भारत अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगितामा ११ रनले विजयी भएको छ । क्यानवेरामा शुक्रबार सम्पन्न खेलमा भारतले पहिलो ब्याटिङ गरी सात विकेटको क्षतिमा १ सय ६१ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा सातै विकेट गुमाएर १ सय ५० रन मात्र बनायो ।
भारतलाई रोमाञ्चक जित दिलाउने क्रममा टि नटराजन र युज्वेन्द्र चाहालले तीन–तीन विकेट लिएका थिए । नटराजनले ४ ओभरमा ३० रन तथा चाहालले २५ रन खर्चेका थिए ।
लक्ष्य पछ्याएको इनिङ्समा ओपनर डि आर्च सर्ट र कप्तान आरोन फिन्चले उत्कृष्ट सुरुवात गरेका थिए । दुवैले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे । फिन्च इनिङ्सको ७.४ ओभरमा आउट भए ।
फिन्चले २६ बलमा एक चौका र पाँच छौका प्रहार गरी ३५ रन बनाए । सर्टले ३८ बलमा ३४ रन बटुले । यसैगरी मोसेस हेन्रिक्सले २० बलमा ३० रनको योगदान दिए । अस्ट्रेलियाको ब्याटिङमा मध्यक्रमका ब्याट्सम्यान चल्न सकेनन् । खेलमा चाहाल रवीन्द्र जडेजा घाइते भएपछि विस्थापन खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका थिए ।
यसअघिको ब्याटिङमा भारतका लागि दुई ब्याट्सम्यानले मात्र स्तरीय प्रदर्शन गरेका थिए । ओपनर लोकश राहुलले ४० बलको सामना गरी ५१ रन बनाएका थिए । उनले पाँच चौका र एक छक्का प्रहार गरे । यसैगरी रवीन्द्र जडेजाले २३ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ४४ रन बनाए ।