तीन दशकदेखि साङ्लोमा बाँधिएका इमानसिंहको उद्धार

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

तीन दशकदेखि कोठामा बन्दी जीवन बिताइरहेका ४९ वर्षीय इमानसिंह गुरुङको उद्धार गरिएको छ । 

मानवसेवा आश्रम लमजुङको पहलमा लमजुङको दोर्दी गाउँपालिका– ९ माझगाउँका गुरुङको उद्धार गरिएको हो । 

उनलाई बेंसीसहरस्थित मानवसेवा आश्रममा ल्याइएको हो । ३० वर्षदेखि उनलाई परिवारले साङ्लोले दायाँ हातमा बाँधेर राखेका थिए ।

मानसिक सन्तुलन गुमेपछि इमानसिंहले तीन दशकदेखि आफ्नै कोठामै बन्दीजीवन बिताउँदै आए । इमानसिंहलाई आमाबुबाले हेरचाह गर्दै आएकोमा १० वर्षअघि दुवैको मृत्यु भयाे । आमाबुबाकाे मृत्युपछि जेठो दाजु बेनीरामले उनकाे हेरचाह गर्दै आएका थिए । 

बेनीरामका अनुसार मानसिक सन्तुलन गुमेपछि उपचारका लागि धेरै ठाउँ पुऱ्याए पनि निको नभएपछि आफ्नै घरमा साङ्लोले बाँधेर राखिएको हो । यत्तिकै राख्दा परिवारलाई आक्रमण गर्ने, ढुंगामुढाले अरूलाई हान्ने, घर भत्काउनेलगायतका क्रियाकलाप गर्न थालेपछि साङ्लोले बाँधेर राखिएको बेनीरामले बताए । 

उपचारका लागि काठमाडाैं, चितवन, पोखरादेखि भारतसम्म पुऱ्याएको तर निको नभएको बेनीरामको भनाइ छ । चार दाजुभाइमध्येका कान्छा इमानसिंह  १८ वर्षको उमेरमा भारतीय सेनामा भर्ती हुनका लागि भारत गएका थिए । भर्ती हुन नसकेपछि घर फर्केपछि उनको  मानसिक सन्तुलन गुमेको बेनीरामले बताए ।

धामीझाँक्री लगाउनेदेखि डाक्टरकोमा लैजाँदा पनि निको नभएको परिवारले जनाएको छ । इमानसिंहको औषधाेउपचारदेखि खाना–बस्नको व्यवस्था आश्रमले गर्ने र निको भएपछि पारिवारिक पुनर्मिलन गराइने आश्रमकी संयोजक अनिता अधिकारीले बताइन् ।  

संयोजक अधिकारीका अनुसार दोर्दी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र प्रहरीको समन्वयमा इमानसिंहको उद्धार गरिएको हो । ०७३ साल चैत १२ गते लमजुङमा स्थापना भएको मानव सेवा आश्रममा हाल पाँचजना बालबालिका, ११ जना महिला र १० जना पुरुष गरी २६ जनाले आश्रय लिएका छन् ।
 

सुझावित समाचार