बिहीबार : १० बजेसम्मका १० खबर

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

दुई महिनाअघि नै नेपालमा कोरोना संक्रमित ३९ लाख पुगेको अध्ययनको निष्कर्ष, हालसम्म १७ लाख ६४ हजारको मात्र परीक्षण

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन सम्मिलित एक विज्ञ टोलीले गरेको सर्वेक्षणले देशभर ३९ लाखजना कोरोना संक्रमित भइसकेको देखाएको छ । सेप्टेम्बर अन्तिम साता गरिएको सर्वेक्षणको प्रतिवेदन विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ । तर, अझै उक्त प्रतिवेदन गोप्य राखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव डा. पाण्डेका अनुसार कोभिड–१९ बाट प्रदेश–२ सबैभन्दा बढी प्रभावित भएको सर्वेक्षणले देखाएको छ । उक्त प्रदेशको कति प्रतिशत जनसंख्या संक्रमित भयो भन्ने जानकारी डा. पाण्डेले नदिए पनि त्यहाँको कुल जनसंख्याको २३ प्रतिशत संक्रमित भइसकेको सर्वेक्षणमा देखिएको मन्त्रालयको एक उच्च स्रोतले जनाएको छ ।

सर्वेक्षणअनुसार कोरोना संक्रमण बढी देखिएका प्रदेशमध्ये दोस्रोमा बागमती, तेस्रोमा प्रदेश–१, चौथोमा लुम्बिनी र पाँचौँमा कर्णाली छन् । ती प्रदेशको कति प्रतिशत जनसंख्या संक्रमित भयो भन्ने गोप्य राखिएको छ । ‘६ हजार पाँच सयजनाको नमुनाबाट राष्ट्रकै प्रतिनिधित्व गर्ने हिसाबले सर्वेक्षण गरिएको थियो,’ मन्त्रालय स्रोत भन्छ ।

बिमा समिति र कम्पनीले कोरोना बिमासम्बन्धी निर्देशन पालना नगरेपछि अर्थ मन्त्रालय आक्रामक,  तीन दिनभित्र कोरोना बिमा दाबी भुक्तानी गर्न पुनः निर्देशन

गत १८ कात्तिकमा सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी कार्यान्वयन गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तत्काल भुक्तानी गर्न अर्को निर्देशन दिएको छ । गत १८ कात्तिकमा अर्थमन्त्री स्वयं उपस्थित बैठकले गरेका निर्णयसमेत कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले तीन दिनभित्रमा कोरोना बिमाको दाबी भुक्तानी गर्न बिमा समितिलाई निर्देशन दिएको छ । नयाँ पत्रिकाले बुधबार अर्थमन्त्रीको निर्देशन बिमा कम्पनीले नमानेको विषयमा समाचार प्रकाशित गरेपछि मन्त्रालयले बिहीबार अर्को निर्देशन दिएको हो ।

ब्यारेक अनुगमनका क्रममा प्रधानसेनापति बाजुरामा, एउटै मेसमा जवानहरूसँग खाना खाँदै गुनासो सुन्दै

प्रधानसेनापति पूर्णचन्द्र थापा दुर्गममा रहेका सेनाका ब्यारेक निरीक्षणका क्रममा सिभिल हेलिकोप्टरमा बाजुरा जिल्लास्थित समरजित गुल्ममा पुगेका छन् । निरीक्षणका क्रममा बाजुरा पुगेका थापाले समरजित गुल्ममा जवानको मेसमा खाना खाएर जवानका समस्या र अवस्थाबारे छलफल गरेको नेपाली सेनाले जनाएको छ ।

सेनापति थापाले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमा रहेका सेनाका ब्यारेक, गुल्म, गणको निरीक्षण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । ब्यारेकमा पुगेर त्यहाँको वस्तुस्थिति बुझ्ने, जवानसँगै खाना खाने, उनीहरूको बारेमा छलफल गर्ने र निजहरूको हौसला बढाउने उद्देश्यले निरीक्षण गरेको प्रवक्ता पौडेलले बताएका छन् ।

कोरोना मिटर : २४ घन्टामा २१ सय ११ निको भए, १३ सय ४३ संक्रमित थपिए 

नेपालमा पछिल्लो २४ घन्टामा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २१ सय ११ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने १३ जनाकाे निधन भएको छ ।

उत्तर–दक्षिण राजमार्ग : साढे ६ वर्षसम्म पनि छिचोलिएन डेढ किलोमिटर चट्टान

कर्णाली करिडोरअन्तर्गत उत्तर–दक्षिण राजमार्ग जोड्ने नाम्खा गाउँपालिका– २ मा पर्ने च्याछरा भिरको कडा चट्टान काटेर सडकको ट्रयाक खोल्ने कार्य ठेकेदारको लापरबाहीको कारण अलपत्र परेको छ । हिल्सा–सिमकोट योजनासँग ०७२ सालमा सम्झौता भई ०७५ सालमै निर्माण सम्पन्न हुने भनिएको च्याछराखण्ड साढे ६ वर्षसम्म पनि ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । 

च्याछहराखण्डको चट्टान छिचोल्नका लागि कुल ठेक्का लागत रकम चार करोड ९९ लाख भए पनि ठेकेदारले घटिघटाउमा तीन करोड ६४ लाख रुपैयाँमा ठेक्का स्वीकार गरेको जानकारी हिल्सा–सिमकोट आयोजनाले कार्यालयले दिएको छ । 

एसियन गेमकाे आयाेजनाका लागि समर्थन माग्न कतारी टोली नेपालमा

कतार ओलम्पिक कमिटीले २१औँ एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ । कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूलाई भेट गरी सन् २०३० मा आयोजना हुने २१औँ एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो । 

कतारले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दै छ । हालसम्म कतार र साउदी अरेबियाले २१औँ एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन् । नेपालले पनि ती दुईमध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ ।

एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९औँ ओसिए महासभामा २१औँ एसियन खेलकुदका लागि मतदान हुनेछ । नेपालसँगै ४५ देशहरूले मतदान गर्नेछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कतार र नेपालको बीचमा रहेको कूटनीतिक सम्बन्ध र धेरै नेपालीले कतारमा रोजगारी पाएको हिसाबले पनि कतारी ओलम्पिक कमिटीले नेपालको समर्थनको अपेक्षा गरेको बताए । 

१५ वर्षपछि पेट्रोल कार उत्पादन र बिक्री नगर्ने योजनामा जापान

जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी सञ्चारमाध्यमहरूका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनमा उल्लेखित समाचारअनुसार जापानले विद्युतीय र हाइब्रिड सवारीसाधनको बिक्रीलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । प्रधानमन्त्री योसिहिदे सुगाले गत अक्टोबरमा जापानलाई सन् २०५० भित्र कार्बन तटस्थ मुलुकको दाँजोमा उभ्याउन आवश्यक पहल गर्ने घोषणा गरेका थिए ।

मोर्डनाको भ्याक्सिन परीक्षण अब किशोरकिशोरीमा

भ्याक्सिन निर्माता कम्पनी मोर्डनाले १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण गर्ने भएको छ । वयस्कमा गरिएको परीक्षण सफल भएपछि कम्पनीले किशोरकिशोरीमाथि भ्याक्सिन परीक्षण गर्न लागेको हो ।

कम्पनीको वेबसाइटमा प्रकाशित सूचनाअनुसार चाँडै नै गरिने यो परीक्षणमा तीन हजार किशोरकिशोरी सहभागी हुनेछन् । जसमध्ये आधालाई चार साताको अन्तरालमा दुई डोज खोप र बाँकी किशोरकिशोरीमा नुनपानी भएको प्लेसबो सट दिइनेछ ।

भारतमा कोभिड– १९ संक्रमित ९५ लाख नाघे

भारतमा कोभिड– १९ बाट संक्रमितको संख्या बुधबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा मात्रै यहाँ संक्रमित हुनेको संख्या ३५ हजार पाँच सय ५१ रहेको छ । कुल संक्रमित ९५ लाख ३४ हजार नौ सय ६५ मध्ये सक्रिय संक्रमितको संख्या चार  लाख २२ हजार नौ सय ४३ रहेको छ । 

भारतमा हालसम्म ८९ लाख ७३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा यहाँ पाँच सय २६ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३८ हजार ६ सय ४८ पुगेको छ । 

नेब्रास्काकी ६१ वर्षीया महिलाले जन्माइन् नातिनी 

अमेरिकाको नेब्रास्कामा ६१ वर्षीया महिलाले आफ्नै नातिनीलाई जन्म दिएकी छिन् । यो कुनै अवधै सम्बन्धबाट भएको जन्म होइन, बरु मानवले विज्ञानमा गरेको विकासको महत्वपूर्ण नमुनाको उदाहरण हो । ६१ वर्षीया सिसिल इलेजले आफ्ना समलिंगी छोरा म्याथ्यु इलेजको परिवार बसाउने इच्छा पूरा गर्ने क्रममा नयाँ इतिहास रचेकी हुन् । उनी आफ्नो नातिनीलाई जन्म दिने पहिलो महिला बनेकी छिन् । 

सिसिलका छोरा म्याथ्युले एलिएट डोहोर्टीसँग समलिंगी विवाह गरेका छन् । समलिंगी भएका कारण उनीहरूले आफैँ सन्तान जन्माउन सम्भव थिएन । आफ्नो छोरा र उनको श्रीमानको नानीलाई आफ्नो गर्भमा हुर्काएर सिसिलले नातिनीलाई जन्म दिएकी हुन् । सिसिलले गत साता मात्रै नातिनी उमा लुइसलाई जन्म दिएकी हुन् । 

सुझावित समाचार