बुधबार दिनभर : १० बजेसम्मका १० खबर

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

देशको नामको विषयमा सरकारमाथि राजनीतिक र संवैधानिक प्रश्न

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपाल मात्रै लेख्ने सरकारको निर्णय राजनीतिकसँगै संवैधानिक मुद्दा पनि बनेको छ । मंगलबारको सर्वदलीय बैठकमा विपक्षी कांग्रेसले संविधानको मर्ममाथि सरकारको हमला गरेको आरोप लगाएको छ । निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन र यस्तो निर्णय गर्नुपर्ने कारणबारे सर्वोच्च अदालतको प्रश्नले सरकारमाथि अर्को दबाब पनि बनेको छ । सरकारको यस्तो निर्णयसँगै गणतन्त्रप्रतिको उसको निष्ठामाथि पनि राजनीतिक रूपमा प्रश्न उठेको छ । तर, निर्णय व्यवस्था परिवर्तनसँग नजोडिएको सरकारको तर्क छ ।

मन्त्रिपरिषद्का तीन बैठक : यस्ता छन् निर्णय

सरकारका प्रवक्ता पार्वत गुरुङले मन्त्रिपरिषद्का तीनवटा बैठकका निर्णय सार्वजनिक गरेका छन् । १५ मंसिर, १८ मंसिर र २३ मंसिरमा बसेको मन्त्रिपरिषद्का निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् । १५ मंसिरको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि आगामी १० पुससम्म रहेकोमा एक वर्ष थप गर्ने निर्णय गरेको छ । यस्तै, प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ४० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १० मिलियन अमेरिकी डलर अनुदानस्वरूप सहयोग स्वीकार गर्ने निर्णयसमेत भएको छ । 

एक शिक्षक, चार नागरिकता : यसरी खुल्यो किर्तेकाे पोल 

सिरहा जिल्लाकाे सदमुकामस्थित चन्द्र नमूना मावि (प्राविधिक) का शिक्षकले फरक-फरक जन्ममितिमा एउटै नम्बरका चार वटा नागरिकता बनाएर उमेर हदभन्दा बढी शिक्षण गरिरहेको खुलेपछि उनलाई अनिवार्य अवकाश दिइएको छ। शिक्षा विकास तथा समन्वय इकाइ सिरहाले मंगलबारको निर्णय अनुसार निमाशि (द्वितीय) दरबन्दीका शिक्षक सकलदेव यादवलाई १७ असोज २०७६ देखि लागू हुनेगरी अनिवार्य अवकाश दिइएको जनाएको छ । 

बासमती धानमा नेपालले आधिकारिक दाबी पेस गर्ने 

भारतले बासमती धानको भौगोलिक संकेत अधिकार स्थापित गर्न युरोपेली संघमा निवेदन पेस गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दाबीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेस गर्ने निर्णय गरेको छ । 

पेस्तोल देखाएर दिउँसै चार लाख लुटियो

सिराहाको लहान नगरपालिका-३ भगवानपुर गाउँनजिकै बुधबार दिउँसो मास्क लगाएका अपरिचित दुईजना व्यक्तिले पेस्तोल देखाएर चार लाख रुपैयाँ लुटेका छन् ।लहान २३ गाढा गाउँका करिब ५४ वर्षीय जागेश्वर यादवले लहानस्थित जनउत्थान सहकारी संस्थाबाट चार लाख रुपैयाँ निकालेर साइकलमा घर फर्किंदै गर्दा दिउँसो करिब साढे १२ बजेतिर लहान ३ स्थित एनसेलको टावर नजिकै लहान ठाढी सडकमा लुटपाट भएको हो ।

श्रीमती र छोरीलाई एसिड प्रहार गर्नेविरुद्ध नयाँ कानुनअनुसार मुद्दा दायर 

श्रीमती र छोरीमाथि एसिड छर्केर गम्भीर घाइते बनाएको घटनामा अभियुक्तहरूविरुद्ध सरकारी वकिल कार्यालय धनुषाले जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ । श्रीमानसँग विवाद भई जनकपुरधाम उपमहनगरपालिका–७  स्थित जानकी नगरमा माइतीमै बस्दै आएकी आरती साहमाथि २९ कात्तिकमा श्रीमान् सञ्जीव साह एसिड छर्केर फरार भएका थिए । तीन वर्षीया छोरी रिया साहसँगै जनकपुरधामको पेठिया बजारमा किनेमेल गर्न गएका वेलामा एसिड प्रहार गरिएको थियो । उक्त घटनाका मुख्य अभियुक्त सञ्जीव साहलाई बनाइएको छ भने एसिड बेच्ने पसले नागेन्द्र साहलाई सहयोगी बनाइएको छ । नागेन्द्रले  सञ्जीवलाई बियरको बोतलमा एसिड उपलब्ध गराएकाले उनलाई पनि घटनाको अभियुक्त बनाएको छ ।  उनीहरूविरुद्ध नयाँ कानुनअनुसार क्षतिपूर्ति र साढे १५ वर्ष कैद सजायसहित बुधबार अदालतमा अभियोगपत्र दर्ता गराएको धनुषाका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पत्रकार सम्मेलन गरी जानकारी दिए । नयाँ कानुनअनुसार नेपालमै पहिलोपल्ट मुद्दा दायर भएको अर्यालले बताए ।  

सुरुको सय दिन कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन खट्छु : बाइडेन

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए पनि जो बाइडेनले आधिकारिक रूपमा राष्ट्रपति पद सम्हालेका छैनन् । उनले अर्को आगामी २० जनवरीमा पद सम्हाल्दै छन् । यसवेलासम्म डोनाल्ड ट्रम्पले नै पद सम्हाल्नेछन् । तर, पनि बाइडेनले आफू ह्वाइटहाउस प्रवेश गरेको सय दिनसम्म ह्वाइटहाउसका कर्मचारी केवल कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा भ्याक्सिन उपलब्ध गराउने काममै खटिने घोषणा गरका छन् । यसका लागि बाइडेनले स्वास्थ निकायका पदाधिकारीसँग छलफल पनि अघि बढाइसकेको बताएका छन् । उनले भनेका छन्, ‘म अमेरिकी जनतालाई यो भन्न चाहन्छु कि मैले पद सम्हालेको सय दिनसम्म धैर्यता राख्नुहोस् ।’ 

धर्मसँग जोडिएको कुसंस्कार : सुडानको खलवासमा हिंसा र बलात्कार सामान्य 

पहिलोपटक अहमेदलाई एउटा कोठामा भेट्दा उनी डरले कामिरहेका थिए । उनको शरीरभरि रातो र कालो चिह्न थियो । त्यो चिनो उनका मालिकले कुटेको चोटको हुनुपर्छ । तर, यसबारेमा अहमेद स्वयंलाई थाहा छैन । उनलाई त कति वर्षको भएँ भन्नेसमेत थाहा छैन । अनुमान लगाउँदा अहमेद दश वर्षजतिको हुनुपर्छ । उनलाई मैले सुडानको खलवास भन्ने स्थानको एउटा स्कुलमा भेट्टाएको थिएँ । जहाँ उनीजस्तै अन्य २३ जना इस्लामिक विद्यार्थी शिक्षा लिइरहेका थिए । 
खलवास सुडानको अति नै विकट गाउँ हो । यहाँका सेखहरूका बारेमा मलाई हल्का थाहा थियो । उनीहरूले आफ्नो शक्तिको भरमा यौन शोषणदेखि मानवअधिकार हनन र आपराधिक क्रियाकलाप सजिलै गर्नेगरेको सुनेको थिएँ । यसपटक यस्तै क्रियाकलापको पर्दाफास गर्ने गरी म खलवास पुगेको थिएँ ।

सरकारी कार्यालयमा सिडिओको छड्के, बाहिर सेवाग्राहीको घुइँचो, भित्र खाली कुर्सी  [फाेटाेफिचर]

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सदरमुकामस्थित विभिन्न सार्वजनिक सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेका छन् । सेवाग्राहीहरूबाट गुनासो बढ्न थालेपछि उनले कार्यालयहरूमा अनुगमन गरेका हुन् ।

एक वर्षमै कसरी तयार भयो कोरोना भाइरसविरुद्धको भ्याक्सिन ?

कोभिड भाइरसविरुद्धको भ्याक्सिन छोटो समय (एक वर्षभित्रै)मै तयार हुनुलाई विशेषज्ञहरूले ‘गेमचेन्जर’को संज्ञा दिएका छन् । परम्परागत रूपमा यसअघिका बनेका यस्तै प्रकृतिका भ्याक्सिनहरू १० वर्षसम्म समय लगाएर निर्माण भएका उदाहरणहरू छन् । यसरी बनेका भ्याक्सिनको सफलताबारे यकिन गर्न कम्तीमा पाँच वर्ष लाग्ने गरेको विज्ञहरूको भनाइ छ । जसको तुलनामा कोभिडविरुद्धको भ्याक्सिन निकै कम समयमा उत्पादन भएको छ । महामारी फैलिएको एक वर्षमै भाइरसविरुद्धको खोप पत्ता लगाएर नियन्त्रण प्रयासमा लाग्नु विज्ञानको क्षेत्रमा निकै ठूलो उपलब्धि मानिएको छ । यो उपलब्धि विश्वका लागि महामारीबाट छुटकारा पाउने र पुनः सामान्य जीवनमा फर्किने महŒवपूर्ण योगदान हुनेछ । विज्ञहरूले कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई मानव स्वास्थ्यमा नयाँ मापदण्ड विकासका रूपमा व्याख्या गरेका छन् । 

सुझावित समाचार