्च अघिसम्म प्रिमियर लिग चलेको थियो । तर, कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि दुई महिना लिग रोकियो । पछि दर्शकरहित अवस्थामा लिग सम्पन्न भयो । युरोपमा कोरोना अनियन्त्रित भएपछि यसै वर्ष आयोजना हुनुपर्ने युरोकप समेत स्थगित भयो । युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले २४ राष्ट्र सहभागी हुने युरोकप ०२० प्रतियोगिता ११ जुनदेखि ११ जुलाई ०२१ मा हुने घोषणा गरेको छ ।

पुरुषतर्फको युरोकपसँगै महिलातर्फको पनि प्रतियोगिता अर्को वर्ष हुने भएको छ । युरोकप मात्र होइन, दक्षिण अमेरिकाको चर्चित फुटबल प्रतियोगिता कोपा अमेरिकामा पनि एक वर्षका लागि सारिएको छ । दक्षिण अमेरिका फुटबल महासंघले यो प्रतियोगिता अब अर्को वर्ष १२ जुनदेखि १२ जुलाईसम्म कोलम्बिया तथा अर्जेन्टिनामा हुने भनिएको छ । 

महिला विश्वकप
२३ अप्रिल ०२० मा महिला युरोकप च्याम्पियनसिप हुनुपर्ने थियो । इंग्ल्यान्डमा कोरोना संक्रमित बढेपछि युइएफएले यो प्रतियोगिता दुई वर्षपछि आयोजना गर्ने जनाएको छ । अब यो ६–३१ जुलाई ०२२ मा हुनेछ ।

यससँगै आयोजक इंग्ल्यान्डले प्रतियोगिता स्थल पनि सार्ने भएको छ । यता, फिफाले विश्वकप छनोट सञ्चालन गर्न अनुमति दिए पनि महिला यू–१७ तथा यू–२० विश्वकप फुटबल प्रतियोगित स्थगित नै ग¥यो । भारतमा महिला यू–१७ विश्वकप र कोस्टारिकामा यू–२० विश्वकप आयोजना हुँदै थियो । यी दुवै संस्करण अब सन् ०२२ मा हुने फिफाले जनाएको छ । 

टेनिस
कोरोनाले टेनिस खेलमा पनि असर ग¥यो । यद्यपि, वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा भने दर्शकको उपस्थिति राम्रै रह्यो । जनवरीमा अस्ट्रेलियन ओपन चलिरहँदा कोभिड– १९ को असर त्यति परेको थिएन । यसैकारण यो प्रतियोगितामा समर्थकले मजा लिन पाए । त्यसपछि भएका टेनिस प्रतियोगितामा दर्शकले अनुमति पाएनन् । युरोपमा संक्रमित अनियन्त्रित रूपमा फैलिएको अर्को राष्ट्र इंग्ल्यान्ड हो । यसैकारण ०२० मा यहाँ प्रतिष्ठित टेनिस प्रतियोगिता विम्बल्डन नै भएन । अल इंग्ल्यान्ड क्लबले ०२० मा आयोनजा हुने सबै प्रतियोगिता स्थगित गरेको छ । टेनिसमा बिएनबी, मियामी तथा मोन्टेकार्लाे टेनिस स्थगित नै भए ।

क्रिकेट
कोभिड–१९ महामारीको पाँच महिना क्रिकेट गतिवधि ठप्प भयो । वेस्टइन्डिजले इंग्ल्यान्डको भ्रमण गरेसँगै अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको हो । तर, जहाँ–जहाँ कोभिड– १९ महामारीका रूपमा फैलियो, त्यहाँ खेलकुद गतिविधि पूर्ण रूपले नै ठप्प छन् । अस्ट्रेलियाले यस वर्ष पुरुष टी–२० विश्वकप आयोजना गर्नुपर्ने थियो । यो १८ अक्टोबरदेखि १५ नोभेम्बर ०२० सम्म हुनुपर्ने थियो । अस्ट्रेलियाले यो प्रतियोगिता अब ०२२ मा गर्ने जनाएको छ । अस्ट्रेलियाको मितिमा प्रतियोतिगा आयोजना हुँदा अन्य सिरिज प्रभावित हुने देखिन्छ । यसकारण अब पुरुष टी–२० विश्वकप १७ अक्टोबरदेखि १४ नोभेम्बर ०२१ मा हुनेछ ।

एथलेटिक्स
यसबर्ष टोकियो ओलम्पिकअघि विश्व एथलेटिक्स प्रतियोगिता पनि हुँदै थियो । विश्व एथलेटिक्स महासंघले पनि प्रतियोगिता आयोजना राम्रो तयारी गरेको थियो । टोकियो ओलम्पिक स्थगित भएसँगै विश्व एथलेटिक्स प्रतियोगिता पनि अर्को वर्षका लागि सारिएको छ । अब यो प्रतियोगिता ओरेगनमा ६–१५ अगस्टमा ०२१ मा हुनेछ । 

ब्याडमिन्टन
ब्याडमिन्टनका धेरैजसो मुख्य अन्तर्राष्ट्रिय इभेन्ट चीनमै हुने गरेका छन् । चीनको वुहान सहरमा कोरोना भाइरस देखिएसँगै यस वर्ष चीनमा ब्याडमिन्टनलगायत अन्य खेलकुद प्रतियोगिता नै सञ्चालनमा आएनन् । चीनले ब्याडमिन्टनमा चिनियाँ मास्टर्स स्थगित ग¥यो । यसैगरी हङकङमा हुने एसियन टिम च्याम्पियनसिप स्थगित भयो । जर्मनी ओपन ब्याडमिन्टन पनि भएन भने एसियन च्याम्पियनसिप, इन्डिया, स्विस, मलेसिया तथा सिंगापुर ओपन ब्याडमिन्टन प्रतियोगिता सबै रोकिए । 

–एजेन्सीको सहयोगमा 
 

सुझावित समाचार