अभिनेत्री श्वेता खड्का सोमबार वैवाहिक जीवनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह राउतसँग उनले विवाह भएको हो । सञ्चारमाध्यममा खड्काको विवाहबारे यसअघि नै समाचार सार्वजनिक भइसकेको थियो । तर, उनले गत आइतबार मात्र यसबारे औपचारिक जानकारी दिएकी थिइन् ।
विवाहबारे खड्काले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेकी थिइन्, ‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरैपटक लडेकी छु । अब उठ्नै सक्दिनँ कि भन्ने कमजोर भावले थिचेको त्यो वेलामा आफ्नो हात समातेर उठाइदिने कुनै सहाराको आशा हुँदो रहेछ ।’ यसकारण पनि आफू वैवाहिक जीवनमा बाँधिएको खड्काको भनाइ छ ।
सोमबार बिहेपछि उनले सामाजिक सञ्जालमा आगामी दिनमा आफूले सबैबाट अझ धेरै माया, सद्भाव र साथ पाउने आशा राखेको उल्लेख गरेकी छन् । ‘अन्त्वगोत्वाः मैले सिउँदोमा सिन्दुर भरें, हातमा सप्तरंगी चुरा लगाएँ अनि रंगिन पहिरनभित्र आफूलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें ।
मेरो यो यात्रामा मेरा सम्पूर्ण इष्टमित्र, आफन्तजन, गन्यमान्य व्यक्तित्व, शुभचिन्तकलगायत मलाई सधैं साथ र समर्थन गर्ने मेरा सञ्चारकर्मी मित्रहरुको शुभेच्छा र आशीर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ,’ खड्काले लेखेकी छन् ।