प्रधानमन्त्रीको गृहजिल्लामा अलपत्र पुलको अनुगमनमा भौतिक पूर्वाधारमन्त्री

‘आफ्नै आँखैले देखियो, जनताले गुनासो त गरेको ठिकै रहेछ’

आइतबार, २७ मंसिर, २०७७
डिजिटल संस्करण

अलपत्र पुल र जनताको दुःखको विषयमा नयाँ पत्रिकाले १९ मंसिरमा मुख्य समाचार छापेको थियो

......

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले हुलाकी राजमार्गअन्तर्गत एक दशकदेखि अलपत्र झापाका तीन ठूला पुलको शनिबार निरीक्षण गरेका छन् । मन्त्रालयका सचिवदेखि हुलाकी राजमार्ग र सडक विभागका अधिकारीसहितको टोलीको नेतृत्व गर्दै अनुगमन गरेपछि उनले भने, ‘आफ्नै आँखैले देखियो, जनताले गुनासो त गरेको ठिकै रहेछ ।’

प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा वर्षौँदेखि अलपत्र परेका माई, रतुवा र बिरिङ खोलामा अलपत्र पुलबारे गत शुक्रबार नयाँ पत्रिकाले ‘उद्घाटनको प्रतीक्षामा प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । समाचार आएपछि मन्त्री नेम्वाङले सम्बन्धित निकायका अधिकारीसहित स्थलगत निरीक्षण गरेका हुन् । 

अलपत्र पुलको अनुगमन गर्न आएका भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ सवार गाडी बिरिङ नदी पार गर्दै

निरीक्षणपछि मन्त्री नेम्वाङले जनताले गुनासो गरेजस्तै निर्माणाधीन पुलहरू अलपत्र अवस्थामा रहेको पाएको बताए । ‘हुलाकी राजमार्गअन्तर्गत मुख्यतः तीन पुलको अवस्था हामीले निरीक्षण र अनुगमन ग¥यौँ । यी पुलको अवस्था जनताले गुनासो गरेकोजस्तै अलपत्र छ । यो हाम्रै आँखाले हे¥यौँ,’ उनले भने । 

मन्त्री नेम्वाङले मातहतका निकाय र पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो काम सक्न निर्देशन पनि दिए । ‘यहाँ हामी मन्त्रालयका सचिव, हुलाकी राजमार्गका महानिर्देशकदेखि सडक विभागसम्मका सबै प्रतिनिधि छौँ । अब यस्तो सुस्त गतिमा काम गरेर हुँदैन,’ मन्त्री नेम्वाङको निर्देशन थियो, ‘कार्ययोजना बनाएर द्रुत गतिमा काम गर्नुहोस् । तीन सिफ्टसम्म काम गरेर भए पनि छिटोभन्दा छिटो काम सक्नुहोस् ।’ मन्त्रीको अनुगमन टोलीमा मन्त्रालयका सचिव, हुलाकी राजमार्गका महानिर्देशकदेखि सडक विभागका प्रतिनिधिलगायत अधिकारी थिए ।

झापाको गौरीगञ्ज र मोरङको रतुवामाई नगरपालिका जोड्ने रतुवा पुल । जहाँ १३ वर्षअघि निर्माण सुरु भएको पक्की पुल अलपत्र छ । जसका कारण यात्रुले बर्षामा डुंगा र हिउँदमा बाँसको पुलबाट पैसा तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रअन्तर्गत गौरीगन्ज र मोरङको रतुवामाई जोड्ने रतुवाखोलाको पुल १३ वर्षदेखि अलपत्र छ । मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष ०६४÷६५ मा कालिका–ओसिए जेभीलाई निर्माणको ठेक्का दिएको थियो । भ्याटसहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पाएको निर्माण कम्पनीले ढुकुटीबाट पैसा लिए पनि अधुरो पुल बनाएर हिँडेको छ । ठेकेदार कम्पनीले पुल निर्माण सम्पन्न भएको भन्दै सरकारको जिम्मा लगाए पनि पुलको लम्बाइ खोलाको चौडाइभन्दा कम भएपछि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । खोलाको चौडाइ चार सय मिटर छ, जब कि पुल दुई सय पाँँच मिटर मात्रै बनाइएको छ ।

त्यस्तै, कन्काई माईको पुल पनि लामो समयदेखि अलपत्र छ । सुरु गरेको आठ वर्ष बित्दा पनि निर्माण कम्पनीले काम सकेको छैन । पुलको पिल्लर लगाउनेबाहेक केही पनि काम भएको छैन । हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज र झापा गाउँपालिका जोड्ने यो पुल चार वर्षभित्र सक्ने गरी ०६८ जेठमा पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले ३४ करोडमा ठेक्का लिएका थिए । महादेव खिम्ती निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको हो । तर, अहिले पुल निर्माण अलपत्र छाडेका छन् । 

झापाको अर्को ठूलो नदी बिरिङमा निर्माणाधीन पुलको पनि उस्तै हालत छ । तीन सय १९ मिटर लामो पुल निर्माण सुरु भएको एक दशक हुनै लाग्यो । तर, पिल्लर ठड्याउनेबाहेक केही काम हुन सकेको छैन । यो पुल निर्माण गर्न ०६८ वैशाखमा लामा÷मैनाचुली जेभीले १५ करोड ५० लाख ५८ हजारमा ठेक्का लिएको थियो । मैनाचुली कन्स्ट्रक्सन दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका श्रीमान् मदन अधिकारीको हो । उनी प्रधानमन्त्री ओलीसँग पहँुच भएका निर्माण व्यवसायी हुन् । ०७३ पुसमा सम्पन्न गर्नुपर्ने यो पुल अहिलेसम्म अलपत्र छ ।

यी तीन ठूला नदी वारपार गर्न नागरिकले बर्खामा डुंगामा दुई सय रुपैयाँसम्म तिर्नुपर्छ । हिउँदमा बाँसको पुलबाट तर्छन्, तर त्यसको पनि मान्छे मात्रै गएको २०, साइकलसहित ३० र मोटरसाइकलसहित ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । हुलाकी राजमार्गअन्तर्गत झापामा मात्र आठ पुल अलपत्र छन् । तर, मन्त्री नेम्वाङले भने तीन ठूला पुलको मात्र निरीक्षण गरेका हुन् । 

लामो समयसम्म पुल नबनेको समाचार आएपछि मन्त्री नेम्वाङ शनिबार साँझ झापा आइपुगे । र, साँझ अबेरसम्म प्रमुख तीन पुलको अवलोकन गरे । भद्रपुर विमानस्थलबाट हुलाकी राजमार्ग हुँदै उनी बिरिङ नदीसम्म आए । उनी सवार गाडी बिरिङ नदीबाटै पार ग¥यो । तर, जिल्लाकै ठूलो माई नदी पार गर्न नसकेपछि मन्त्री नेम्वाङ झापा गाउँपालिका हुँदै पूर्व–पश्चिम राजमार्गमा आएर रतुवाको पुल निरीक्षणमा गएका थिए ।

सुझावित समाचार