मंगलबार दिनभर

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सर्वत्र आलोचना : कसले के भने ?

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सर्वत्र आलोचना भएको छ । सत्तारुढ र विपक्षी दलका नेताका साथै संविधानविद्ले समेत अध्यादेशको विरोध गरेका छन् । यद्यपि बालुवाटारले भने सभामुखका कारण अध्यादेश ल्याउन प्रधानमन्त्री केपी ओली बाध्य भएको स्पष्टीकरण दिएको छ । सभामुख अग्नि सापकोटाले पनि बैठकमा उपस्थित नहुनुको कारण स्पष्ट पारेका छन् ।

उखु किसानको आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता, प्रवक्ता शर्मा भन्छन्, ‘भोट चिन्ने, अनुहार नचिन्ने ?’

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उखु किसानको आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता रहेको बताएका छन् । उनले उखु किसानलाई चिन्न, उनीहरूको स्वर सुन्न र मूल्य तिराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारका मन्त्रीले नै आन्दोलनरत किसानलाई बिचौलिया भनेर अभिव्यक्ति दिएपछि प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘हिजो यिनको भोट चिन्ने, आज यिनको अनुहार नचिन्ने ? उद्योगीले मूल्य तिर्न ढिलाइ गर्दा दबाब दिनुपर्ने सरकारको बोली लर्बरिने ?’ 

शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द

सल्यानको कपुरकोट गाउँपालिका– ४ किमुचौरस्थित नेपाल राष्ट्रिय माविका आठजना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाबाट समुदायमा संक्रमण फैलिन सक्ने भन्दै मंसिर २८ गतेदेखि पुस १० गतेसम्मका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । मंसिर ७ गतेदेखि विद्यालय सञ्चालनमा आएको जानकारी दिँदै विद्यालयका निमित्त प्रधानाध्यापक डिल्लीकुमार डाँगीले १८ शिक्षकमध्ये प्रधानाध्यापकलगायत आठजना शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द गरेको बताए । 

भारतबाट ट्रयाक्टर पनि तस्करी

उपभोग्य मालवस्तु भन्सार छली गरेर तस्करी हुँदै आएको मोरङको नेपाल–भारत सीमा क्षेत्रमा यातायातको साधन ट्रयाक्टर पनि तस्करी हुने गरेको पाइएको छ । भन्सार छली भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको अनटेस्ट लेखेको सोनालिका कम्पनीको नयाँ ट्रयाक्टर मोरङको सुनबर्सी नगरपालिका– ७ गुद्रीचाेकबाट सोमबार  प्रहरीले पक्राउ गरेपछि यातायातको साधन ट्रयाक्टर पनि चोरी तस्करी हुने गरेको खुलेको हो । 

हाल बन्द रहेको भारत र चीनसँगको सीमा बन्द नै राख्ने सरकारको निर्णय

सरकारले कोरोना महामारीपछि बन्द गरेको भारत र चीनसँगको सीमालाई अझै बन्द राख्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बन्द रहेको सीमालाई अझै बन्द अवस्थामा नै राख्ने निर्णय गरेको हो । एक मन्त्रीले कोरोनाको अवस्थालाई विचार गरेर सीमा अझै बन्द नै राख्ने निर्णय गरिएको बताए । 

कोरोना महामारीको असर : अमेरिकामै बढ्यो भोकमरी

कार्ला क्यान्डेलारिया र उनका श्रीमानले आफ्ना नानीहरूलाई खाना खुवाउन फुड बैंकमा निर्भर हुनुपर्ला भनेर कहिल्यै सोचेका थिएनन् । भर्जिनियास्थित लउडउनमा बस्ने ३० वर्षीया कार्ला र उनका श्रीमान् दुवैसँग जागिर थियो । दुवैजनाको तलबबापत आउने रकमले परिवारलाई राम्रोसँग पुगेको थियो । कार्ला एउटा केयर सेन्टरमा काम गर्थिन् । उनका श्रीमान् निर्माण सेवामा कार्यरत थिए । दुवैजनाको तलबबाट परिवार राम्रोसँग चलेको थियो । तर, गत जुन अन्तिममा कार्लाले जागिर गुमाइन् । उनी भन्छिन्, ‘त्यसपछि एकाएक सबै कुरा परिवर्तन भयो । खानाका लागि फुड बैंकमा निर्भर हुनुपर्ने अवस्था आयो ।’ नियमित भइरहेको आम्दानी घटेपछि उनलाई परिवार धान्न मुस्किल बन्यो । उनीहरूका ११ वर्षीय, नौ वर्षीय र चार वर्षीय जुम्लिया गरी चार छोरा छन् । उनीहरूको रेखदेखका लागि समेत खर्च गर्नुपर्दा परिवारमा ठूलो आर्थिक संकट परेको छ ।

कोरोना मिटर : १९९६ निको भए, ९३६ मा संक्रमण

पछिल्लो २४ घन्टामा १९ सय ९६ जना कोरोना संक्रमितले कोरोनामाथि विजय पाएका छन् । यही समयमा नाै सय ३६ जनामा भने कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म देशमा दुई लाख ५० हजार एक सय ८० जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये दुई लाख ३८ हजार पाँच सय ६९ जनामा कोरोना निको भएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको निधन भएको छ । योसँगै देशमा कोरोनाबाट निधन हुनेको संख्या १७ सय ३० पुगेको छ ।

‘विश्वमा ६ प्रकारका कोभिड भाइरस, हरेकको लक्षण छुट्टाछुट्टै’

लन्डनमा कोभिड भाइरसको नयाँ संस्करण पत्ता लागेको छ । एक हजारभन्दा बढी केस देखिएको लन्डनमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पहिले नै कोभिडबारे नयाँ किसिमको जानकारी दिएको थियो । कोभिड भाइरसका विभिन्न प्रकारअनुसार शरीरमा भिन्नभिन्न प्रभाव पारे पनि अन्यभन्दा पछिल्लो समय पत्ता लागेको भाइरसले गम्भीर समस्या निम्त्याउने सम्भावना नरहेको डब्ल्युएचओले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १६ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । तर, हालसम्म यस भाइरसको प्रकृतिबारे पूर्ण रूपमा जानकारी भेटिइसकेको छैन । विश्वभरका वैज्ञानिक र चिकित्सकहरूले यस भाइरसको प्रकृतिबारे गहिरो अध्ययन गरिरहेका छन् । बेलायतका वैज्ञानिकहरूले हालसालै प्रकाशित गरेको एक अध्ययनअनुसार विश्वमा देखिएका फरक लक्षणका आधारमा ६ किसिमका कोरोना भाइरस छन् । जुन प्रत्येक भाइरसको संक्रमणबाट मानव शरीरमा फरकफरक लक्षण देखिन्छ । 

इलेक्टोरल कलेज भोटिङमा पनि बाइडेनकै जित, ट्रम्पले अझै हार स्विकारेनन्

डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकी राष्ट्रपति बन्ने पक्का भएको छ । सोमबार सम्पन्न इलेक्टोरल कलेज भोटिङमा पनि सर्वाधिक तीन सय ६ मत प्राप्त गरेसँगै बाइडेन आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपति बन्ने पक्का भएको हो । यसअघि ३ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बाइडेनले डोनाल्ड ट्रम्पलाई हराएका थिए । इलेक्टोरल भोटिङमा भने राष्ट्रपति ट्रम्पले दुई सय ३२ मत मात्रै प्राप्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन दुई सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । अब बाइडेन राष्ट्रपति पदमा निर्वाचत भएको घोषणा ६ जनवरीमा हुनेछ । 

कोभिडका नाममा निजी अस्पतालको ठगी रोकिएन, नन्कोभिड बिरामीसँग १० प्रतिशत थप शुल्क

काठमाडौं कलंकी बस्ने सनी खातुन (६२ वर्ष)लाई परिवारले उपचारका लागि १८ मंसिरमा थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल पु¥यायो । ग्यास्ट्रोइन्टेस्टाइनल (जिआइ) सर्जरी टिमको सिफारिसका आधारमा रगतलगायत जाँचका क्रममा उनको बिल उठ्यो, ११ हजार पाँच सय ६७ रुपैयाँ । तर, त्यसमा एक हजार ५२ रुपैयाँ अतिरिक्त शुल्क पनि सामेल थियो । ‘कोभिड इन्फेक्सन कन्ट्रोल चार्ज’ शीर्षकमा उक्त रकम जोडिएको थियो । जब कि, उनको बिमारी कोभिड–१९ सँग सम्बन्धित थिएन । कोभिड–१९ महामारीको बहानामा निजी अस्पतालहरूले सुरु गरेको नयाँ प्रकारको ठगी हो यो । र, नन्–कोभिड बिरामीसँग कोभिड नियन्त्रण शुल्क असुल्ने नयाँ शैली अस्पतालहरूले सुरु गरेको एक प्रमाण पनि हो ।

सुझावित समाचार