युवायुवतीलाई भीख मगाउने गिरोह सक्रिय

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

मोरङमा बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन दिँदै भीख मगाउने गिरोह सक्रिय पाइएको छ । गिरोहले फेसबुक पेजमार्फत आकर्षक रोजगारीको विज्ञापन गर्दै युवायुवतीलाई यस्तो धन्दामा लगाउने गरेको खुलेको छ ।

विराटनगर, इटहरी र दमकमा उक्त गिरोह सक्रिय छ । जागिरको प्रलोभनमा सम्पर्कमा आएका युवायुवतीलाई उक्त गिरोहले परोपकार, मानव सेवा र समाज सेवाका लागि भन्दै भीख माग्न पठाउने गरेको छ । गिरोहले छटपटाइरहेका बिरामीको तस्बिर र भिडियो मोबाइलमा राख्न लगाउने गरेको छ । अस्पतालको नक्कली पुर्जा र स्थानीय पालिकाले दिएको सिफारिस देखाउँदै उपचारका लागि सहयोग गर्न आग्रह गर्दै रकम उठाउन लगाउने गरिएको छ । त्यसरी खटाइने कतिपय युवायुवतीलाई आफैँ बिरामी परेको अभिनयसमेत गर्न लगाइने गरेको छ । कसैलाई भने आफूलाई स्वयंसेवक बताउँदै रकम उठाउन लगाइने गरेको छ ।

त्यसरी संकलित रकम युवायुवतीले आफ्नो कमिसन छुट्याएर गिरोहका एरिया इन्चार्जलाई बुझाउँछन् । तिनै एरिया इन्चार्जले युवायुवतीलाई परिचालन गर्छन् । एरिया इन्चार्जहरूले पनि आफ्नो कमिसन कटाएर मोरङ सुन्दरहरैँचा नगरपालिका बेलेपुर घर बताउने करिब ४० वर्षका केशव बजगाईं नामक व्यक्तिलाई बुझाउने गरेको गरेको प्रहरीको सम्पर्कमा आएका केही युवायुवतीले बताएका छन् ।

त्यसरी संकलित रकम अशक्त, असहायहरूको सेवा गर्ने राष्ट्रिय अभियान चलाउने बजगाईंले बताउने गरेको उनीहरूको भनाइ छ । गिरोहका सदस्य बनाइएका युवायुवतीसँग बजगाईंले च्याट ग्रुपमार्फत सम्पर्क गर्छन् । सम्पर्कमा रहेका युवायुवतीको अडियो, भिडियो पनि बजगाईंले रेकर्ड गर्दै आएका छन् । र, भनेको नमानेमा जे पनि गर्ने धम्की पनि दिने गरेका छन् । 

See More On

सुझावित समाचार