चार महिनादेखि उपत्यकामा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा ल्याइएको जोर–बिजोर प्रणाली शुक्रबारदेखि हटेको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी र ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायको बैठकले जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
जोर–बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्दा सार्वजनिक सवारीसाधनको संख्या कम भई यात्रीहरूको चाप झन् बढी भएकाले सर्वसाधारण यात्रीको सुविधाका लागि ३ पुस ०७७ बिहानदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाएको उल्लेख गरेको छ ।
बढी संख्यामा सार्वजनिक यातायात सञ्चालन गर्दा कोभिड संक्रमणको जोखिमसमेत कम हुने हुँदा कोभिड संक्रमण अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ को पूर्ण पालना गर्ने गरी सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि २१ साउनदेखि सार्वजनिक तथा निजी सवारीसाधन जोर–बिजोर प्रणालीमा सञ्चालन हुँदै आएका थिए । यात्रु, व्यवसायी तथा मजदुरको हितलाई ध्यानमा राखी सवारीसाधन सञ्चालकहरूले संक्रमण अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७ को पूर्ण पालना गर्ने–गराउने र कार्यान्वयन भए–नभएको सम्बन्धमा ट्राफिक प्रहरीलगायतका निकायले अनुगमन गर्नेछन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड–१९ को प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि मानिसहरूको अत्यधिक भिडभाडलाई कम गर्दै सामाजिक भौतिक दूरी कायम गर्ने उद्देश्यले मन्त्रिपरिषद्को निर्णयअनुसार जोर–बिजोर प्रणालीअनुसार सञ्चालनमा आएको थियो । मापदण्ड पालना नगरी सवारीसाधन सञ्चालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।