जिल्लाको खत्याड गाउँपालिका– ३ रोलगाउँमा बिहीबार दिउँसो आगलागी हुँदा पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा परी रोलगाउँका हस्तबहादुर शाही, होमबहादुर शाही, सुनकौरा सिंह, डबलबहादुर शाही र नरेन्द्रबहादुर शाहीको घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए ।
उनका अनुसार स्थानीय बच्चाहरू आगो ताप्ने क्रममा आगलागी भएको भन्ने प्रहरीको प्रारम्भिक रिपोर्टमा छ । थप अनुसन्धान जारी रहेको उनले बताए ।
आगलागीबाट लाखौँँको क्षति भएको छ । श्रीकोट प्रहरी चौकीका इन्चार्ज विष्णु सेजुवालको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको टोली र श्रीकोट, सैन र रोलगाउँका स्थानीयको सहयोगमा करिब तीन घन्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो ।