मौसममा आएको परिवर्तनले लमजुङ जिल्ला सामुदायिक अस्पतालमा चिसोका बिरामी बढेका छन् । तापक्रम घटेपछि चिसोका कारण विभिन्न समस्या लिएर दैनिक डेढ सयदेखि दुई सय बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
जिल्लामा मौसम परिवर्तनसँगै बढेको चिसोका कारण बिरामीको संख्या अझै बढ्न सक्ने लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । चिसो हावाका कारण रुघाखोकी, निमोनिया, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी उपचारका लागि अस्पताल आएका छन् ।
अस्पतालका मेडिकल अफिसर डा. दया पन्तका अनुसार दूधेबालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतका प्रकोपबाट पीडित भएका छन् ।
चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्ने र खानपानमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । यो समयमा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित रहेको चिकित्सकहरू बताउँछन् । चिसोमा बालबालिका वृद्धवृद्धा र सुत्केरीको स्वास्थ्यमा विशेष ख्याल राख्न चिकित्सकले आग्रह गरेका छन् ।
अरूले पनि स्वास्थ्यको ख्याल गर्नुपर्ने,मौसमअनुकूलको खानपान, तातोपानी तथा झोलिलो खानेकुरा धेरै पिउने, न्यानो कपडा लगाउने, बिहान–बेलुका चिसोमा सकेसम्म ननिस्कने गरे चिसोबाट बच्न सकिने चिकित्सकको भनाइ छ ।