दलित–दलितबीच विभेद घटना : मृत्यु संस्कारमा जातीय विभेद गर्नेलाई जनही एक लाख धरौटी

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

ससुराको मृत्यु संस्कारबाट वञ्चित गराउँदै जातीय विभेद गर्ने दुईजना आरोपीहलाई मोरङ जिल्ला अदालतले जनही एक लाख रुपैयाँ धरौटी मागेको छ ।

१३ कार्तिकमा निधन भएका ७० वर्षीय ससुरा भीमराज गहतराज (विश्वकर्मा) को काजकिरियाबाट बुहारी कोपिला बर्देवालाई सानो जातको भन्दै वञ्चित गराएको आरोपमा मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारेका ३५ वर्षीय दिवस गहतराज र उनकी जेठी श्रीमती ३३ वर्षीय तारा गहतराजलाई अदालतले जनही एक लाख रुपैयाँ धरौटी माग गरेको हो । 

मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शन लामिछानेको इजलासले जातीय विभेद र छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार प्रहरीले पक्राउ गरेर हाजिर गराएका दिवस र उनकी श्रीमती तारालाई जनही एक लाख रुपैयाँ धरौटी माग गरेको श्रेस्तेदार राजकुमार दाहालले बताए । 

चार फरार आरोपीलाई पक्राउ पुर्जी 
उनका अनुसार चारजना फरार आरोपीहरू कोपिलाका सासू ५५ वर्षीय सुनीता गहतराज,  जेठी श्रीमती ताराकी वहिनी २५ वर्षीया शारदा घतानी, जेठाजुहरू ४० वर्षीय दीपक र  ३८ वर्षीय शम्भु गहतराजविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।  

ससुराको अन्तेष्टि र काजकिरिया सगोलमा गर्न नपाएपछि दिवस गहतराजकी कान्छी श्रीमती उर्लाबारी नगरपालिका ४ की ३० वर्षीया कोपिला बर्देवाले परिवारका ६ जना सदस्यहरूविरुद्ध जातीय छुवाछुत कसुरमा सजाय माग गर्दै २३ कार्तिकमा इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । 

किटानी जाहेरी दर्ता भएपछि कोपिलाका श्रीमान् दिवस र जेठी श्रीमती तारा पक्राउ परे पनि अन्य आरोपीहरू भने फरार छन् ।   

फरारमध्ये ४० वर्षीय दीपक गहतराज कोपिलाका सबैभन्दा ठूला जेठाजु र नेपाल दलित संघ उर्लाबारी नगर समितिका अध्यक्ष हुन् । 

विभेदमा परेकी कोपिला दलित संघ उर्लाबारीकी कोषाध्यक्ष हुन् । 

कोपीलाको दश वर्षअघि स्वर्गीय भीमलालका कान्छा छोरा दिवस गहतराजसँग विवाह गरेकी थिइन् । उनीहरूका ८ वर्षकी एक छोरीको जन्मदर्तासमेत भइसकेको छ ।

सुझावित समाचार