रुपन्देहीमा बढ्यो वन्यजन्तुदेखि गोरु तस्करी

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

रुपन्देहीमा वन्यजन्तुदेखि गोरु तस्करी बढेको छ । प्रहरीले सक्रियता बढाएसँगै तस्करहरू पनि धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्ला दिनमा दैनिकजसो गोरुसहित तस्करीमा संलग्न पक्राउ परेका हुन् । 

वन्यजन्तु तस्करहरू पनि रुपन्देहीमा एकपछि अर्को गर्दै पक्राउ पर्न थालेका छन् । यही क्रममा गत मंगलबार ५५ वटा गोरुसहित ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका– ११ शंकरपुरमा जिप्रका रुपन्देही र इलाका प्रहरी कार्यालय धकधई रूपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एउटा ट्रकमा २७ वटा गोरु फेला परेका थिए । 

ना.६ख ३८६१ नम्बरको ट्रकमा अवैध रूपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको २७ वटा गोरु, ट्रकचालक र सहचालकसमेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन चेकपोस्ट बेलहिया भैरहवा पठाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हाँडीखोला ७ बस्ने ४२ वर्षको अम्बरबहादुर घिमिरे र रूपन्देहीको रोहिनी ६ बस्ने वर्ष १९ को सदीप खान रहेका छन् । 

मंगलबार नै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ लोखडिया पश्चिमस्थित पश्चिमबाट पूर्वतर्फ अवैध रूपमा लैजाँदै गरेका गोरु प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको छ । जिप्रकाका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा लु.१ख ९८९५ नम्बरको ट्रकमा २८ वटा गोरु फेला पारी ५ जना मानिससहित नियन्त्रणमा लिई अन्य आवश्यक अनुसन्धान र कारबाहीका लागि पशु क्वारेन्टिन चेकपोस्ट बेलहिया भैरहवा रुपन्देही पठाइएको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ कोलाघाट बस्ने चालक वर्ष ३२ को गणेशबहादुर सुनार, सोही ठाउँ बस्ने सहचालक वर्ष १७ को वीरेन्द्र सुनार, नवलपरासी सुनवल नगरपालिका वडा नम्बर १ डाडाटोल बस्ने सहचालक वर्ष १७ को भीमबहादुर विक, कपिलवस्तु सुद्धोधन २ बस्ने कामदार वर्ष ५० को इवारत मुसलवान, सोही ठाउँ बस्ने अर्का कामदार वर्ष ३० को मिट्ठु मुसलवान रहेका छन् । प्रहरीले सोमबार रुपन्देहीको देवदह नगरपालिका १० भलुहीबाट बिनासहित तीनजना पक्राउ गरेको थियो । 

सोमबार नै प्रहरीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ६ तेनुहवाबाट प्रहरीले ३० वटा गोरुसहित ट्रक र दुईजनालाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिम जाँदै गरेको ना.७ख १८३३ न.को ट्रक ३० वटा गोरुसहित प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन चेकपोस्ट बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ३१ को ट्रकचालक खान मफिजुल अली र सहचालक मुस्थफा अलीलाई पक्राउ गरेको छ । त्यस्तै गत शुक्रबार राति बुटवलस्थित मुख्य राजमार्गबाट ५ वटा ट्रकमा १ सय २१ वटा गोरु प्रहरीले बरामद गरेको थियो । यसअघि आइतबार मात्रै बुटवलमा खाग तस्करले प्रहरीको पेस्तोल खोसेर गोली चलाएका थिए भने प्रहरीले खागसहित तस्करहरूलाई पक्राउ गरेको थियो । 

सुझावित समाचार