फोर्डको इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमै पाइने

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण

फोर्ड गाडीका लागि नेपालको आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ खुला गरेको छ । कम्पनीले नयाँ मोडल २०२१ का लागि २०२० को मूल्यमा नै बुकिङ खुला गरेको हो । 

मोडल २०२० का सम्पूर्ण गाडी बिक्री भइसकेकाले सीमित समयका लागि नयाँ मोडेल २०२१ पुरानै मूल्यमा दिन लागिएको कम्पनीले जनाएको छ । यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिष्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीको मन जितेको कम्पनीको दाबी छ । यसले लगातार नयाँ सुविधाहरू र प्रविधिहरूका साथ आफ्नो श्रेणी–सेगमेन्ट नै पुनः परिभाषित गर्दै आएको जनाइएको छ । 

२०२१ संस्करण इकोस्पोर्ट भारत स्टेज भिआईमा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण  मूल्यमा बुकिङ खुला गरिएको कम्पनीको भनाइ छ । यो गाडी ड्राइभिङका लागि रमाइलो, शक्तिशाली र पेट्रोल–डिजेल इन्जिनका लागि विशिष्ट रोजाइ रहेको कम्पनीको दाबी छ ।

लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५ लिटर पेट्रोल इन्जिन समावेश छ । यसले १२२ पिएस पावर र १४९ एनएम टर्क प्रदान गर्ने जनाइएको छ । पेट्रोल इन्जिन पाँच स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा रहेको जनाइएको छ । 

इकोस्पोर्ट डिजेलमा १.५ लिटर डिजेल इन्जिन रहेको छ । यसले १०० पिएस पावर र २१५ एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । यो म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । इकोस्पोर्टमा ग्राहकका लागि सुरक्षित तथा आरामदायी सवारीका लागि उच्चतम प्रविधिहरू जडान गरिएको कम्पनीको दाबी छ । यसमा चालक र यात्रीको सुरक्षाका लागि ६ वटासम्म एयरब्याग रहेको जनाइएको छ । 

माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीका लागि ८ इन्चको टचस्क्रिनयुक्त सिन्क ३ सिस्टम, एप्पलकार प्ले तथा एन्ड्रोइड अटो अनुकूलतामा टप–इन लाइन इकोस्पोर्ट भेरियन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ । ९ इन्च टचस्क्रिनमा आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्बेडेड नेभिगेसन रहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार