कोरोना संक्रमणको प्रभावले पठनपाठनबाट वञ्चित भइरहेका अति गरिब बालबालिकाका लागि प्रदेश १ सरकारले ‘हेल्लो विद्यार्थी’ कार्यक्रम ल्याएको छ । लामो समय विद्यालय खुल्न नसक्दा विद्यालय जान नपाएका तथा अनलाइन, टिभी र रेडियोको पहुँचमा नभएका अति गरिब विद्यार्थीका लागि प्रदेश सरकारले कार्यक्रम ल्याएको हो ।
यसका लागि प्रदेश १ सरकारले टेलिफोनबाट पठनपाठन गराउने तयारी थालेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाको संक्रमण कहिलेसम्म परिरहन्छ भन्ने यकिन नभएकाले गरिब समुदायका विद्यार्थीलाई पठनपाठन गराउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाइ सुरु गर्न कार्यक्रम बनाएको बताए । मन्त्री घिमिरेका अनुसार कार्यक्रमका लागि मन्त्रालयले एक लाख ५० हजार र स्थानीय तहले एक लाख रुपैयाँ खर्च गर्ने सम्झौता भइसकेको छ ।
पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार धनकुटाको पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेर्हथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल, कमल गाउँपालिका र मोरङको केराबारी गाउँपालिकामा पहिलो चरणमा कार्यक्रम सञ्चालन हुनेछ । यी स्थानीय तहसँग कार्यक्रम सञ्चालन गर्न सम्झौता भइसकेको छ ।
यसरी सञ्चालन हुन्छ ‘हेल्लो विद्यार्थी’ कार्यक्रम
‘हेल्लो विद्यार्थी’ कार्यक्रममा नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सियुभी सिममार्फत विद्यार्थीलाई सिकाइनेछ । उक्त सिम विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्छ । सियुजी सिममा एक सय २९ रुपैयाँको डाटाले एक महिनासम्म मोबाइल प्रयोग गर्न सकिन्छ । प्रदेश शिक्षा निर्देशक बुढाथोकीका अनुसार हेल्लो विद्यार्थी कार्यक्रममा सहभागी विद्यार्थी र शिक्षकलाई तीन महिनाको ब्यालेन्ससहित निःशुल्क सिम उपलब्ध गराइनेछ ।
नेपाल सरकारको सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गर्न लागिएको हो । कार्यक्रममा पहिलो चरणमा पाँच सयजना विद्यार्थी सहभागी हुनेछन् । रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्नेछ । जसमा अति गरिब विद्यार्थी प्राथमिकतामा पर्नेछन् ।