नेपालमा कोरोनाविरुद्वको लडाइँमा अनुकरणीय काम गर्नेहरूको कथामा ‘सिभिल सोल्जर्स’ डकुमेन्ट्री फिल्म बनेको छ । ‘भाग्यले बाँचेकाहरू’ र ‘सहायक श्रीमान्’ वृत्तचित्रका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरूको कथालाई लिएर ‘सिभिल सोल्जर्स’ बनाएका हुन् । नेपालमा आकस्मिक रूपमा भएको लकडाउन र त्यसपछि उत्पन्न परिस्थितिले सिर्जना गरेको असहज अवस्थामा पनि अनुकरणीय काम गरेका युवाहरूको कथामा वृत्तचित्र केन्द्रित रहेको निर्माता र लेखकसमेत रहेका पाण्डेले जानकारी दिए ।
यो वृत्तचित्र आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ)मा रिलिज हुँदै छ । लकडाउनका वेला मानिसहरू घरमा थुनिएर बस्नुपरेका वेला निर्देशक पाण्डे र उनको टिम वृत्तचित्र बनाउन व्यस्त थियो । वृत्तचित्रलाई पुकार तिमल्सिना र अविनाश लामाले क्यामरामा कैद गरेका छन् ।
काठमाडौंका स्थानीय मनोजकुमार श्रेष्ठले ३७ वर्षको उमेरमा यस्तो सुनसान र पीडादायी परिस्थिति कहिल्यै पनि देखेका थिएनन् । एम्बुलेन्सले बिरामी बोक्न नमान्ने अनि मान्छे देखेर मान्छे तर्सिने परिस्थिति देखेपछि मनोज निजी कारलाई एम्बुलेन्स बनाउँदै सर्वसाधारण बिरामीहरूको सेवामा निस्किए ।
अरूको सेवा गर्दागर्दै उनी कोरोना संक्रमित भए । कोरोनाको रिपोर्ट पजिटिभ आएपछि उनी आफैँ दंग परे, कुनै लक्षण नदेखिएकाले फाइल साटियो कि भन्ने आशंकासमेत गरे । गभर्वती श्रीमतीलाई घरमै छाडेर आइसोलेसनमा जाँदा उनले भोगेका पीडादायक क्षण अनि कोरोना जितेर फर्केपछिको उनको भोगाइ डकुमेन्ट्रीमा कैद गरिएको छ ।
भक्तपुरकै अरुण सैँजु र राजेश गाइँजु लकडाउनकै दिनदेखि भक्तपुर अस्पतालमा रहेर कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका थिए । सरकारको आग्रहमा अरुण र राजेशले नेपालको पहिलो कोरोना संक्रमितको शव उठाएका थिए ।
नेपालको पहिलो मृत महिलाको शव जलाएर फर्केपछि अरुणले टोलवासीबाटै अपमानित हुनुुपरेको थियो । जीवनमा पहिलोपटक लास छुँदा डराएका राजेशले अरुणसँग मिलेर थुप्रै शवको व्यवस्थापन गरिसकेका छन् । अहिलेसम्म ३४ भन्दा बढीको शव व्यवस्थापन गरिसकेका उनीहरूको प्रेरणादायी कथा, जंगलको उकुसमुकसपूर्ण एवं कहालीलाग्दो आइसोलेसन बसाइ र समाजले गरेको व्यवहारलाई फिल्ममा समेटिएको छ ।
‘समग्रमा कोरोनाका कारण नेपाली जीवनमा पारेको असर र त्यतिवेला स्वतःस्फूर्त सर्वसाधारणको सेवामा निस्केका स्वयंसेवी युवाहरूको विभिन्न अनुभव, खुसी, पीडा र उत्प्रेरणाको मिश्रणलाई सिभिल सोल्जर्समा देख्न सकिन्छ,’ निर्देशक पाण्डे भन्छन्, ‘सेना, प्रहरी र सरकारी चिकित्सकहरूको यस्ता संकटमा काम गर्ने आफ्नो दायित्व थियो । मान्छे देखेर मान्छे डराउनुपर्ने परिस्थितिमा केही युवाहरूले अनुकरणीय कार्य गरे, त्यसैलाई हामीले क्यामेरामा कैद गरेका हौँ । आगामी पुस्ताका लागि यो ऐतिहासिक दस्ताबेज हुने हामीले विश्वास लिएका छौँ ।’