अस्पतालमा सुत्केरी र बच्चाको मृत्युका घटना बढ्दै, तर न नियमन न कारबाही
घटना–एक
सिरहाको लहान नगरपालिका–३ अस्पतालचोकमा रहेको डिभाइन हेल्थ केयर अस्पतालमा ६ मंसिरको राति सुत्केरी गराउन पुगेकी सुखीपुर नगरपालिका–९ वैशाखा मोहनपुरकी २७ वर्षीया आरतीकुमारी साहको मृत्यु भयो । शल्यक्रिया गरी बच्चा निकालियो । तर, सुत्केरी आमाको ज्यान गयो । साहको मृत्यु भएपछि चिकित्सकहरू एकाएक अस्पतालबाट फरार भए । मृतकका भाइ राजेश साहले शल्यक्रिया कक्षमा बहिनीको शव देखेपछि घटना सार्वजनिक भयो । त्यसपछि पीडित परिवारले अस्पतालमाथि आक्रोश पोखे र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराए । त्यस घटनायता डिभाइन हेल्थकेयर अस्पताल अहिलेसम्म बन्द छ ।
घटना–दुई
लहान नगरपालिका–१ मा रहेको लीलामदन पोलिक्लिनिक एन्ड प्रसूतिगृहमा गत ४ असारमा सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाकी २२ वर्षीया १० दिने सुत्केरी मौसम खातुनको ज्यान गयो । २७ जेठमा एक लाख ४५ हजार रूपैयाँ लिएर अस्पतालले खातुनको शल्यक्रिया गरेको थियो । तर, टाँका फाटेपछि दोस्रोपटक शल्यक्रिया गर्दा खातुनको मृत्यु भएको थियो । आफन्तले भने पैसाको विषयलाई लिएर प्रसूतिगृहले शल्यक्रिया रोकेकाले ज्यान गएको दाबी गर्दै आएको छ ।
घटना–तीन
सप्तऋषि अस्पताल लहानमा १८ पुस ०७६ मा एकै दिन तीन नवजात शिशुको ज्यान गयो । सिरहाको औरही गाउँपालिका–१ दरैहिया गाउँकी प्रमिला यादव, सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुरकी जानकी यादव र सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलीकी संगीता साह प्रसूति गराउन अस्पताल पुगेका थिए । उनीहरूले जन्म दिएका तीनवटै शिशुको सोही रात ज्यान गएको थियो । घटनापछि पीडित परिवार र स्थानीयले प्रदर्शन गर्दै छानबिन र कारबाहीको माग गरे । छानबिन समिति पनि बन्यो र समितिले जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पनि बुझायो । तर, अहिलेसम्म कसैलाई कारबाही भएको छैन । अस्पताल पनि निर्बाध चलिरहेको छ ।
.....
सिरहामा निजी क्षेत्रबाट सञ्चालनमा रहेका पोलिक्लिनिक र अस्पतालहरूमा सुत्केरी र बच्चाको मृत्युका घटना पटक–पटक दोहोरिने गरेको छ । कतिपय पोलिक्लिनिक विनानवीकरण अवैध रूपमा सञ्चालनमा रहेका छन् । तर, कारबाही हुने गरेको छैन ।
डिभाइन हेल्थकेयरमा ६ मंसिरमा भएको घटनापछि तीन सदस्यीय छानबिन समिति बनेको थियो । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका निमित्त प्रमुख कृष्णदेव यादवको संयोजकत्वमा लहान अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सदस्य थिए । समितिले छानबिन गर्दा शल्यक्रिया गर्ने अस्पतालका सञ्चालकसमेत रहेका डा. चन्द्रशेखर यादव इमेलबाटै जवाफ दिएका थिए । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका निमित्त प्रमुखसमेत रहेका छानबिन समितिका संयोजक यादवका अनुसार छानबिनको क्रममा प्रत्यक्ष भेट नगरी सञ्चालकले इमेलबाटै जवाफ फर्काएको बताए । उक्त अस्पताल विनानवीकरण तीन वर्षदेखि सञ्चालनमा रहेको छानबिन समितिले जनाएको छ ।
यता, सप्तऋषि अस्पताल लहानमा गत वर्ष पुस १८ मा औरही गाउँपालिका–१ दरैहिया गाउँकी प्रमिला यादव, सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुरकी जानकी यादव र सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलीकी संगीता साहले जन्माएका शिशुको एकै रातमा मृत्यु भएपछि घटना छानबिन गर्न इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो ।
समितिले अस्पतालको चरम लापरवाहीले तीनैजना शिशुको मृत्यु भएकोे निष्कर्षसहितको प्रतिवेदन तत्कालीन सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई बुझाएको थियो ।
सुत्केरी गराउन पुगेकाहरूको शल्यक्रिया गरेका चिकित्सक डा. सुनील बिराजी मेडिकल काउन्सिलको जाँच पास नगरेको छानबिनमा भेटिएको थियो । एनएमसी पास नगरेका चिकित्सकले शल्यक्रिया गरेको र अस्पतालका डाक्टर रञ्जिता जैसवाल बिदामा रहेको पुष्टि भएको थियो । जैसवाल आफू बिदामा बसे पनि शल्यक्रिया गरेको फाइलमा हस्ताक्षर गरेको छानबिन समितिले फेला पारेको थियो । उक्त घटनामा प्रशासनले के कारबाही ग¥यो, त्यसको कुनै जानकारी सार्वजनिक गरेको छैन ।
नवीकरणविनै सञ्चालनमा
स्थानीय तहले नियमित अनुगमन निगरानी गर्न नसक्दा जिल्लामा अधिकांश क्षेत्रमा अवैध रूपमा निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेका छन् । गोलबजार नगरक्षेत्रभित्र दर्जनभन्दा बढी अस्पताल र पोलिक्लिनिकहरू दर्ताविना सञ्चालनमा रहेका छन् । १० वटा निजी स्वास्थ्य संस्था विनादर्ता र ८ वटा नवीकरण नगराई सञ्चालनमा रहेको गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पञ्जियारले बताए ।
लहान नगरक्षेत्रभित्र कति नीति क्षेत्रको अस्पताल, पोलिक्लिनिक रहेको यकिन तथ्यांक नभएको भन्दै स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले १८–१९ वटाको लिस्ट तयार गरिएको र अनुगमन गरिने बताए ।
यता, प्रसूति गराउने डिभाइन अस्पतालको नवीकरण तीन वर्षदेखि हुन सकेको छैन । वर्षौंदेखि नवीकरण नगरी अवैध रूपमा निजी अस्पताल र पोलिक्लिनिकहरू सञ्चालन गरिँदै आएको र रोगीका आफन्तजनसँग रकम असुल्ने गरेको नागरिक अगुवा जितेश कर्णले बताए ।
उपचारको नाममा लापरवाही गर्ने अस्पताल र पोलिक्लिनिकहरूविरुद्ध कानुनी कारबाही नहुँदा बधशालाको रूपमा परिणत भएको नागरिक अगुवा कर्णले भने, ‘सिरहामा विभिन्न ठाउँमा अवैध ढंगले सञ्चालित अस्पताल र पोलिक्लिनिकहरूको ठूल्ठूला बोर्डले बिरामीलाई झुक्याउने र ठगीको सिकार बनाउँदै आएको छ ।’
सुविधासम्पन्न इमर्जेन्सी सेवा, डिजिटल एक्सरे, प्रयोगशाला, विशेषज्ञ सेवाको नाममा सिकिस्त रोगीहरूलाई ठग्दै आएको आफूसँग धेरैको जानकारी भएको स्थानीय मनोज मण्डलले बताए ।
आर्थिक लेनदेनमा सहमति र सञ्चालन
सिरहा जिल्लामा अवैध रूपमा पोलिक्लिनिकहरू सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका पोलिक्लिनिक बन्द गराउन स्थानीय सरकारले कुनै पहल गरेको छैन । जसका कारण गाउँ देहातबाट आइपुग्ने रोगीहरूलाई चर्को रकम असुल्ने र चिकित्सकको लापरवाहीले मृत्यु हुनेसम्मका घटना हुँदै आएको बरियारपट्टी गाउँपालिकाका स्थानीय अगुवा रामकिशोर यादवले बताए ।
मृत्युका घटना भएसँगै पीडित परिवारले अस्पतालमा तोडफोड गर्ने, प्रहरीले बल प्रयोग गर्ने र अन्तिममा कानुनी कारबाहीविनै दुई पक्षबीचको लेनदेनमा घटना टुंगिने गरेको यादवको दाबी छ । पीडित पक्षलाई अस्पतालले क्षतिपूर्ति तिर्ने सहमति गरेपछि कानुनी कारबाहीबाट उम्किने गरेको र त्यस्ता अस्पतालहरू पुनः सञ्चालनमा आउने गरेको यादवले बताए ।
जिल्लामा सञ्चालनमा रहेका पोलिक्लिनिक र निजी अस्पताललाई स्थानीय सरकारले निगरानी गर्नुपर्ने अधिकार छ । स्थानीय तहले २५ शय्यासम्मका अस्पतालको नियमन गर्न पाइने प्राबधान रहेको छ । स्थानीय तहमा रहेको स्वास्थ्य शाखाले नियमित रूपमा सरकारी र निजी क्षेत्रका अस्पतालको नियमन गर्ने कामबाट पन्छिएको छ ।
यसअघि जिल्ला स्वास्थ्य कार्यालय सिरहाले अनुगमन निगरानी गर्दै आएकोमा अहिले त्यसो गर्न छाडेको छ । स्थानीय क्षेत्रको अधिकार क्षेत्र भएकाले आफूहरूले नियमित निगरानी गर्न नसकेको जिल्ला स्वास्थ्य निमित्त प्रमुख यादवले बताए ।
सिरहाका प्रमख जिल्ला अधिकारी प्रदीपराज कँडेलले निजी क्षेत्रका विभिन्न अस्पतालमा प्रसूतिको मृत्युका घटनाको छानबिन सम्पन्न भएको र मेडिकल काउन्सिलको निर्णयअनुसार कारबाही प्रक्रिया अगाडि बढ्ने बताए ।