सर्लाहीको बलरा नगरपालिकास्थित सोहडवामा मोटरसाइकल र ट्र्याक्टर एक–आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
शुक्रबार राति बलरा नगरपालिका–१ स्थित सेढवा–मोहनपुर भित्री सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकलचालक बलरा नगरपालिका–१ सेढवा बस्ने नाराययण सिंहका १७ वर्षीय छोरा अंकित सिंहको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका सिंहलाई तत्काल उपचारक लागि रौतहट जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलका पछाडि सवार एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बलरा नगरपालिका १ निवासी १७ वर्षीय राजीव सहनी रहेको प्रहरीले जनाएको छ । उनको गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रौतहट र सर्लाहीको सीमासडक हथियौलबाट सेढवा जाँदै गरेको ना ३ त ४०९० नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० जेड ७१४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो ।
मृतक सिंहको शव परीक्षणका लागि जिल्ला अस्तपताल गौरमा राखिएको छ । घटना लगतैै फरार ट्र्याक्टरचालकको खोजी भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।