विश्वप्रकाश अब टेलिभिजन प्रस्तोता

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

कवि, गीतकार, संगीतकार, कथाकारको समेत परिचय बनाइसकेका कांग्रेस प्रवक्ता शर्मा कार्यक्रम ‘ऐना’ को प्रस्तोता

‘धनीका लागि अदालत पनि अतिथि कक्षजस्तो भयो,’ मञ्चबाट एक किशोरी पात्र बोल्छिन् । रातो प्रकाशको परिधिमा देखिएकी उनले कालोे वस्त्रमा श्वेत पछ्यौरी ओढेकी छिन् । घाँटीमा मफलर छ । त्यो पनि रातो । हेर्दा लाग्छ, उनीहरू त्यही रातो मफलरले अत्याचारी, बलात्कारीको घाँटी कस्न चाहन्छन् । उनीहरूलाई झुन्ड्याउन चाहन्छन् । 

तर, दर्शकदीर्घामा प्रश्न उठ्न सक्छ, ‘के दुई चार त्यस्ता पात्रलाई त्यसो गर्दैमा सबै समस्याको समाधान होला त ?’ उसो भए समस्या कहाँनेर हो ? सायद, हामीले बाँचिरहेको सामाजिक संरचना, त्यसले निर्माण गरेको मनोविज्ञान र त्यही मनोविज्ञानलाई आदर्श मानीहिँड्ने मानिसहरूको झुन्ड ! यही प्रश्न, यस्तै जवाफ र समाधानको खोजीका लागि एउटा टेलिभिजन कार्यक्रमको औपचारिक घोषणा हुँदै छ । कार्यक्रमको न्वारान गरिएको छ, ‘ऐना’ । 

नाटक चलिरहेछ । सुरुवाती चरणमा शिल्पी थिएटरका नाट्यकर्मी घिमिरे युवराजले नाटक बीस मिनेटमा सकिने बताएका थिए । तर, दर्शकहरू निरन्तर हेरिरहन चाहेजस्ता देखिन्छन् । मञ्चअघिको बत्ती निभेको सिटहरूमा आसिन दर्शकहरूको मौनता र एकाग्रताले यही भनिरहेको छ । 

यस्तैमा एक पात्र मञ्चमा आइपुग्छिन् । ‘हे भगवान्, न्याय पनि बिक्री भयो । हे न्याय भगवान् पनि बिक्री भयो ।’ एउटा शान्त, उदास, यातनामय र अन्यायको संघारमा उभिएको तरबारजस्तो विद्रोही यो संवादको जड खोजी गर्न ७ माघदेखि ‘ऐना’ कार्यक्रम कान्तिपुर टेलिभिजनमा आउँदै छ । कार्यक्रमका प्रस्तोता छन्, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा । 
                                                                   .....

दृश्यमा देखिएको नेपाली राजनीतिले भन्छ, ‘तात्कालिक मुद्दामा प्रतिक्रिया जनाइहाल । जनमानसको समर्थन जुटाइहाल । त्यसले सत्तालाई बलियो बनाउँछ या त सत्तामा पुग्न सहज हुन्छ ।’ त्यस्ता प्रतिक्रिया राष्ट्रवादको नाममा देखाइने हात्तीको दाँतजस्तो हुन सक्छ । या हुन सक्छ श्रीमतीलाई शोषण गरेर आमसभामा पुगेर नेताले दिएको अभिव्यक्ति । कुनै महिलालाई यौनदासी बनाएर आदर्शको छाँट दिने राजनीतिज्ञको अभिव्यक्ति पनि हुन सक्छ । तर, आमनागरिक त्यस्ता मान्छेको चारित्रिक विश्लेषण गर्न सक्ने चेतनामा नहुन सक्छन् । उनीहरूलाई नै शाषण गर्न त्यस्ता भाषणहरूको जादू चलाइएको हुन्छ । 

प्रस्तोताको रूपमा देखापर्दै गरेका शर्माको भने यसमाथि फरक अभिव्यक्ति छ । शिल्पी थिएटरको हलमा रित्ता कुर्सीहरू छन् । नाटक सकिएर औपचारिक कार्यक्रम पनि सकिएको छ । एउटा कुनाको कुर्सीमा थुचुक्क बसेका छन् शर्मा । उनी कांग्रेस नेता हुन् । महाधिवेशन आउँदै छ । पार्टीका प्रवक्ता पनि हुन् । मिडियाको दुई–चारवटा फोन पनि उठाइसके । र, भनिसके, ‘विधेयक फिर्ता नगरी प्रतिपक्षी दलका नेता बोलाउनुहुन्छ भने सभापति जानुहुन्न । कुरा यही हो ।’ 

राजनीतिको चटारो एक ठाउँमा छ, तर यस्ता मुद्दा बहसमा र छलफलमा जानुपर्छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रवक्ताको रूपमा राजनीतिक चटारो एउटा ठाउँमा छ । त्यो प्रवक्ताको कुरा हो । तर, प्रस्तोताको रूपमा म विश्वप्रकाश शर्मा मात्र हो । राजनीतिबाट पनि र एउटा नागरिकको तर्फबाट पनि मेरो प्रमुख जिम्मेवारी यही हो । 

प्रधानमन्त्री केपी ओली दोस्रोपटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याइसके । संवैधानिक परिषद्को बैठक राखिसके । यता, शर्मा टिभी कार्यक्रमको औपचारिक घोषणामा व्यस्त थिए । तर, यत्तिका व्यस्तताबीच शर्मालाई समाजको पिँधमा रहेका कुरूप यथार्थहरू टेलिभिजन कार्यक्रममार्फत खोतली हिँड्ने जाँगर किन आयो ? राजनीतिबाटै गरे भइजान्थ्यो नि ! 

                                                             ....

बझाङकी सम्झना बिक बलात्कृत भइन् । त्यसपछि हत्या भयो । उनको शव मन्दिरमा भेटियो । कोही कीर्तिपुरका सडकमै मरेका छन् । कसैलाई आइसोलेसनको नाममा राज्यले बन्दी बनाएर मारिरहेछ । जब कि ऊ मरेपछि रिपोर्ट आउँछ, ‘कोरोना नेगेटिभ रहेछ ।’ कोही जातका कारण भेरी नदीमा बगाइएका छन् । तर, यता राजनीति त्यसैको फाइदा खोजेर बसिहिँडेको छ । 

शर्मालाई पनि राजनीतिक चटारो छ । यता महाधिवेशन, उता प्रवक्ताको भूमिका । यस्ता चटारो सबै नेता चाहे सत्ताका होउन् या प्रतिपक्षका, सबैलाई छ । यही चटारोलाई मात्र केन्द्रमा राखेका कारण नै समाजका गम्भीर विषय, समस्या तथा घटनालाई ठम्याउन, पर्गेल्न र रोक्न नसकेको बताउँछन् उनी । ‘राजनीतिको चटारो एक ठाउँमा छ, तर यस्ता मुद्दा बहसमा र छलफलमा जानुपर्छ,’ आफ्नो कार्यक्रमलाई प्रस्ट्याउँदै शर्मा बोल्छन्, ‘प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रवक्ताको रूपमा राजनीतिक चटारो एउटा ठाउँमा छ । त्यो प्रवक्ताको कुरा हो । तर, प्रस्तोताको रूपमा म विश्वप्रकाश शर्मा मात्र हो । राजनीतिबाट पनि र एउटा नागरिकको तर्फबाट पनि मेरो प्रमुख जिम्मेवारी यही हो । अन्य कुरा तपसिलका हुन् ।’
                                                         ......

एक समय शर्माले रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ चलाएका थिए सम्पादक भएर । कविता लेखे, गीत लेखे । कथा पनि लेखे । शर्मा संगीतकार पनि हुन् । लकडाउनकै समयमा गीत लेखे, संगीत गरे । रेकर्ड गराएर सार्वजनिक गरे । अहिले कार्यक्रम प्रस्तोताका रूपमा काम गर्ने तयारीमा छन् । २६ एपिसोडको कार्यक्रमले सामाजिक मुद्दा प्रखरताका साथ उठाएर आउने दाबी गर्छन् शर्मा । ‘एक कालखण्डमा सामाजिक रूपान्तरणका लागि काम भएका छन् । तर, अहिले आएर समस्या जटिल बनेर गएको छ,’ शर्मा भन्छन्, ‘राजनीतिले ती मुद्दालाई सार्थक र संगठित भएर हस्ताक्षेप गर्दै जति प्रखरताका साथ राख्नुपर्ने हो, त्यो सकेको छैन । बरु दलको भन्दा एनजिओहरूको पो मुद्दा भए कि भन्ने छवि देखिन्छ । त्यसकारण पनि यो कार्यक्रमको तयारी गरेको हो ।’

दि होराइजन मल्टी मिडियाले निर्माण गर्ने कार्यक्रमको प्रमुख राधाकृष्ण धिताल र निर्माता जनक पौडेल छन् । कार्यक्रम निर्देशन अमनप्रताप अधिकारीले गर्नेछन् । लेखक आन्विका गिरीले स्क्रिप्ट लेख्दै छिन् । कवि श्रवण मुकारुङले गीत लेखेका छन् । गायक सुगम पोखरेल र प्रमोद खरेलले गाएका छन् । संगीत मोहित मुनालको छ । अनुसन्धान टिममा भानु बोखिम, महावीर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल छन् । सामाजिक रूपान्तरणको अभ्यासमा अगाडि जाऔँ भन्नका लागि पनि यो कार्यक्रम गरिएको शर्माको दाबी छ । उनका अनुसार यो कार्यक्रम आफैँलाई घचघच्याउने, सच्याउने र परिमार्जित गर्ने ‘ऐना’ पनि हो ।

भन्छन्, ‘कार्यक्रममा विषयवस्तुमा केन्द्रित हुन्छु । राजनीतिभन्दा निरपेक्ष कार्यक्रम हो । खासमा हाम्रो राजनीतिलाई नै घचघच्याउने कार्यक्रम हो ।’ समाजमा भइरहेका अमानवीय घटना, विभेद, अन्याय, अपराध, अपमान, असावधानी, रुढीवादी परम्परा–सोच आदिले किन मान्छेलाई मान्छे बन्न दिइरहेको छैन ? के हो त्यसको जड ? देशका विभिन्न स्थानमा घटनास्थलमै पुगी र पीडित वा सरोकारवालाहरूलाई भेटेर तथा स्टुडियोमा छलफल गरेर यिनै प्रश्नको जवाफ खोज्ने काम कार्यक्रम ‘ऐना’ले गर्नेछ ।

सुझावित समाचार