सर्वदलीय बैठक : हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनादेखि भ्रष्टाचारसम्मका कुरा उठे

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरी आज बसेको सर्वदलीय बैठकमा हिन्दूराष्ट्र बनाउनेदेखि राजासहितको प्रजातन्त्रसम्मका विषयमा कुरा उठेको छ । 
साथै, बैठकमा कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्ने विषय पनि उठेको छ । 

बैठकमा कांग्रेसका नेताहरुले सरकारले कोरोना नियन्त्रणमा गम्भीर ढंगबाट काम गर्न नसकेकाले त्यसमा सक्रियतापूर्वक अग्रसर हुने विषय उठाएको कांग्रेसका नेता डा. प्रकाशसरण महतले जानकारी दिए । 

त्यसैगरी, आफूहरूले भ्रष्टाचार नियन्त्रणका विषयमा पनि कुरा उठाएको उनले बताए । साथै सरकार दमनकारी नीति लिएर अघि बढेकोबारे ध्यानाकर्षण गराएको उनले जानकारी दिए । 

अहिले सडकमा देखिएको प्रदर्शनका विषयमा भने ती प्रदर्शनहरू सरकारको गतिविधिबाट उत्पन्न असन्तुष्टि भएको भन्ने धारणा राखेको डा. महतले जानकारी दिए । 

उनले सरकार स्थापित लोकतान्त्रिक पद्धति अनुसार चलेमा ती प्रदर्शनहरु रोकिने भनाई राखेको बताए । 

त्यसैगरी राप्रपाका नेताहरूले भने देशलाई हिन्दूराष्ट्र बनाउनुपर्ने प्रस्ताव गरेका थिए । 

बैठकमा सहभागी दीपक बोहोराका अनुसार राप्रपाका नेताहरूले वर्तमान संविधानप्रति आफ्नो पूर्ण समर्थन रहेको भन्दै यही संविधानमा राजतन्त्रसहित हिन्दूराष्ट्र बनाउन सकिने विषय अघि सारेका थिए । 

साथै, उनीहरूले बैठकमा अहिले हिन्दुत्व र राजसंस्थाको पुनर्स्थापनालाई लिएर सडकमा भएको प्रदर्शनप्रति आफूहरूको नैतिक समर्थन रहेको बताएका थिए । 

नेता बोहोराले यही संविधानभित्र हिन्दूराष्ट्र र राजा राख्न सकिन्छ कि भनी विकल्प दिएको बताए । 

तर, आफ्नो भनाइका बारेमा कोही कसैले पनि जवाफ भने नदिएको उनले जानकारी दिए । 

साथै आफूहरूले कोरोनाविरुद्धको भ्याक्सिन निःशुल्क दिनुपर्ने धारणा राखेको उनले बताए ।

सुझावित समाचार