पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : रिठेपानी डाँडा कटानका लागि प्रक्रिया अघि बढाइयो

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन सुरु भएको छ । 

विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) सुरु गरेको हो । वनमा रहेका ६ सयवटा रूख कटान गर्नुपर्ने देखिएको वन कार्यालयले बताएको छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डअनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ । सोहीअनुसार रिठेपानी डाँडा पनि ४० मिटर कटान गर्नुपर्ने देखिएको छ । 

विमानस्थलको अनुरोधमा ६ सयवटा रूख हटाउन नम्बरिङ गर्ने काम भइसकेको छ । तर, वनसम्बन्धी कार्यविधिअनुसार विमानस्थलले एक रूखबराबर २५ रुख हुर्काएर वन विभागलाई जिम्मा लगाउनुपर्ने व्यवस्था छ । 

सोहीअनुसार विमानस्थलले नयाँ ठाउँमा जग्गा प्राप्ति गरी उपलब्ध गराएपछि डाँडा कटान सुरु गर्न स्वीकृति दिइने डिभिजन वन कार्यालय पोखराका प्रमुख केदार बरालले बताए । 

ठूला विकासका आयोजनाका नाममा वन विनाशलाई नियन्त्रण नगर्दा वन मासिँदै गएको वन संरक्षणकर्मी राजु आचार्यले बताए । 

आयोजना निर्माण हुँदा एक रूखबराबर २५ बिरुवा हुर्काएपछि मात्र वन कटान सुरु गरिनुपर्ने उनको भनाइ छ । 

विकासको नाममा कुनै पनि आयोजनाले एकवटा रूख विनाश गरेबापत २५ वटा रूख हुर्काउनुपर्ने हुन्छ । 

तर, विमानस्थलको निर्माण कार्य सम्पन्न हुनै लाग्दासमेत जग्गा प्राप्ति गरी बिरुवा हुर्काउने प्रक्रिया अगाडि नबढ्नुले रिठेपानी डाँडा कटान हुने कार्य प्रभावित हुने देखिएको छ ।

सुझावित समाचार