भारतीय विदेशसचिवले भने– हामी भावी पुस्ताप्रति जवाफदेही छौँ, सशक्त सहकार्यमुखी सम्बन्ध चाहन्छौँ

शुक्रबार, १२ मंसिर, २०७७
डिजिटल संस्करण

भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले दुवै सरकारले भावी पुस्ताप्रति जवाफदेही भएर सशक्त सहकार्य गर्नुपर्ने बताएका छन् । 

नेपालको औपचारिक भ्रमणको दोस्रो दिन एआइडिआइए नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित प्रवचनमा शुक्रबार उनले दक्षिण एसियामा कुनै पनि मुलुक एक्लै अघि बढ्न नसक्नेसमेत स्पष्ट पारेका छन् ।

‘हामी भारत र नेपालका भावी पुसताहरूप्रति जवाफदेही छौँ । घनिष्ठ मित्रका रूपमा हामीले सँगै काम गर्नु आवश्यक छ,’ विदेशसचिव शृंगलाले नेपालीमा भने, ‘सशक्त सहकार्यमुखी नेपाल–भारत सम्बन्ध दुवै देशको हितमा छ ।’

विदेशसचिव शृंगलाले भारतको आर्थिक समृद्धि तथा भारतको उचाइसँग छिमेकी र मित्रका रूपमा नेपालसमेत जोडिएको उल्लेख गरे ।

विदेशसचिव शृंगलाले नेपाल र भारतबीच सीमालगायतका समस्याबारे केही बोलेनन् । 

उनले नेपाललाई छिमेकी र मित्रका रूपमा भारतले संकटमा सधैँ साथ दिएको भन्दै भूकम्पपछि भारतले गरेको सहयोगको पनि स्मरण गरे ।

नेपाल र भारतका युवाहरूबीच शिक्षा क्षेत्रमा सहकार्य भइरहेको र उनीहरू दुई देशका पुलका रूपमा रहेको पनि शृंगलाले उल्लेख गरे । 

नेपाल र भारतको राजनीतिक तहमा निरन्तर सम्पर्क र संवाद भइरहेको पनि शृंगलाको भनाइ थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री भएको ६ वर्षमा चारपटक नेपालको भ्रमण गरेको तथा नेपालबाट ६ जना प्रधानमन्त्रीलाई स्वागत गरेको उनको भनाइ थियो । 

यसबीचमा नेपाल र भारतका नेतृत्वबीच विभिन्न समयमा १६ पटक भेट भएको पनि विदेशसचिव शृंगलाको भनाइ थियो । 

सीमापार रेलमार्ग, एकीकृत जाँच चौकी, सीमापार पेट्रोलियम पदार्थको पाइपलाइनमा असाधारण सहकार्य भइरहेकोसमेत उनले टिप्पणी गरे ।

विदेशसचिव शृंगला औपचारिक भ्रमण सकेर शुक्रबार दिल्ली फर्किँदै छन् । 

उनले बिहीबार नेपाली समकक्षी भरतराज पौड्यालसँग औपचारिक वार्ता गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कांग्रेस सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । 

भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार विदेशसचिव शृंगलाले आसन्न नेपाल–भारत संयक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई निमन्त्रणा दिएका छन् । 

समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली मंसिर अन्तिम साता दिल्ली जाने तयारी छ । 

शृंगलाले भारतका राष्ट्रपतिको सन्देश राष्ट्रपति भण्डारीलाई, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश प्रधानमन्त्री ओलीलाई तथा विदेशमन्त्री जयशंकरको सन्देश परराष्ट्रमन्त्री ओलीलाई दिएका थिए ।

सुझावित समाचार