पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भएको बताएका छन् ।
नेता नेपालले नवप्रवर्तन उद्योगहरूमा पुँजीको व्यवस्थापन र बजारको पहुँच विकास गर्न सरकारले सहयोग गर्नुपर्ने वेला आएको बताए ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले नवप्रवर्तन उद्योगहरूलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने विषयमा राज्यले तालमेल मिलाउन नसकेको पनि बताए ।
साना तथा घरेलु उद्यमीहरूलाई प्रोत्साहन गर्ने कुरामा राज्यले जिम्मेवारी लिनुपर्नेसमेत उनले बताए ।
कृषि उत्पादनमा राज्यले सहयोग गरी बजारमा सुपथ मूल्यमा वस्तु पुर्याउने विषयमा समेत राज्यले ध्यान दिनुपर्नेमा नेपालले जोड दिए । नवप्रवर्तन उद्योगहरूमा पुँजीको परिचालन गरी उत्पादन बढाउँदै आयातीत वस्तुहरूलाई विस्थापित गर्नेतर्फ अर्थतन्त्रलाई उन्मुख गर्नुपर्ने उनको भनाइ छ ।
यसबाहेक नागरिकस्तरमा स्वदेशी वस्तुको उपभोग गर्नुपर्छ भन्ने भावना जागृत गर्नसमेत सरकारले भूमिका खेल्नुपर्ने बताए । नवप्रवर्तन उद्योगको पुँजी र बजारलाई एकसाथ व्यवस्थापन गर्ने कुरामा राज्यको सहयोग अपरिहार्य रहेको उनले बताए ।
नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि भएकाले त्यसमा आधारित उद्योग व्यवसायको प्रवर्धनमा जोड दिनुपर्ने पनि उनको भनाइ छ ।
जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अहिले पनि कृषिमा निर्भर रहेकाले कृषिमा आधारित अर्थतन्त्रलाई नै प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
किसानले उत्पादन गरेका सबै वस्तुको बिक्री हुने ग्यारेन्टी सरकारले लिएमा व्यावसायिक कृषि उत्पादनतर्फ युवाहरूको आकर्षण बढ्ने नेपालले बताए ।