कोरोनाविरुद्धको खोप ल्याउने पहल गर्न सरकारलाई कांग्रेसको आग्रह

शनिबार, २७ मंसिर, २०७७
डिजिटल संस्करण

कांग्रेसले कोभिड–१९ विरुद्धको खोप यथाशीघ्र ल्याउने गरी पहल गर्न सरकारलाई आग्रह गरेको छ । 

कांग्रेसको केन्द्रीय संगठन विभागको बैठकले महामारीको नियन्त्रण र न्यूनीकरणमा सरकारी प्रयास असफल भइरहेको निष्कर्ष निकाल्दै खोप ल्याउने विषयमा समेत कमिसनको खेलमा नलाग्न सचेत गराएको छ ।

‘यस्तो महामारीका वेलासमेत स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको छ, अब खोपमा पनि सोहीक्रम नदोहोरियोस्, सरकारले समयमै खोप ल्याउन पहल गरोस्,’ विभागका प्रमुख गोपालमान श्रेष्ठले भने । 

विभागले २९ मंसिरमा कांग्रेसले देशैभरि गर्न लागेको सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी बनाउन कार्यकर्तालाई निर्देशन गरेको छ । ‘कोरोनाविरुद्धको अभियानको अव्यवस्था, भ्रष्टाचार र विभेदकारी नीति तथा दमनका विरुद्ध कार्यकर्तालाई मात्रै हैन, आमनागरिकलाई सडकमा उत्रिन आग्रह गरेका छौँ,’ नेता श्रेष्ठले भने ।

यस्तै, मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको जघन्य हत्याको घटनाका दोषीलाई कडा कारबाही गर्नसमेत सरकारसँग माग गरेको छ । 

विभागले शान्ति सुरक्षाको प्रबन्ध मिलाउनसमेत सरकार असफल भएको निष्कर्ष निकालेको छ । 

‘जताततै सरकारको अकर्मण्यता झल्किएको छ, त्यसैले कांग्रेसले अब सरकारका विरुद्धमा आवाज दिनुपर्छ, अब २९ गते एक दिन मात्रै हैन, पार्टीको महाधिवेशनको तयारीलाईसमेत ध्यानमा राख्दै निरन्तर विरोध र ध्यानाकर्षण गराउने काम गर्नुपर्छ भनेर पार्टीलाईसमेत सुझाब दिएका छौँ,’ नेता श्रेष्ठले भने । 

सुझावित समाचार