महासंघ हाँक्ने गोल्छा परिवारको ५४ वर्ष पुरानो सपना पूरा

सोमबार, १५ मंसिर, २०७७
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघ स्थापनामा महत्वपूर्ण योगदान दिएको अग्रणी औद्योगिक घराना गोल्छा परिवारबाट पहिलोपटक शेखर गोल्छा अध्यक्ष बनेका छन् । ५४ वर्षपहिले महासंघ गठन गर्नुभन्दा अगाडिकै तदर्थ समितिमा उनका बुबा हुलासचन्द थिए । महासंघको पहिलो विधान लेखनमा पनि उनको महत्वपूर्ण योगदान रह्यो । महासंघको स्थापनाकालदेखि अहिलेसम्म हरेकजसो कार्यसमितिमा गोल्छा परिवार सहभागी छ ।

गोल्छा परिवारबाट हुलासचन्द र दिवाकर महासंघको उपाध्यक्षसम्म भएका थिए, तर अध्यक्ष हुन पाएनन् । महासंघको नेतृत्वमा पुग्ने गोल्छा परिवारको सपना बल्ल ५४ वर्षपछि पूरा भएको छ । शेखरले आइतबार अध्यक्षको शपथग्रहण गर्दै भने, ‘बुबाको अध्यक्ष बन्ने चाहना थियो, स्वास्थ्यले साथ दिएन । दाजु दिवाकर प्रथम उपाध्यक्षसम्म हुनुभयो, तर अध्यक्ष बन्न सक्नुभएन ।’

हुलासचन्द २०५० सालको चुनावमा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा थिए । उनको देश दौडाहा सुरु भइसकेको थियो । भर्खर लन्डनबाट ग्र्याजुएट सिध्याएर स्वदेश फर्किएका शेखरले बुबाको चुनावी अभियानमा साथ दिएका थिए । उनी बुबाका चुनावी भाषण पनि तयार पारिदिन्थे ।

चुनावी दौडाहामा हेटौँडा पुगेका वेला राति अचानक हुलासचन्दको स्वास्थ्यमा समस्या देखियो । अर्को दिन बिहानै हेलिकोप्टरमा काठमाडौं ल्याइयो । हृदयाघात भएको रहेछ । डाक्टरले ओपन हार्ट सर्जरी गर्नुपर्ने भनेपछि उनी उपचार गर्न अमेरिका गइहाले । उनी फर्किंदा चुनाव सम्पन्न भइसकेको थियो, विनोद चौधरी निर्विरोध अध्यक्ष भए ।

हुलासचन्द महासंघबाट तटस्थ रहन थालेपछि भतिज दिवाकर गोल्छा महासंघमा सक्रिय भए । उनी ०५६ देखि ०६४ सम्म महासंघको तीन कार्यकाल उपाध्यक्ष भए । प्रथम उपाध्यक्ष भइसकेका दिवाकरको योगदानलाई कदर गर्दै सबैजना सर्वसम्मत अध्यक्ष बनाउन कस्सिएका थिए । तर, चण्डीराज ढकालले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने भएपछि उनी चुनावी मैदानबाट बाहिरिए । दिवाकर बाहिरिएकै वर्ष शेखर महासंघमा प्रवेश गरे । उनी महासंघमा कार्यसमिति सदस्यबाट छिरेर उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका छन् । शेखरलाई पनि अध्यक्ष हुन नदिन तिनै चण्डी हात धोएर लागेका थिए, तर सफल हुन सकेनन् । 

शेखरसँग नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन, नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (निक्की), वैदेशिक व्यापार संघलगायतमा रहेर काम गरेको अनुभव छ । उनले महासंघमा रहँदा बैंकिङ समितिको सभापति भएर काम गरिसकेका छन् । एसोसिएट उपाध्यक्ष हुँदा रोजगारदाता परिषद्को सभापति भए, जुन वेला नयाँ श्रम ऐनको मस्यौदामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

निजी क्षेत्र र ट्रेड युनियन मिलेर श्रम ऐनको मस्यौदा बनाएको उनी बताउँछन् । अहिले निजी क्षेत्र र श्रमिकबीच श्रम सम्बन्धमा धेरै सुधार आएको छ । उनले निजी क्षेत्रको विकास र अर्थतन्त्रको समृद्धिका विषयमा महासंघबाट बलियो आवाज उठाउँदै आइरहेका छन् । निजी क्षेत्रका समस्या र अर्थतन्त्र राम्रोसँग बुझेको युवा उद्यमी नेतृत्वमा आउँदा महासंघको साख उकासिने पूर्वअध्यक्षहरूको विश्वास छ । मुलुकको प्रतिष्ठित व्यावसायिक घरानाबाट प्रतिनिधित्व गर्ने भएकाले पनि उनको एक्स्पोजर पनि ठूलो छ ।

नेपालको औद्योगिक जग बसाल्न गोल्छा परिवारको महत्वपूर्ण योगदान छ । स्व. रामलाल गोल्छाले मुलुकमा पहिलो उद्योग विराटनगर जुट मिल्स खोलेका थिए । गोल्छा परिवारबाट चौथो पुस्ता पनि व्यवसायमा आबद्ध भइसकेको छ । तीन दर्जनभन्दा बढी उद्योग–व्यवसायहरू सञ्चालन गरिरहेको यो परिवारले १८–२० हजारलाई रोजगारी दिँदै आएको छ ।

उनले केही समयअघि एक भेटमा भनेका थिए, ‘म जिल्लाको मान्छे पनि हुँ, वस्तुगतको पनि हुँ र एसोसिएटको पनि । किनभने, हाम्रा सबैजसो उद्योग जिल्लामा छन् ।’ उनको परिवार उद्योग, कृषि, व्यापार, सेवा व्यवसायमा सक्रिय छ । स्वदेशमै बजाज बाइक एसेम्बल्ड गर्न सुरु गरिसकेका छन् ।

उद्योग तथा व्यापारबाट उदाएको व्यावसायिक घराना भए पनि गोल्छा परिवारको नयाँ पुस्ताले धमाधम नयाँ–नयाँ आइडियामा काम गर्दै व्यापार विविधीकरण गरिरहेका छन् । ‘कुनै पनि संस्थालाई उचाइमा पुर्याउन लामो अनुभवभन्दा पनि डेलिभरी गर्ने क्षमता चाहिन्छ, यसमा म कमजोर छैनजस्तो लाग्छ,’ उनी भन्छन् । उनी महासंघको शुद्धीकरण अभियानमा लागेका छन् । महासंघमा मौलाउँदै गएको राजनीतिको अन्त्य गर्ने उनको अठोट छ ।

सुझावित समाचार