‘राजा आऊ देश बचाउ’को नाराले मुलुकको कल्याण हुँदैन : अध्यक्ष यादव

शनिबार, २० मंसिर, २०७७
डिजिटल संस्करण

राजसंस्थाको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन भइरहेका वेला जनता समावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘राजा आऊ देश बचाउ’को नारा लगाएर मुलुकको  कल्याण नहुने दाबी गरेका छन् । लोकतन्त्र र गणतन्त्रका लागि छातीमा गोली खाएका नेपाली जनताले कहिले पनि राजतन्त्र स्वीकार नगर्ने उनको जिकिर छ । 

नेपाल वौद्धिक पेसाकर्मी महासंघले नेपालको वर्तमान राजनीतिक सन्दर्भ विषयमा आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, ‘लालसलामकै कारण राजा आऊको नारा लाग्ने गरेको छ । तर, यसले मुलुक सम्वृद्धिभन्दा खाल्डोमा लिएर गइरहेको छ ।’ 

वर्तमान सरकारलाई जनविद्रोह, मधेश आन्दोलनलगायतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अधुरो रहेको संविधानलाई पूर्णता दिनेतर्फ लाग्नुपर्नेमा भ्रष्टाचार र कमिसनमा केन्द्रित हुँदा समस्या आएको उनको दाबी छ । 

पृथ्वीनारायण शाहदेखि अहिलेसम्म एउटै वर्गको हातमा मुलुकको शासन व्यवस्था रहेको उनले बताए । कर्मचारीतन्त्रमा व्यापक सुधारको आवश्यकता उनले औँल्याए  । उनले भने, ‘१२ प्रतिशतको जनसंख्या रहेको वर्गको अहिले नेपालको ब्युरोक्रेसीमा ६४ प्रतिशत उपस्थिति छ । त्यसकारण, कर्मचारी संरचनालाई परिवर्तन गर्नु अति आवश्यक छ ।’ 

वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था मुलुकको आवश्यकता रहेको उनले बताए । अहिले रहेको प्रदेश संरचनालाई परिवर्तन गरी १० वटा प्रदेश बनाउनुपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत नगरेकै कारण नेपालले विकास निर्माणले गति लिन नसकेको दाबी गरे । 
प्रदेश २ का मुख्यमन्त्रील मोहम्मद लालबाबु राउतले संविधानमा प्रदेशलाई दिएको अधिकार खोस्न संघीय सरकार लागेको आरोप लगाए । 
 

सुझावित समाचार